बजारमा अझै पनि चलखेल, मौद्रिक नीतिप्रति आशावादी - Naya Patrika
eNaya Patrika
  • ePaper

बजारमा अझै पनि चलखेल, मौद्रिक नीतिप्रति आशावादी

मंगलबार सेयर बजार परिसूचक नेप्से करिब २ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको परिसूचक करिब ११ अंकले घटेर १ हजार २ सय ३० बिन्दुमा पुगेको थियो । तर, कारोबार सुरु भएको १ घन्टा ४७ मिनेटपछि भने बजार उकालो लाग्न थालेको हो । तर, १ हजार २ सय ४४ बिन्दुसम्म पुगेपछि भने बजार पुनः घट्न थालेको थियो । अन्तिममा बजारमा बिक्री चाप बढेपछि बजार १ दशमलव ९३ अंकले घटेर १ हजार २ सय ३९ बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

सरकारले लगाएको हकप्रद र बोनस सेयरको पुँजीगत लाभकरको प्रावधानलाई हटाएपछि बजार सकारात्मक हुने लगानीकर्ताको अपेक्षा थियो । तर, लगानीकर्ताको अपेक्षाअनुसार बजार भने बढ्न सकेको छैन । यसले अझै पनि बजारमा केही व्यक्तिहरूको चलखेल देखिने सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले बताए । ‘बजारलाई प्रभाव पार्ने सबै सूचक सकारात्मक छ । सरकार पनि बजारप्रति उत्तिकै सकारात्मक देखिएको छ । त्यसैले यतिवेला बजार बढ्नु नै पर्ने हो,’ उनले भने । तर पनि बजार बढ्न सकेको छैन । यद्यपि, अब आउने मौद्रिक नीतिले बजार बढ्नमा सहयोग गर्ने उनले बताए ।

मंगलबार व्यापारमा आएका समूहमध्ये अधिकांशको परिसूचक घटेको छ । तर, वित्त कम्पनी, बिमा, उत्पादनमूलक कम्पनीको परिसूचक भने बढेको छ । सो दिन होटेल समूहको परिसूचक सबैभन्दा धेरै १४ दशमलव ५९ अंकले घटेर १ हजार ८ सय ५८ बिन्दुमा पुगेको छ । त्यस्तै, बैकिङ समूहको परिसूचक २ दशमलव ९, जलविद्युत् समूहको परिसूचक २ दशमलव २५, विकास बैंक समूहको परिसूचक १४ दशमलव ५९ र लघुवित्त समूहको परिसूचक १ दशमलव १६ अंकले घटेको छ ।
मंगलबार ४ हजार ७५ कारोबारबाट १६० कम्पनीको ९ लाख ५७ लाख १२७ कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ३० करोड २८ करोड रुपैयाँ परिचालन भएको छ ।


मंगलबार कारोबार भएका कम्पनीहरूमध्ये उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । उक्त दिन सो कम्पनीको सेयरमूल्य २२७ अंकले बढेको छ । त्यस्तै, राधी विद्युत् कम्पनीको सेयरमूल्य १६ अंकले बढेको छ भने नान्दी ग्रुप पावरको सेयरमूल्य ७ अंकले बढेको छ ।

तर, काबेली विकास बैंकको सेयरमूल्य भने सबैभन्दा धेरै १५ अंकले घटेर २३० रुपैयाँ अन्तिम मूल्य कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयरमूल्य १० अंक, एभरेष्ट बैंकको सेयरमूल्य २१ अंकले घटेको छ ।

कारोबार भएको रकमको आधारमा हेर्ने हो भने मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्र स्थानमा देखिएको छ । सो दिन उक्त कम्पनीको २ करोड ३६ लाखको कारोबार भएको छ । त्यस्तै, वेस्ट फाइनान्स कम्पनीको १ करोड ५५ लाख, मेगा बैंकको १ करोड ४५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

२ करोडभन्दा बढी सेयर सूचीकृत
मंगलबार नेप्सेमा २ करोड ३ लाख ९० हजार ५३ कित्ता सेयर सूचीकृत भएको छ । विभिन्न कम्पनीले वितरण गरेको हकप्रद तथा बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सो दिन सिद्धार्थ बैंकको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, मल्टी प्रपोज फाइनान्सको कम्पनीको १ लाख ६४ हजार ७३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै वेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० बोनस सेयर सूचीकृत भएको छ ।

पुँजीगत लाभकर  नै अन्तिम कर
सेयर बजार लगानीकर्ताहरूले भुक्तानी गर्ने पुँजीगत लाभ कर नै अन्तिम कर भएको सेयर लगानीकर्ता संगठनले बताएका छन् । बजेटपछिको अन्तरक्रिया कार्यक्रममा राजस्वसचिव शिशिर ढुंगानाले लगानीकर्ताले भुक्तानी गर्ने उक्त कर नै अन्तिम कर भएको जानकारी गराउँदै अन्य भ्रममा नपर्न लगानीकर्तालाई सजग गराएका छन् । लगानीकर्ताले भुक्तानी गर्दै आएको ५ प्रतिशत पुँजीगत लाभकरलाई बढाएर सरकारले ७ दशमलव ५ प्रतिशत  पु-याएको छ ।

 मञ्जुश्रीको साधारणसभा
मञ्जुश्री फाइनान्स लिमिटेडले असार २० गते थापागाउँ बैंकेट, नयाँ बानेश्वरमा दशौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा ५ दशमलव ७१ प्रतिशत बोनस सेयर वितरण गर्ने, शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्जर तथा एक्विजिसन र लेखापरीक्षक नियुक्त गर्ने रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार ४ गते बुक क्लोज गर्ने भएको छ ।

 श्री इन्भेष्टमेन्टको साधारणसभा
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले असार २२ गते अमृतभोग क्याटर्स प्रालि कालिकास्थानमा तेइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभाको विशेष प्रस्तावमा २६ दशमलव ५७ प्रतिशत बोनस सेयर वितरण गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले असार ४ गते बुक क्लोज गर्ने भएको छ

 

तपाईको प्रतिक्रिया