सामाजिक उत्तरदायित्वमा नेपाल टेलिकम - Naya Patrika
eNaya Patrika
  • ePaper

सामाजिक उत्तरदायित्वमा नेपाल टेलिकम

नेपाल टेलिकमले कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विभिन्न कामहरू गर्दै आएको छ । कम्पनी ऐनले व्यावसायिक प्रतिष्ठानले वार्षिक नाफाको १ प्रतिशत रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । टेलिकमले त्यसलाई राम्रै गरी पछ्याएको देखिन्छ । पछिल्ला दुई आर्थिक वर्षमा विभिन्न ८ क्षेत्रमा विभिन्न सामाजिक जिम्मेवारी निर्वाह गरेको छ ।

माइतीघर तिनकुने हरियाली
माइतीघरदेखि तिनकुनेसम्म विभिन्न फूलका बिरुवासहितको आकर्षक हरियाली छ । टेलिकमले विभिन्न जातका फूलका बिरुवा रोप्नेदखि त्यसको संरक्षणको काम निरन्तर रूपमा गर्दै आएको छ ।

नवजात शिशु तथा बिरामीलाई ६ सय २५ थान कम्बल
कम्पनीले आर्थिक वर्ष ०७३\७४ मा पाटन अस्पताल र थापाथली प्रसूतिगृहमा जन्मेका २ सय ५० शिशुका लागि एक–एक थान तथा वीर अस्पताल र गंगालाल अस्पतालका बिरामीको प्रयोगका लागि २ सय थान गरी ४ सय ५० कम्बल वितरण गरेको थियो । त्यस्तै चालू आवमा कम्पनीले ६ वटा अञ्चल अस्पतालमा तथा उदयपुरको जिल्ला अस्पतालमा उपचाररत आगलागीपीडित बिरामीहरूका लागिसमेत १ सय ७५ थान कम्बल वितरण गरेको थियो ।

राराका लागि डस्टबिन
कम्पनीले चालू आर्थिक वर्षमा राराको पर्यटकीय क्षेत्रको सरसफाइका लागि ८० थान ठूला डस्टबिन उपलब्ध गराइसकेको छ । पर्यटकीय सम्भावना भएका राराजस्ता ठाउँमा सफाइको ठूलो महŒव छ भन्ने कुरो टेलिकमले बुझेको देखिन्छ ।

बागमती सरसफाइ सामग्री
टेलिकमले हरेक वर्ष बागमती सरसफाइका लागि आवश्यक एक सय थान ट्र्याकसुट, ३ सय जोडी गमबुट, ५० डोका, २ हजार थान मास्क, ५० थान सुइरो र ३ सय थान पन्जा उपलब्ध गराउँदै आएको छ । बागमती सफाइको चाहनामा पुग्ने सर्वसाधारणलाई यी सामग्रीले काम गर्न सहज र उत्साहित बनाएको छ ।

बाढीपीडितका लागि स्वास्थ्य शिविर तथा सिमकार्ड
कम्पनीले आर्थिक वर्ष ०७४/७५ मा सप्तरी र महोत्तरीका १ हजार ५ सयभन्दा बढी बाढीपीडितहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । साथै त्यस क्षेत्रका बाढीपीडितहरूलाई कम्पनीले निःशुल्क रूपमा मोबाइल सिमकार्डसमेत वितरण गरेको थियो ।

निःशुल्क २० हजार सिम
टेलिकमले अघिल्लो आर्थिक वर्षमा तराईका विभिन्न जिल्लामा २० हजार थान सिमकार्ड निःशुल्क रूपमा वितरण गरेको थियो ।

निःशुल्क एसएमएस
टेलिकमले बागमती सरसफाइ, काठमाडौं महानगरको हर्न निषेधित अभियान, निर्वाचनमा मतदान, विभिन्न चाडपर्व, गणतन्त्र दिवस, मानव तस्करीलगायतका विषयमा सर्वसाधारणलाई सूचित गर्न निःशुल्क एसएमएस पठाउँदै आएको छ ।

६ जिल्लाका विद्यालयमा आइसिटी सेन्टर
कम्पनीले भोजपुरको शारदा मावि, काभ्रेको रत्न चुण्डेश्वर मावि, ओखलढुंगाको सगरमाथा मावि, नुवाकोटको कन्यादेवी मावि, रामेछापको सेतीदेवी मावि, सोलुखुम्बुको जीवनज्योति मावि, भक्तपुरको शान्ति निकेतन मावि, लमजुङको अमर मावि र डडेल्धुराको घटाल माविमा आइसिटी सेन्टरहरू स्थापना गरिसकेको छ । त्यसबाहेक चालू आर्थिक वर्षमा उदयपुर, रुकुम र जुम्लामा आइसिटी सेन्टर स्थापनाको कार्य भइरहेको कम्पनीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया