काबेली र माउन्ट मकालु डेभलपमेन्ट बैंकको एकीकृत कारोबार - Naya Patrika
eNaya Patrika
  • ePaper

काबेली र माउन्ट मकालु डेभलपमेन्ट बैंकको एकीकृत कारोबार

काबेली विकास बैंक लिमिटेड धनकुटा र माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेड तेह्रथुमले एकीकृत कारोबार सुरु गरेका छन् ।धनकुटामा केन्द्रीय कार्यालय रहेको काबेली विकास बैंक लिमिटेड र तेह्रथुम जिल्लामा स्थापना भएको माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडबीच मर्ज भई एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबार सुरु भएसँगै बैंकको नाम काबेली विकास बैंक र केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । सातवटा शाखा कार्यालयबाट एकसाथ बैंकले वित्तीय सेवा सञ्चालन गरेको छ । बैंकका कर्मचारी ५० जनाभन्दा बढी रहेका छन् ।

पहाडी जिल्लामा केन्द्रित भई सेवा प्रदान गर्दै आएका ती बैंकहरूले मर्ज भएपछि तत्कालका लागि धनकुटा र तेह्रथुम जिल्लाबाट सेवा प्रदान गर्ने भए पनि पुँजी वृद्धिको प्रक्रिया चाँडो सम्पन्न गरी तीन जिल्ला थप गरेर ५ वटा जिल्लाबाट सेवा प्रदान गर्ने लक्ष्य राखिएको सञ्चालक समितिका अध्यक्ष गोपालप्रसाद काफ्लेले बताए । ग्राहकका लागि आइपिएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, बैंकासुरेन्ससहितका अत्याधुनिक सेवा समयसापेक्ष दिँदै आएको बैंकले मोबाइल बैंकिङको सम्झौताको चरणमा रहेको छ भने अनलाइन बैंकिङ सेवा चाँडै सुरु गरिने अध्यक्ष काफ्लेले बताए ।

बैंकको हालको चुक्ता पँुजी २१ करोड ४७ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर ३ करोड ४४ लाख रुपैयाँ र प्रस्तावित हकप्रद सेयर २४ करोड ८४ लाख ९६ हजार ६ सय ७२ रुपैयाँको रहेको छ । त्यसपछि बैंकको कुल चुक्ता पुँजी ५० करोड ३५ लाख ९३ हजार ४ सय ३२ रुपैयाँ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया