सप्तरी भारतीय दूतावासको कालोसूचीमा - Naya Patrika
eNaya Patrika
  • ePaper

सप्तरी भारतीय दूतावासको कालोसूचीमा

ठेकेदारले भारतीय दूतावासको सहयोगमा बनिरहेका आयोजना एक दशकदेखि अलपत्र छाडेपछि सप्तरी कालोसूचीमा परेको छ । दूतावासले चार वर्षदेखि सप्तरीलाई थप सहयोग दिएको छैन ।

ठेकेदारले काम नगर्दा भारतीय सहयोगमा बनिरहेका पाँच आयोजना अलपत्र छन् । अलपत्र आयोजनामा सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसुति तथा आकस्मिक कक्ष भवन, महेन्द्र बिन्देश्वरी वहुमुखी क्याम्पस राजविराजको गल्र्स होस्टेल भवन, जनता रामेश्वर मेमोरियल मावि ब्रह्मपुरको भवन, नरेन्द्र मेमोरियल मावि बोरियाको भवन तथा अन्य संरचना र कुनौली–फत्तेपुर सडक छन् ।

पाँचैवटा आयोजना निर्माण गर्न तत्कालीन जिविसले १० वर्षअघि कूल सात करोड ३० लाख ६९ हजार ६ सय ७६ रुपैया“मा छुट्टाछुट्टै ठेकेदारलाई ठेक्का दिएको थियो । भारतीय आयोजनाको काम तत्कालीन जिविसले हेर्ने गरेको थियो । तर, जिविस र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चासो नदेखाउँदा आयोजना अलपत्र परेका हुन् ।

सगरमाथा अञ्चल अस्पताल राजविराजको प्रसुति तथा आकस्मिक कक्ष भवनको निर्माण जनवरी २०१० मा सक्नुपर्ने थियो । भवन निर्माणका लागि अक्टोबर २००७ मा सम्झौता भएको थियो । भवन बनाउन दिवा नरेन्द्र उदाय दास जेभीले दुई करोड २३ लाख ४४ हजार सात सय १९ रुपैया“मा ठेक्का लिएको थियो ।

तर, ११ वर्षमा प्रसुति गृह भवनको जग मात्र हालेर छाडिएको छ । बिरामीको चाप बढेका वेला अस्पतालले भुइँमा नै राखेर उपचार गर्ने गरेको छ । तर, ठेकेदारलाई काम सकाउन कुनै पनि निकायले ताकेता गरेका छैनन् ।

राजविराजस्थित महेन्द्र बिन्देश्वरी वहुमुखी क्याम्पसको गल्र्स होस्टेल भवन सन् २००६ मा नै पूरा गर्नुपर्ने थियो । भवन बनाउन शेखरकुमार सिंह संयोजक रहेको समितिले जुन २००५ मा काम सुरु गरेको थियो । भवन बनाउन दूतावासले एक करोड ९६ लाख ४५ हजार पाँच सय ३२ रुपैयाँ दिएको थियो ।

तर, काम सक्ने मिति गुज्रिएको १२ वर्ष भइसक्दा पनि भवन पूरा भएको छैन । तत्कालीन क्याम्पस प्रमुख देवीदत्त साहले निर्माण समितिका अध्यक्ष शेखरकुमार सिंहको एकलौटी निर्णयका कारण काम पूरा हुन नसकेको आरोप लगाए । होस्टेल निर्माण समितिका सदस्य–सचिवसमेत रहेका साहले भने, ‘निर्माणसम्बन्धी कुनै पनि निर्णय र प्रक्रियामा मलाई सहभागी गराइएको छैन, म त नाम मात्रको सदस्य–सचिव भएँ ।’

भवन अलपत्र भएपछि भारतीय दूतावासका इकोनोमिक काउन्स्लर पुनित कुण्डलले डिसेम्बर २००९ मा निर्माण समिति संयोजक शेखरकुमार सिंहलाई पत्राचार गरी काम सक्न आग्रह गरेका थिए । सर्वदलीय बैठकले पनि उनलाई काम सक्न निर्देशन दिएको थियो । तर, त्यसपछि न काम भयो, न बनाउन पहल नै भयो ।

जनता रामेश्वर मेमोरियल मावि ब्रह्मपुरको भवन पनि जुलाई २००७ मा निर्माण सक्नुपर्ने थियो । भवन बनाउन जोसिला प्रकाश निर्माण सेवा जेभी विराटनगरले ३१ लाख १५ हजार चार सय ८० रुपैयाँमा ठेक्का लिएको थियो । सो आयोजनाको ९० प्रतिशतभन्दा बढी बजेट निकासा भइसकेको छ । पछि दूतावासले २० लाख ९१ हजार आठ सय १० रुपैया“ बजेट थप गरी सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार सिंहलाई निर्माण समितिमार्फत काम सक्न निर्देशन दिएको थियो । तर, भवन अझै अलपत्र छ ।

बोरियास्थित नरेन्द्र मेमोरियल माविको भवन र अन्य संरचना बनाउन दूतावासले एक करोड ३५ लाख सहयोग गरेको थियो । तत्कालीन जिविसले ८८ लाख ६३ हजारमा ठेक्का लगाएको थियो । सन् २०१० मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काम अघि बढ्नै सकेन ।

दूतावासकै सहयोगमा निर्माण सुरु कुनौली–फत्तेपुर सडक पनि अलपत्र छ । भारतसँगको सीमावर्तीय क्षेत्र कुनौलीदेखि इनरुवासम्म १० किलोमिटर सडक बनाउन दूतावासले दुई करोड ९७ लाख २२ हजार सहयोग गरेको थियो । वाइपी देव एन्ड सेयर विशालराज सेन कन्सट्रक्सन जेभी राजविराजले जुलाई २००७ मा सक्ने गरी ठेक्का लिएको थियो । तर, सो मितिसम्ममा २५ प्रतिशत मात्र काम भएको तत्कालीन जिविसको ०६४ सालको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय अरुण प्रधान र गजराज तातेड प्रमुख रहेको ठेकेदार कम्पनीले १५ प्रतिशत मात्र काम गरेर सडक अलपत्र छाडेको स्थानीयको आरोप छ । दुई किमि सडक कालोपत्रे गरिए पनि गुणस्तरीय सामान प्रयोग नभएको स्थानीयको भनाइ छ ।

अलपत्र पाँच आयोजना

-सगरमाथा अञ्चल अस्पतालको प्रसूति तथा आकस्मिक कक्ष भवन

-महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको गल्र्स होस्टल भवन

-जनता रामेश्वर मेमोरियल मावि ब्रह्मपुरको भवन

-नरेन्द्र मेमोरियल मावि बोरियाको भवन तथा अन्य संरचना

-कुनौली–फत्तेपुर १० किमि सडक

तपाईको प्रतिक्रिया