तमोर करिडोर ट्याक अन्तिम चरणमा - Naya Patrika
eNaya Patrika
  • ePaper

तमोर करिडोर ट्याक अन्तिम चरणमा

धनकुटाको मूलघाटबाट पाँचथर हुँदै चीनसँग सिमाना जोडिएको ताप्लेजुङको ओलाङचुङगोला जोड्ने तमोर करिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । सो सडकले भारत र चीनलाई जोड्छ ।

तमोर करिडोर बनिसकेपछि भारतीय नाका रानीबाट ताप्लेजुङस्थित चीनको नाका ओलाङचुङगोला जोडिनेछ । रानी–ओलाङचुङगोला सडकको लम्बाइ दुई सय ८० किलोमिटर छ । चीनको सिमाना ओलाङचुङगोलासम्म ट्र्याक पु-याउन अब ३० किलोमिटर मात्र बाँकी रहेको ताप्लेजुङ–ओलाङचुङगोला सडक आयोजना प्रमुख कुबेर नेपालीले जानकारी दिए । हाल यो सडक यही आयोजनाले हेर्दै आएको छ ।

कोसी राजमार्गमा पर्ने रानी–मुलघाट पक्की सडक नै छ । मुलघाटबाट तमोरको किनारैकिनार पाँचथरको मौवासम्मको ट्र्याकमा बोलेरो चल्ने गरेका छन् । तमोर करिडोर सडकलाई धनकुटा, पाँचथर र ताप्लेजुङमा छुट्टाछुट्टै टेन्डर गरी निर्माण भइरहेको आयोजना प्रमुख नेपालीले बताए ।

हाल तमोर करिडोरको मुलघाटदेखि उत्तर एक सय ४० किलोमिटरसम्म सडक चौडा बनाई ग्राभेल भइरहेको नेपालीले जानकारी दिए । बाँकी सडक पनि चौडा बनाउन टेन्डर आह्वान गरी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको उनले बनाए ।

तमोर करिडोर सडकमा हालसम्म करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ । ‘बाँकी कति रकम लाग्ने भन्ने अहिलेसम्म यकिन भएको छैन, काम भइरहेको छ,’ आयोजना प्रमुख नेपालीले भने ।

यसरी सुरु भयो निर्माण
तमोर करिडोर ०६६ सालदेखि निर्माण थालिएको हो । धनकुटाका पूर्वसभासद् हेमराज भण्डारीले ०६५ सालमा सांसद विकास कोषको आठ लाख रुपैयाँ छुट्याएर कुरुलेतेनुपा–बुढिमोरङ उपभोक्ता समिति गठन गरी सर्भे सुरु गरेका थिए ।

डा.बाबुराम भट्टराई अर्थमन्त्री भएका वेला एक करोड ५० लाख रुपैयाँ रकमान्तर गरी सो बजेटबाट सडक डिभिजन कार्यालय धनकुटाले विस्तृत सर्भे गरेको पूर्वसभासद् भण्डारीले बताए । ०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारले यसलाई राष्ट्रिय आयोजनामा समावेश गरेको थियो ।

‘तमोर करिडोर सडक निर्माण आफैँमा सस्तो आयोजना हो, किनभने नदी किनारको बाटो बनाउन कम खर्चिलो हुन्छ,’ पूर्वसभासद् भण्डारीले भने, ‘भारतको जोगबनी र चीनको तिब्बतस्थित रियू व्यापारिक केन्द्रलाई यो सडकले जोड्नेछ ।’

सात जिल्ला जोडिने
तमोर करिडोरले २० किलोमिटर आसपासमा धनकुटा, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जोडिनेछन् । सडकलाई मूलघाट तल चतरा हुँदै दूधकोसीको किनारैकिनार उदयपुरको घुर्मी जोड्न ताप्लेजुङका सांसद तथा नेकपा नेता योगेश भट्टराईको संयोजकत्वमा समिति बनाइएको छ । सो सडकले सुनसरी, खोटाङ र उदयपुर पनि जोडिनेछन् ।

१० पुल बनाइने
तमोर करिडोर सडकखण्डअन्तर्गत मूलघाट उत्तरमा साना ठूला गरी करिब १० वटा पुल निर्माण हुनेछन् । नयाँ खोला, साँवा खोला, हेवा खोला, तमोर लिम्बुनी र छरुवा खोलामा ठूला पुल बन्नेछन् ।

तपाईको प्रतिक्रिया