विकासले निम्त्याएको बित्यास, अनिदो बस्न बाध्य स्थानीय - Naya Patrika
eNaya Patrika
  • ePaper

विकासले निम्त्याएको बित्यास, अनिदो बस्न बाध्य स्थानीय

ओखलढुंगामा अव्यवस्थित सडक निर्माणले पहिरोको जोखिम बढेको छ । सडक निर्माणका कारण जिल्लाका सबै जसो स्थानमा सानो–ठुलो पहिरोको जोखिम बढेको हो । ‘पहिरो खस्ने त्रासले पानी पर्न थालेपछि निद्रा पर्दैन’ खिजीदेम्वा गाउँपालिका ४ खिजीकातिका नानीबहादुर खड्काले भने– ‘पोहोर पनि घरमाथि खनिएको सडकबाट पहिरो जाँदा घर छोडर बारीमा टहरा बनाएर बसियो ।’ खड्काको घरमाथि खनिएको सडकबाट बग्ने पानीले हरेक वर्ष पहिरो जान्छ । वर्षाद्मा खड्काको परिवार पहिरोको जोखिममा ननिदाएरै रात कटाउँछन् ।

मानेभञ्ज्यांग गाउँपालिका ९ तिल्पुङ डाँडाका नरबहादुर श्रेष्ठले घरमाथि सडक खनिएपछि पहिरो बग्ने डरले घडेरी नै अर्को जग्गामा सारेर भूकम्पपछिको पुनःनिर्माण गरे । पहिरो आउने डरले साविकको घडेरी नै छोड्नु परेको उनले सुनाए । ‘पहिरो आउने त्रासकै कारणले घडेरी सारेँ’ उनले भने ।

नानीबहादुर र नरबहादुर त प्रतिनिधी पात्र मात्रै हुन् । अहिले ओलढुंगाका आठ वटै स्थानीय तहका टोल टोलमा मापदण्ड विपरित खनिएका सडकले उनीहरुजस्ता हजारौं स्थानीय सडकले निम्त्याएको विपत्ति भोग्न बाध्य छन् । गाउँमा जताततै खनिएका सडकले भिरालोमा रहेका बस्तीहरु पहिरोको जोखिममा परेका हुन् ।

स्थानीय सरकारको प्राथमिकतामा कच्चि सडक
स्थानीय तहका वडा वडामा बजेट गएपछि विकासको एक मात्रै काम सडक खन्ने भएको छ । यसले हिउँदमा विकास गरेको देखिए पनि बर्षा याममा विनाशै विनाश नित्याउने अवस्था छ । ओखलढुंगाका आठ वटै स्थानीय तहले चालु आर्थिक वर्षमा वडा वडा र टोल टोलमा सडक खन्न कुल बजेटको ६० देखि ७५ प्रतिशतभन्दा माथि खर्च गरेका छन् । सिद्धिचरण नगरपालिकासहित सबै स्थानीय सरकारको चालु आर्थिक वर्षको बजेट सडकमा केन्द्रित छ ।

‘विकास गर्न खोज्दा विपत्ति निम्तियो’
‘विकास गरियो भनेको विपत्ति पो निम्याउने काम गरिएछ’ मानेभञ्ज्यांग गाउँपालिकाका अध्यक्ष मोतिराज राईले भने– ‘वडामा सबैले सडक मात्रै मागे, हिउँदभरि खनिएका सडक अहिले पहिरो बनेर विपत्ति निम्त्याउने डर भयो ।’ मानेभञ्ज्यांग गाउँपालिकाले चालु आर्थिक वर्षको कुल बजेटको ७५ प्रतिशत सडक निर्माणकै लागि बिनियोजन गरेको थियो ।

‘सबै ठाउँमा सडक पुर्याउने योजना अनुसार सडकमा धेरै रकम खर्च गरियो’ मोलुङ गाउँपालिकाका अध्यक्ष मणीराज राई भन्छन् ‘सडक निर्माणले समस्या ल्याउने भयो, विपत्ति आईपरे सामना गर्न सक्ने हाम्रो क्षमता छैन ।’ मोलुङ गाउँपालिकामा पुराना पहिरोको पनि जोखिम छ ।

योजनाका अध्यक्ष नै बन्छन् प्राविधिक
जिल्लाका सबैजसो गाउँमा कच्चि सडकहरु निर्माण भएसँगै पहिरोको जोखिम बढेको छ । मापदण्ड र प्राविधिक सिफारिस बिनै मनपरि खनिएका सडकले बर्षा सुरु भएपछि गाउँ वस्ती जोखिममा पर्न थालेका हो । ‘गाउँकै ठुला–ठालु र योजनाका अध्यक्षले डोजर ड्राईभरलाई यता र उता भनेर संकेत गरेका भरमा सडक खनिन्छ ।’ चम्पादेवीका एक स्थानीयले भने ‘प्राविधिकको अनुहार नदेखेका सडकले गाउँलाई छिया छिया बनाएको अवस्था छ, यी सडकमा वर्षमा ६ महिना पनि गाडी गुड्दैनन् ।’ सडक निर्माणमा जोड दिएका स्थानीय सरकारले स्तरोन्नती र मापदण्ड कार्यान्वयनमा भने खासै चासो देखाएका छैनन् ।

तपाईको प्रतिक्रिया