एक खेलमा ११ किमि कुद्छन् फुटबलर - Naya Patrika
eNaya Patrika
  • ePaper

एक खेलमा ११ किमि कुद्छन् फुटबलर

फिफा विश्वकप बिहीबारबाट रसियामा सुरु हुँदै छ । फुटबल खेलका लागि खेलाडीमा सर्वाधिक आवश्यकताका रूपमा रहने स्ट्रेन्थ र स्टामिना हो । पछिल्लो समय खेलाडीको क्षमतामा उनीहरूको स्टामिनाको मुख्य रूपमा आउने गरेको छ।

एक खेलका दौरान एक खेलाडी औसत ११.२ किलोमिटर दुरी तय गर्ने एक रिपोर्टले जनाएको छ । उक्त दुरी एक फुटबलरका लागि मैदानको १ सय २० चक्कर लगाउनुसरह हो । उक्त दुरी तय गर्दा खेलाडीले १५ सय क्यालोरी ऊर्जा खपत गर्ने ‘जनरल साइन्स एन्ड मेडिसिन एन्ड स्पोर्टस्’को एक रिपोर्टले जनाएको छ ।

खेलपछि १२ देखि १४ घन्टा आराम आवश्यक
खेलपछि खेलाडीको शरीरमा कार्बोहाइड्रेड र प्रोटिनको खपत निकै बढी हुने गर्दछ । जसका कारण शरीरमा ऊर्जाको कमी हुने गर्दछ । पर्याप्त डाइटका बाबजुत खेलपछि खेलाडीको शरीरमा पुनः पुरानै अवस्थाको ऊर्जा सञ्चित हुन १२ देखि १४ घन्टाको समय लाग्ने रिपोर्टले दाबी गरेको छ ।

मिडफिल्ड सर्वाधिक व्यस्त
फुटबलमा मिडफिल्डमा हुने खेलाडी सर्वाधिक व्यस्त हुने अनुसन्धानहरूले जनाएका छन् । उनीहरूले मैदानको दुवै भागको कभर गर्नुपर्ने हुन्छ । कहिले विपक्षीको पोस्टमा पुग्नुपर्ने हुन्छ भने कहिले आफ्नो डिफेन्स लाइनअपसम्मको बल पनि कभर गर्नुपर्ने हुन्छ । त्यसैले, मिडफिल्डरले १५ किमि दुरी तय गर्ने जनाइएको छ । सर्वाधिक कम दौडने खेलाडीका रूपमा गोलरक्षक हुने गर्दछन् ।

फुटबलपछि क्रिकेट
फुटबलपछि सर्वाधिक दौडने खेलका रूपमा दुरीका हिसाबले क्रिकेट रहने गरेको छ । क्रिकेटका खेलाडीले १२ किमि दुरी तय गर्ने गर्दछन् । फुटबल खेलाडीले ९० मिनेटमा तय गर्ने दुरी क्रिकेट खेलाडीले ८ देखि ९ घन्टामा मात्र तय गर्ने गरेका छन् ।

मेसी र रोनाल्डोभन्दा सलाह तीव्र
युएफका अनुसार गत मे मा सम्पन्न भएको च्याम्पियन्स लिगमा इजिप्टका लिभरपुल स्टार मोहमद सलाह सर्वाधिक तीव्र खेलाडीका रूपमा रहे । उनले लियोनल मेसी, नेयमार जुनियर र क्रिस्टियानो रोनाल्डोलाई पछि पारे । खेलका दौरान सलाहको टप स्पिड ३३ किमि प्रतिघन्टा रहेको थियो ।

१९६६ पछि फिटनेसमा ध्यान
‘जनरल साइन्स एन्ड मेडिसिन एन्ड स्पोर्टस्’का अनुसार १९६६ मा भएको आठौँ विश्वकपपछि खेलाडीको फिटनेसलाई ठूलो ध्यानमा राखिने गरेको छ । जसका कारण खेलाडीमा पर्याप्त दौड र खेलका बाबजुद चोट कम हुने गरेको अध्ययनले जनाएको छ ।

राम्रो रेखदेखका कारण खेलाडीको स्पिड पनि उक्त समयको तुलनामा १५ प्रतिशत बढेको छ । चोटमा कमी भएसँगै बल पासको क्षमता पनि धेरै बढेको रिपोर्टले जनाएको छ । उक्त समयमा भन्दा अहिले ३५ प्रतिशत बल पास बढी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया