अरुण-३ को कार्यालयमा चौथो पटक बम बिस्फोट - Naya Patrika
eNaya Patrika
  • ePaper

अरुण-३ को कार्यालयमा चौथो पटक बम बिस्फोट

बहुचर्चित जलविद्युत्त आयोजना अरुण–३ को कार्यालयमा चौथोे पटक बम बिस्फोट भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण–३ को मुख्य कार्यालयलाई लक्षित गरी तीन ओटा सकेट बम प्रहार भएको हो । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।

उनको अनुसार, अरुण–३ को कार्यालय भन्दा माथितिर बाटो छ । उक्त बाटोभन्दा उत्तरतिर करिब पाँच/सात बिघा खाली जग्गा रहेको छ । त्यसको उत्तरपश्चिम कुनामा मकैबारीबाट बनमाराको झाडीमा सकेट बम फालेको पाईएको छ । यद्यपी उक्त बम बिस्फोटबाट कुनै पनि क्षति भने भएको छैन ।

बम फ्याँक्ने समूहको खोजतलास तीव्र रुपमा भईरहेको छ । ति बम बिस्फोट गराउने समूह भोजपुरबाट संखुवासभा आएको हुन सक्ने आशंका गरिएको प्रनाउ सारुमगरले बताए । ‘भोजपुरबाट आएर बम पड्काएर फेरि भोजपुरतिर नै फर्किएको हुनसक्ने हाम्रो अनुमान छ ।’–उनले भने ।

अरुण–३ आयोजनाको नेत्रविक्रम चन्द्र विप्लव समुह (नेपाल कम्युनिष्ट पार्टी)ले घोरविरोध गर्दै आईरहेको छ । यस अघि पनि विप्लव समुहले विभिन्न समयमा तीन पटक बम बिस्फोट गराई सकेकाले सोही समुहलाई आशंका गरिएको प्रहरीको भनाइ छ । तर गएराति गराएको बम बिस्फोटको विप्लव समुहले आधिकारिक रुपमा जिम्मा भने लिएको छैन ।

यसअघि बिप्लप समुहले अरुण–३ को पावरहाउस स्थलमा रहेको भवनमा गत माघ २८ गते बम पड्काउँदा भवनमा क्षति पुगेको थियो । पखुवामा बम विस्फोटबाट आयोजनाको पाँच कोठे भवनको दुई कोठा पूर्ण रुपमा क्षति भएको थियो । यस भन्दा पहिले पनि बिप्लप समुहलले नै सोही स्थानमा रहेको भवनमा आगजनी गरेका थिए । अरुण–३ को पुखुवा स्थित भवनमा मात्रै विप्लवले दुई पटक बम बिस्फोट गराइसकेको छ ।

त्यसैगरि गत बैशाख १६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण–३ को शिलान्यास गर्न आउने पूर्वसन्ध्यामा पनि तुम्लिङ्गटार स्थित रहेको अरुण–३ को मुख्य कार्यालयको कम्पाउन्ड वालमै बम प्रहार भएको थियो ।

सुरक्षा ब्यवस्थामा कडाई
पूर्वी पहाडी जिल्ला संखुवासभाको मकालु गाँउपालिकामा निर्माणधीन राष्ट्रिय गौरबको बहुचर्चित आयोजना अरुण–३ जलविद्युत परियोजनामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बहुचर्चित उक्त आयोजनाको गत वैशाख २८ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट संयुक्त रुपमा शिलान्यास गरेका थिए । वि.सं. २०४२ साल देखि सुरु भएको अरुण–३ जलविद्युत आयोजना राजनीतिक विवादमा फसेपछि लामो समय रोकिएर केही समयअघिबाट मात्रै पुनः सुचारु भएको हो ।

९ सय मेघावाट विद्युत्त उत्पादन हुने अरुण–३ आयोजनामा तीव्र गतिमा काम भईरहेको छ । आयोजना भारतीय सतलज विद्युत निगम (एसजेभिएन) लिमिटेडले निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया