अनुसन्धानका नाममा प्रहरीले कुटपिट गरेको आरोप - Naya Patrika
eNaya Patrika
  • ePaper

अनुसन्धानका नाममा प्रहरीले कुटपिट गरेको आरोप

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ का सूर्य खड्काले हिरासतमा रहेका बेला कोहलपुर प्रहरीले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् । ट्याक्टरको ठक्करले मृत्यू भएका बालकलाई जंगलमा लगेर फालेको आरोपमा पक्राउ परेका खड्काले हिरासतमा राखेर प्रहरीले आफूलाई निर्घाट

कुटपिट गरेको आरोप लगाएका हुन् । खड्का ट्याक्टर मालिक समेत हुन् ।
प्रहरीको कुटाईबाट शरिरका विभिन्न भागमा चोट लागेको बताउँदै उनले बयानको नाममा प्रहरीले आफू माथि कुटपिट गरेको बताए । प्रहरीको कुटाईबाट घाइते भएका खड्कालाई बयानका लागि बाँके जिल्ला अदालतमा ल्याइएको थियो ।

अदालतले उनको उपचार गराउन प्रहरीलाई आदेश दिएको छ । तर, प्रहरीले उपचार गर्न इन्कार गरी खड्कालाई जबरजस्ती इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेको खड्काका आफन्तले आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले खड्का माथि कुटपिट भएको भन्ने गुनासो आफूसमक्ष आएपनि विस्तृत रुपमा बुझ्न बाँकी रहेको बताए । उनले आफू नेपालगन्जमा रहेकाले घटनाको बारेमा जानकारी नभएको बताउँदै यस विषयमा छानविन गरिने बताए ।

उनले हिरासतमा रहेका आरोपितलाई कुनै पनि बहानामा कुटपिट र यातना दिन नमिल्ने भएकाले सत्य, तथ्य पत्ता लगाउन छानविन हुने बताए । ‘कुटपिट भएको रहेछ भने संलग्न प्रहरीलाई कानून बमोजिम कारवाही हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया