समृद्धि खोज्दै हिँड्दा - Naya Patrika
eNaya Patrika
  • ePaper

समृद्धि खोज्दै हिँड्दा

समृद्धि खोज्दै कहिले ‘तेल भिसा’ त कहिले ‘टोपी भिसा’का नाममा जाउआउ गर्नेहरूका
अनुहारमा केही दिन चमक देखिन्छ र बिस्तारै ओइलाउँदै जान्छ

केही दिनअघि एकजना मित्रको घर पुगेको थिएँ । मित्र र उनकी पत्नीको कुराको विषय घरिघरि अमेरिकामा भएको छोराको प्रसंगतिर गइहाल्थ्यो । उनीहरूले अघिल्लो साँझ उसले अमेरिकामा गर्दै गरेको कामको भिडियो फेसबुक खोलेर देखाएका थिए । उनीहरूको छोरालाई पनि यता हुँदा चिन्थेँ । मेरो छोरा पुस्ताका युवाको सपनाबारे सबैझैँ म पनि परिचित छु ।

उसले काठमाडौंमा राम्रै पढाइ गरेको थियो । यतै कतै जागिरमा लागेको भए अहिले महिनाको ३० देखि ३५ हजार त कमाउन थाल्दो हो । पढाइ पूरा गर्दा अलि वर्षपछि ऊ ६० देखि ७० हजारको भैहाल्थ्यो । त्यति भएपछि उसलाई काठमाडौंको मध्यमवर्गीय जीवन चलाउन खासै समस्या हुन्थेन ।

बाइक चढेर नगरकोट या चन्द्रागिरि मात्र होइन, जोमसोम र जनकपुर पनि गर्न सक्थ्यो । बाबुआमाका साथैमा हुन्थ्यो । परिचित भूगोलको काखैमा हुन्थ्यो । उसलाई पनि यो थाहा थियो । तर, ऊ आफैँ हान्नियो एउटा समृद्ध जीवनको खोजी गर्दै अमेरिकातिर ।

अहिले जे काम गर्दै छ, त्यससँग उसको पढाइ, ज्ञान र जाने बाटोको कुनै साइनो छैन । तर, ऊ संघर्षरत छ । यता बाबुआमाको चाहना कहिले हलक्क हुर्केर जेटमा चढ्छन् र अमेरिका पुग्छन् । कहिले छोराको समवयका साथीहरू आफ्ना ‘गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड’ सँग हिँडेको देखेर या यतै आफ्ना आमाबाबुसँग फ-कफुरुक गरेको देखेर ओइलाउँछन् । घरी मन भित्रभित्र रुन्छन्, घरी आफन्त र छरछिमेकीसँग छोरो अमेरिकामा छ नि त भन्ने भावमा गर्व प्रदर्शन गर्छन् ।

यतिवेला नेपाली सहर र गाउँका बस्तीमा त्यस्ता मानिस भेटिन्छन्, जसका परिवारका सदस्य अमेरिका छन् । तिनीहरू कहिले उता भएका आफ्ना सन्तानका पनि सन्तानको हेरचाह गर्न उता गइरहन्छन् । कहिले ग्य्राजुएसनको निम्तो मान्न ।

‘तेल भिसा’ र ‘टोपी भिसा’का नाममा उता जाउआउ गर्नेहरूका अनुहारमा केही दिन चमक देखिन्छ र बिस्तारै ओइलाउँदै जान्छ । बुढेसकालमा वरपर आफ्ना सन्तान नहुनुको असुरक्षा भाव तिनमा देखिइरहन्छ ।

यो अमेरिकी समृद्धिको मोह भने नौलो होइन । संसारका सबै जातिका मानिस नयाँ सम्भावनाको खोजीमै छरिएका हुन् । अहिलेको अमेरिका र क्यानडा या अस्ट्रेलिया न्युजिल्यान्डजस्ता देश बसाइँ सर्नेहरूले नै बनाएका हुन्, त्यहाँका रैथाने जातिलाई किनारामा धकेलेर ।

नेपालमा लाहुरे हुन जाने, धन कमाउन विभिन्न महानगरमा जाने र फर्कने चलन पुरानै हो । दुई सय वर्षयता त यो निरन्तर चलिरहेको छ । आफ्नो परम्परागत आयस्रोत र कामका सम्भावनाले सहज जीवनयापन हुने नदेखेपछि अवसर खोज्न बाहिरिनु स्वाभाविक हो ।

