जी–७ को बदलिँदो रूप - Naya Patrika
eNaya Patrika
  • ePaper

जी–७ को बदलिँदो रूप

गत ८ र ९ जुनमा क्यानडामा सम्पन्न जी–७ राष्ट्रहरूको शिखर वार्ताबाट विशेषतः पश्चिमा देशको राजनीतिक तथा आर्थिक अडानमा बदली आएको छ । अन्य देशको हित तथा स्वार्थलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेवास्ता गरेका कारण जी–७ राष्ट्र विभाजित भएका छन् । ट्रम्पको गैरजिम्मेवार व्यवहारले विकसित देशहरूको सम्बन्धमा खटपट ल्याएको छ । ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिले युरोपेली युनियन (इयू), क्यानडा, जापान र अन्य सदस्य राष्ट्रको विचारलाई लत्याएको छ ।

विगतका जी–७ सम्मेलनमा जस्तो एकता यसपटकको शिखर सम्मेलनमा देखिएन । आफ्ना मतभेदलाई उनीहरूले सार्वजनिक रूपमै पोखे । सम्मेलनअघि ट्रम्पले आफू चाँडै निस्किने र संयुक्त वक्तव्यमा समेत सरिक हुन नसक्ने जानकारी दिएका थिए । यसैबीच, युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले अमेरिकी कदमका कारण नियममा आधारित अन्तर्राष्ट्रिय सन्तुलनमाथि अमेरिकाले धाबा बोलेको अरोप लगाएका छन् ।

अमेरिका पाहिलो नीतिका कारण अमेरिकी गुटमा रहेका राष्ट्रसमेत अमेरिकासँग चिडिएका छन् । शीतयुद्धताका तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले झैँ ट्रम्प पनि अमेरिकी शक्ति खस्किनेमा चिन्तित छन् । अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर ह्वाइट हाउसले गत वर्ष निकालेको राष्ट्रिय सुरक्षा रणनीतिमा पनि यस्तो चिन्ता जाहेर भएको देख्न सकिन्छ । ट्रम्प प्रशासनले आफ्ना गुट राष्ट्रलाई साझेदारको आँखाले हेर्नेभन्दा अमेरिकी स्वार्थमाथि धाबा बोल्ने प्रतिस्पर्धीका रूपमा चित्रित गरेको छ ।

शिखर वार्तापछि अन्य देशको हित तथा स्वार्थलाई अमेरिकी राष्ट्रपति ट्रम्पले बेवास्ता गरेको भन्दै जी–७ राष्ट्र विभाजित भएका छन्

अमेरिका र उसका गुटराष्ट्र इयू, क्यानडा र जापानबीच देखिएको सबैभन्दा ठूलो विवाद आर्थिक र व्यापारिक मुद्दामै केन्द्रित छन् । इयू, क्यानडा र जापानमा उत्पादित स्टिल र आल्मुनियम उत्पादनमाथि अमेरिकाले चर्को कर लगाइसकेको छ । सवारी साधनमाथि कर लगाउने योजनामा पनि अमेरिकाले गृहकार्य गरिरहेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो अबेले ट्रम्पसँग सातौँपटक भेटवार्ता गरे । यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर एन्जेला मर्केल, क्यानडा र समग्र इयूले समेत ट्रम्पको कदमको प्रतिकार गर्ने चेतावनीसमेत दिए । तर, ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् । अमेरिकाको एकलौटीपनले इयू, क्यानडा र जापानलाई एकै ठाउँमा ल्याएको छ । पेरिस जलवायु परिवर्तन सम्झौता, इरान परमाणु सम्झौता, इजराइल–प्यालेस्टाइन मुद्दा, अन्तरएट्लान्टिक व्यापार सम्झौता र अन्तर्राष्ट्रिय संस्थाको भूमिकालाई लिएर अमेरिका र युरोपियन राष्ट्रबीच द्वन्द्व छ ।

विश्व नेतृत्व कायम राख्ने नाममा अमेरिकाले अर्थिक मूल्य चुकाउन तथा जिम्मा लिन नहुने विश्वास ट्रम्पको छ । यसर्थ, नितान्त अमेरिकाको स्वार्थलाई उनले प्राथमिकतामा राखेका छन् । परिणामस्वरूप, अमेरिका र उसका गुटराष्ट्रबीच असमझदारी र विवाद निरन्तर बढ्दै गएको छ, जसले शीतयुद्धपछिकै खराब सम्बन्धलाई संकेत गरिरहेको छ । यी यावत् कारणले गर्दा जी–७ को भूमिका र हैसियत पनि कमजोर बन्दै गएको छ ।

(दोङ यिफान चाइना इन्स्टिच्युसन अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका शोधकर्ता हुन् भने सन चेङहाओ इन्स्टिच्युट अफ अमेरिकन स्टडिजका शोधकर्ता हुन्) ग्लोबल टाइम्सबाट

तपाईको प्रतिक्रिया