सातामा ५०.५९ अंक घट्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

सातामा ५०.५९ अंक घट्यो नेप्से

गत साता नेप्से परिसूचक ५० दशमलव ५९ अंक ओरालो लागेको छ । नेप्सेसँगै गत साता कारोबार रकम पनि घटेको छ । आन्तरिक राजस्व कार्यालयले बोनस तथा हकप्रद सेयरमा लाभकर गणना गर्दा चुक्ता मूल्यलाई आधार मानेर गणना गर्ने निर्देशनपछि लगानीकर्ताहरूले आन्दोलन गरेका थिए ।

आइतबार जारी राजस्व कार्यालयको पत्रले नेप्से तीव्र गतिमा ओरालो लागेको थियो । सरकारको सो निर्णयको विरोध गर्दै सोमबार लगानीकर्ताले कारोबार ठप्प पार्ने प्रयास गरेका थिए । तर, त्रसित लगानीकर्ताहरूले सेयर बिक्री गर्न थालेपछि सो दिन पनि नेप्से ओरालो लागेको थियो । मंगलबार भने लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा गई कारोबार ठप्प पारेका थिए । बुधबार पनि लगानीकर्ताले कारोबारको दुई घन्टासम्म कारोबार गर्न दिएनन् ।

सरकारले लाभकरको निर्णय हाललाई स्थगित गरेसँगै नेप्से बढ्न थालेको थियो । तर, कारोबारको अन्तिम दिन पुनः नेप्से ओरालो लागेको थियो । सरकारले पुँजीगत लाभकर गणना गर्ने नयाँ विधिका कारण लगानीकर्ता आक्रोशित भएका हुन् ।

सरकारले गरेको यस्तो निर्णय करको सर्वमान्य सिद्धान्तविपरीत भएको र यस्तो प्रचलन सायद संसारमा हाम्रै देशमा प्रथमपटक लागू भएको भन्दै लगानीकर्ताले यसको विरोध गरेका थिए । नेप्सेको १४ दिने आरएसआई गत साताको अन्तिम कारोबार दिन ३४ दशमलव शून्य ६ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

गत साता १ सय ७९ कम्पनीको २० हजार ६ सय ६२ पटकको कारोबारमा १ अर्ब ६८ करोड ४५ लाख ६ हजार रुपैयाँबराबरको ४० लाख २६ हजार ८ सय १० कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साता १ सय ८३ कम्पनीको २३ हजार ५ सय ४८ पटकको कारोबारमा २ अर्ब ८ करोड ७३ लाख ५१ हजार रुपैयाँबराबरको ४७ लाख ४४ हजार ८ सय १० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ३ सय ७ दशमलव ६६ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार २ सय ५७ दशमलव शून्य ७ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंक घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ७३ अंक घटेर २ सय ६४ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

गत साता नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० लाख कित्ता साधारण सेयर सूचीकृत गरेका छन् ।

गत साता कारोबारमा आएको अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । अन्य समूहको परिसूचक गत साता शून्य दशमलव ३६ अंक बढेको छ । बिमा समूहको परिसूचक गत साता सर्वाधिक ९५ दशमलव ५२ अंक घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक गत साता ३८ दशमलव २२ अंक, होटेल समूहको ३७ दशमलव ९८ अंक, लघुवित्त समूहको ३१ दशमलव ६९ अंक, वाणिज्य बैंक समूहको १५ दशमलव ४१ अंक, विकास बैंक समूहको १४ दशमलव शून्य १ अंक, उत्पादनमूलक समूहको १३ दशमलव ११ अंक, वित्त समूहको ११ दशमलव २६ अंक र व्यापार समूहको २ दशमलव ८७ अंक घटेको छ ।

गत साता कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा मेगा बैंक नेपालको सेयर अगाडि रहेको छ । सो साता मेगा बैंकको १ हजार ३ सय ९२ पटकको कारोबारमा ७ करोड २७ हलाख ८० हजार रुपैयाँबराबरको ४ लाख ७ हजार कित्ता सेयर खरिद–बिक्री गरेको छ ।

देवःको अवितरित हकप्रद लिलाम बिक्री
देवः विकास बैंक लिमिटेडले २० लाख २० हजार ५९ कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ । बिक्री गरिने सेयरमध्ये संस्थापक समूहको १४ लाख ७९ हजार २ सय ६४ दशमलव ८८ कित्ता रहेको छ भने सर्वसाधारण समूहको ५ लाख ४० हजार ७ सय ९४ दशमलव ७१ कित्ता रहेको छ ।

कम्पनीले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो । सो सेयर खरिदका लागि असार १ गतेदेखि ८ गतेसम्ममा सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सो सेयरका लागि एनआइबिएल एस क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकका नेपालगन्ज, सुर्खेत, धनगढी र नारायणगढ शाखा कार्यालय र देवःविकास बैंकको केन्द्रीय कार्यालयबाट सिलबन्दी बोलपत्र पेस गर्न सकिनेछ ।

 नेसनलको साधारणसभा
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले असार १५ गते गोदावरी अल्मोनाई एसोसिएसन सभाहल, ठमेलमा एक्काइसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा वार्षिक प्रतिवेदनउपर छलफल गर्ने र लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १ गतेदेखि ८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

 देवःको हकप्रद बाँडफाँड
देवःविकास बैंक लिमिटेडले जेठ २३ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले फागुन १६ गतेसम्म कायम साबिक सेयरधनीहरूका लागि १० बराबर ४ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले निष्कासन गरेको ६५ लाख ३३ हजार १ सय ८ दशमलव ५९ कित्तामध्ये ४५ दशमलव १३ हजार ४९ कित्ता बाँडफाँड गरेको हो । बाँडफाँडमा नपरेको सेयरबापतको रकम जेठ २८ गतेदेखि फिर्ता भुक्तानी गरिने व्यवस्था गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 नेपाल सेवाको सेयर रजिस्ट्रार
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरेको छ । कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण काम एनएमबी क्यापिटलले गर्नेछ ।

तपाईको प्रतिक्रिया