भालुवाङ महिला कुटपिट घटना : मौखिक मिलापत्र गराएर दोषीलाई छाडियो - Naya Patrika
eNaya Patrika
  • ePaper

भालुवाङ महिला कुटपिट घटना : मौखिक मिलापत्र गराएर दोषीलाई छाडियो

भालुवाङमा गत शुक्रबार दिलमाया मगरलाई अर्धनग्न बनाएर कुटपिट भएको घटनालाई प्रहरीले सोही दिन मौखिक मिलापत्र गराएर दोषीलाई उन्मुक्ति दिएको खुल्न आएको छ । भालुवाङका स्थानीय महिला रेखा गुप्ता र अनिता गुप्ताले जग्गा सस्तोमा नदिएको भन्दै गत शुक्रबार दिलमायालाई अर्धनग्न बनाएर कुटपिट गरेका थिए । घटनाबारे तत्काल जानकारी पाएको प्रहरी घटनास्थलमा केहिबेरपछि पुगेको थियो । प्रहरी पुग्दा त्यो दृश्य साम्य भैसकेको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो । घटनाका पीडित र पीडक दुवै पक्षलाई भालुवाङस्थित प्रहरीले ईलाका प्रहरी कार्यालयमा बोलायो र छलफल गर्यो । सार्वजनिक स्थलमा अर्धनग्न पारेर गरिएको कुटपीटको घटनालाई प्रहरीले सामान्य घटना ठहर गर्दै अन्ततः यस्तो घटना नगर्ने भनेपछि मौखिक रुपमा यो मुद्दालाई टुंग्याइएको प्रहरीले स्विकार गरेको छ । ‘दुबै पक्षले घटना सामान्य भएको हो, यसलाई धेरै अगाडी नबढाऔँ भन्ने कुरा आएपछि उहाँहरु आफै मिलेर जानु भएको हो’ ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले भने ‘ घटनाको बारेमा डिटेल्स कसैले पनि भनेन्, पीडित महिलाले च्यातिएको कपडा पनि फेरेर आउनुभएको थियो । हामीले मिलापत्र गराएको भन्दा पनि घटनाको गाम्भिर्यता कसैले नबताएपछि र दुबै पक्ष मिल्न राजी भएर छोडिदिएका हौँ । ’ पाण्डेले आइतबार कुटपिटको भिडियो हेरेपछि बल्ल आफुले दाषीलाई पक्राउ गरेको बताए ।

तर पीडित महिलाले सबैको एकोहोरो दवावमा मिल्नुपरेको बताएकी छन् । उनले आफूमाथि अत्याचार गरिएको भन्दै सहमति नगर्ने अडान राखेपनि सहमतिका लागि सबैले दवाव दिन थालिएपछि त्यहाँबाट निस्किएको बताइन् । उनले भनिन्‘मेरा पीडाको कसैले मूल्यांकन गरेनन्, मिल्न दवाव मात्रै दिए । मैले मानेकी थिइन, तर सहमतिका लागि एकोहोरो कर गर्न थालेपछि मलाई झनै पीडा भयो र म निस्किहालेँ ।’

कुटपिट रोक्ने प्रयास गरेका भालुवाङ नगर विकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकीले भने ‘म नगर कार्यालयमा नै थिए । पीडित महिलाको रोदन सुनियो । म घटनास्थल पुगेँ । त्यसपछि तत्काल प्रहरीलाई खबर गरिदिए । मैले महिला रोएको आवाज सुन्नासाथ के रहेछ भनेर हेर्दा एउटी महिलालाई अर्धनग्न पारेर कुटपिट गरिरहेको देखेँ र कुटपिट रोक्ने प्रयास गरेँ’ उनले भने ‘तत्काल प्रहरीलाई खबर गरेर जिम्मा लगाइदिएर म आफ्नो काममा गएँ । साँझपख मौखिक रुपमा प्रहरीले सहमति गराएको भन्ने सुनेको हुँ ।’

घटनाका साक्षीहरूलाई थ्रेट
नगरविकास समितिका अध्यक्ष बुढाथोकीले आफूमाथि दोषिका आफन्तहरुबाट थ्रेट आईरहेको बताएका छन् । ‘अहिले म यसले नै थ्रेट दियो भन्दिन तर घुमाउरो तरीकाले दोषिका आफन्तहरुबाट मलाई थ्रेट आइरहेको छ ।’ यस्तै कुटपिटको भिडियो सामाजिक सञ्जालमा राखेर घटनालाई सार्वजनिक गराएकी रितु राना माथि पनि थ्रेट आइरहेको बताइएको छ ।

सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट (भिडियाेसहित)

तपाईको प्रतिक्रिया