यता देशमा राजनीतिक नेताहरू समृद्धिको सपना बेचिरहेका छन् । गरिबी, अभाव, उत्पीडन र ओइलाएका सपनाले आक्रान्त मानिस यस्तो नारा किनिरहेका छन् । मत दिएर होस् या अरूले नदेख्ने गरी मनमा कुरा खेलाएर होस्, एउटा आशा पालेर बसेका छन् ।

यस्ता आशा राजनीतिका अनेक मौसममा फुल्छन् र फेरि सपनाको पनि पतझरको मौसम आइहाल्छ । यस्तै अनेक पतझरको सामना गरेका नेपाली अहिले ओइरिएका छन्, अमेरिकादेखि अस्ट्रेलियासम्म, अरबदेखि मलेसियासम्म । तर, सबैभन्दा ठूलो आकर्षण भने अमेरिका नै बनेको देखिन्छ ।

अमेरिकी ड्रिमको भुलभुलैया कति बलशाली छ भने मानिसहरू पचास लाखसम्म खर्च गरेर, महिनौँ लगाएर, जंगल र नदी या समुद्रका हन्डर खाएर जानसमेत बल गरिरहेका छन् । दलालबाट ठगिँदै भोकै, प्यासै आफ्नो सम्पत्ति सकेर पनि उतै लागिरहेका छन् ।

अस्ति मात्र अमेरिका लाने भन्दै अफ्रिकाको कुनै देशमा अलपत्र परेका १३ जना म्याग्दीका युवाको समाचार छापिएको छ । र, यही वेला फेला परेको छ, राजवको कथासंग्रह ‘पाई’ ।

राजवका छोटा चिटिक्कका २० वटा कथाको संग्रह पाई पढ्नेहरूलाई यसले सुस्तसुस्त केही सोच्न बाध्य बनाउँछ । त्यसले मानिसलाई आफूलाई चिन्न सघाउँछ । फर्केर हेर्न सिकाउँछ । समाज, सामाजिक मनोविज्ञान र जिजीविषाका अनेक उल्झनमा आफैँलाई ठग्दै हराउँदै भुल्दै गएका मान्छेका अनेक रूपरंग भेटिन्छन् उनका कथामा ।

हाम्रो समयका सिद्धहस्त कथाकार राजव सानोसानो घटनाका आँखिझ्यालबाट समाज चियाउँछन्, पात्रका मनभित्र प्रवेश गर्छन् र आफ्नै अनुभूतिझैँ उसको अन्तरकुन्तर चहार्छन् ।

उनको सूक्ष्म दृष्टि केवल पात्रमा सीमित हुन्न । परिवेशलाई चियाउने गज्जबको कला पनि छ उनीसँग । फूलहरू, सिर्रसिर्र चलिरहेको बतासमा हल्लेका मसिना घाँसका पात, निलो आकाशमा उडिरहेका बादलका टुक्रा, हुइँकिएका गाडीका वेग, ओइलाएका मानिसका सपना सबैलाई चित्रित गर्न सिपालु छन् उनी ।

उनका कथा पढ्दा पाठकहरू सहज रूपमा कथालाई भिजुअलाइज गर्न र आफ्नो अनुकूलको चलचित्र बनाउन सक्छन् । खै किन हो उनका प्रायः कथा मन पर्छन् । ०३७ वरपरबाट म उनलाई अनेक विधामा पढिरहेको छु । पछिल्लो समय उपन्यास लेखनमा समेत लागेका राजव अरू विधामा भन्दा कथामै प्रभावशाली लाग्छन् ।

तिनै कथाकार राजवको पछिल्लो कथासंग्रह पाई अमेरिका पुगेका नेपालीले व्यहोरेका दुःखसुख, हराउँदै गएको मानवीय संवेदना, पुस्ता–पुस्ताबीचका संघर्ष र मूलतः समृद्धिको खोजीमा अमेरिका प्रवेश गरेपछि पुँजीवादी महानगरमा मानिसहरू कसरी वस्तुसरह बदलिँदै छन् भन्ने अर्थ बोकेका अनेक पात्रको भोगाइ हो ।

राजवका कथामा जेजति पात्र छन्, तीमध्ये नब्बे प्रतिशत उता गएर या त अमानवीयकरण भएका छन्, जस्तो– ‘एनी डे’को पात्र बाबुको मृत्युको खबर आउनेबित्तिकै घर जानुपर्ला भनेर पर्खिरहेको छ, जीवित बाबु भेट्न होइन । या त अनेक अपमानजनक लाग्ने काममा लागिरहेका छन्, जस्तो ‘पिक्कर’ कथामा कुनै अमेरिकी वृद्धको कुकुरको आची सोहोर्न कार चढेर जाने पात्र छ, दैनिक पचास डलर कमाउनका लागि ।

छन त एकजना मोहन राणा पनि छन्, उवरको ट्याक्सी चलाएर अमेरिकामा साहित्यकार बन्न संघर्ष गरिरहेको छ । तर, सन् १९७० तिरै अमेरिका गएर सम्पन्नता प्राप्त गरे पनि बुढेसकालमा सन्तानले छाडेर एक्लिएको बुढो, बसमा नेपाली बाबुआमा किन घर फर्किन्नन् भन्दै गफिइरहेका केटाहरूको संवाद सुनेपछि तर्सेको एउटा वृद्ध, काठमाडौंमा भएको सम्पत्ति रित्याएर उता पुगेपछि नाति–नातिनाका बेबी सिटर र खेताला जस्ता बनाइएका तर सन्तान सुुख अनुभूति गर्न नपाउने बुढाबुढी ।

अनेक पात्र छन्, जसलाई उताको जीवन नर्कतुल्य लाग्छ । तर, विवशता छ उतै बस्नुको । राजवले जम्मा दुईवटा कथामा चाहिँ अमेरिकी राजनीतिका पछिल्ला केही सन्दर्भ उठाएका छन् । एउटामा प्लेनमा सँगैको सिटमा एकजना मुस्लिमसँग बस्नुपरेकोमा आपत्ति जनाउँदै हल्ला गर्ने गोरी थसुल्लीको भनाइमार्फत अमेरिकामा पन्पँदो नश्लवादको कुरा गरेका छन् भने अर्कोमा इराक युद्धमा छोरो गुमाउनुपर्दा विरक्तिएकी एकजना प्रोफेसर वृद्धाको कथा छ, जो हरेक दिन आफ्नो छोराको चिहानसम्म पुग्छिन् र ऊसँग संवाद गरेर फर्किन्छिन् ।

सम्पूर्ण कथा संग्रहको अन्तिममा एउटा कथा छ– अनि माक्र्स । यसमा नेपालको सन्दर्भ छ र कम्युनिस्ट क्रान्तिकारीभित्र हुर्कंदो पाखण्डको बेजोड भण्डाफोर छ । मलाई पनि कुनै वेला फुत्त अमेरिका, युरोप, जापान, अस्ट्रेलिया जान पाए, उतै भाँडासाँडा माझेर केही वर्ष बिताइदिन्थेँ भन्ने लाग्थ्यो, बेकारीले हैरान परेको वेला । जीवनलाई यताउताबाट अभावले टोकेर हैरान पारेका वेला लाग्थ्यो, कुनै सहज उपाय भए म पनि हानिन्थेँ । त्यही भएर जो जान्छन्, तीप्रति मेरो कुनै नकारात्मक भाव छैन ।

रिटर्न टिकट, थ्रेडिङ, लन्ड्री प्रेम, मर्माहत मुद्रा, लगभग जस्ता कथा पढेपछि भने समृद्धिको सपना भेट्ने यात्रामा एकपटक होमिएपछिका मानिसको अमानवीकरणका अनेक सन्दर्भ देखिन्छन् । महिनाहरू वर्षमा, वर्षहरू दश वर्षमा पुग्नु एक छिन एक छिनको सिलसिला बन्दै हिँड्नु हो, जहाँ न बिसौनी आउँछ, न फर्कने बाटो बाँकी रहन्छ । समृद्धिको खोजी एउटा यस्तो सिलसिला बन्छ, त्यसको प्राप्ति होउन्जेल मानिस आफैँ चाहिँ यन्त्रबाहेक केही रहँदैन ।

कथा पढिसकेर गम्दा ‘औँरिका’मा समृद्धि खोज्दै हिँड्नेहरू राजवसँग निकै रिसाउलान् जस्तो लाग्छ ।

तपाईको प्रतिक्रिया