२५ अंकले घट्यो सेयर बजार - Naya Patrika
eNaya Patrika
  • ePaper

२५ अंकले घट्यो सेयर बजार

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २५ दशमलव ४३ अंकले घटेको छ । कारोबार सुरु हुँदा सामान्य बढेको परिसूचक २२ मिनेटपछि भने लगातार घटेर बन्द भएको छ । गत साताको अन्तिम दिन बिहीबार २५ अंकले घटेको परिसूचक आइतबार पनि घटेर १ हजार २ सय ३१ दशमलव ६४ बिन्दुमा खुम्चिएको छ ।


हकप्रद र बोनस सेयरमा लगाएको लाभकरको गणना विधिका कारण आन्दोलित लगानीकर्ता सरकारले लिएको पछिल्लो निर्णयपछि उत्साहित देखिएका थिए । तर, नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले लगानीकर्ताको मनोबल द्विविधामा परेको देखिन्छ ।

आइतबार ५ हजार ७ सय ११ व्यापारबाट १ सय ६२ कम्पनीको ११ लाख ७६ हजार ३४ कित्ता सेयर किनबेच भएको छ । जसबाट ४४ करोड ४३ लाखबराबरको रकम परिचालन भएको छ । जसमा ३ करोड २५ लाखबराबरको म्यानुअल कारोबार भएको छ ।

सो दिन बिमा समूहको परिसूचक सबैभन्दा धेरै अंकले घटेको छ । उक्त समूहको परिसूचक २ सय १७ अंकले घटेर ६ हजार २ सय ३५ बिन्दुमा समेटिएको छ । होटेल समूहको परिसूचक ५४ दशमलव ४६, लघुवित्त समूहको ४३ दशमलव ९६ अंकले घटेको छ । बैंकिङ समूहको परिसूचक भने १९ दशमलव २८ अंकले घटेको छ ।

आइतबार मेगा बैंकको काराबोर सबैभन्दा धेरै भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १७५ रुपैयाँमा ४ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको १ करोड ८३ लाख, नेपाल दूरसञ्चारको १ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आइतबार कारोबार भएको संख्याका आधारमा हेर्ने हो भने प्रिमियर इन्स्योरेन्स कम्पनीमा सबैभन्दा अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको २ सय ६७ पटक सेयर खरिद–बिक्री भएको छ । त्यस्तै मेगा बैंकको २ सय ६२ र नेपाल लाइफ इन्स्योरेन्सको २ सय ३३ पटक कारोबार  भएको छ ।

आइतबार उन्नति लघुवित्त संस्थाको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ । सपोर्ट लघुवित्तको करिब ८ र समता लघुवित्तको करिब ६ प्रतिशतले बढेको छ । तर, मिर्मिरे लघुवित्त संस्थाको सेयर मूल्य भने करिब ८ प्रतिशतले घटेको छ । साथै प्रोग्रेसिप फाइनान्सको करिब साढे ७ र विजया लघुवित्तको करिब ७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 बिओकेको बुक क्लोज
बैंक अफ काठमाडांैले साधारणसभा प्रयोजनका लागि असार ८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार ७ गतेसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने बोनस पाउनेछन् । बैंकको २३औँ वार्षिक साधारणसभा असार २८ गते हुने भएको छ ।

 सांग्रिलाको बुक क्लोज
सांग्रिला विकास बैंकले आगामी असार १७ गते १३औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा २ दशमलव ५० प्रतिशत बोनस र ९ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने भएको छ । सभा प्रयोजनका लागि असार ४ गतेदेखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 पोखरा फाइनान्सको मूल्य समायोजन
पोखरा फाइनान्सको ८ दशमलव २६ बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यो फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १३५ दशमलव ७८ रुपैयाँ तोकिएको छ । आइतबार पोखरा फाइनान्सको सेयर कारोबार पनि सोही मूल्यलाई आधार मानेको खुलेको छ । यसको औसत आधार मूल्य १८९ दशमलव ८९ रुपैयाँ छ ।

 कन्काईको सञ्चालकमा अधिकारी नियुक्त
कन्काई विकास बैंकको संस्थापक सञ्चालकमा विश्वराज अधिकारी नियुक्त भएका छन् । रिक्त रहेको उक्त पदमा बैंकको गत शनिबार बसेको बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

 मन्जुश्रीको अवितरित हकप्रद लिलाम विक्री
मञ्जुश्री फाइनान्स लिमिटेडले ३९ हजार १ सय १२ कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ । बिक्री गरिने सेयरमध्ये संस्थापक समूहको १६ हजार ५ सय ६३ दशमलव ९ कित्ता रहेको छ भने सर्वसाधारण समूहको २२ हजार ५ सय ४८ दशमलव १ कित्ता रहेको छ । कम्पनीले चैत ८ गतेदेखि वैशाख १२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेकोहकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो । सो सेयर खरिदका लागि जेठ १४ गतेदेखि २१ गतेसम्ममा सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सो सेयरका लागि एनआइबिएल एस क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकका नेपालगन्ज, सुर्खेत, वीरगन्ज र नारायणगढ शाखा कार्यालय र मञ्जुश्री फाइनान्सको केन्द्रीय कार्यालयबाट सिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ ।

 एनआइसी एसिया  ग्रोथ फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.०७

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइसी एसिया ग्रोथ फन्डको वैशाखमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रू. १० दशमलव शून्य ७ पुगेको छ । चैत मसान्तममा यस योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ९९ रहेको थियो । यस योजनाले सो महिनामा ५९ लाख १० हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ ।

 डिप्रोक्स लघुवित्तको बोनस सेयर हितग्राही खातामा
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ । गत पुस २७ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सो बोनस सेयरको प्रस्ताव पारित गरेको थियो । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज गरेको मितिसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीहरूको हितग्राही खातामा सो बोनस सेयर जम्मा गरेको हो ।

तपाईको प्रतिक्रिया