सातामा डेढ अर्बभन्दा बढिको सेयर कारोबार - Naya Patrika
eNaya Patrika
  • ePaper

सातामा डेढ अर्बभन्दा बढिको सेयर कारोबार

यस साता धितोपत्र बजारमा डेढ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । एक सय ७९ कम्पनीको एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६ हजार ८ सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो । गत साता १ सय ८३ कम्पनीको ४७ लाख ४४ हजार ८ सय १० कित्ता सेयर दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ८८ अंकले घटेर अन्तिम दिन १२५७ दशमलव शुन्य सात अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ७३ अंकले घटेर २६४ दशमलव ४६ अंकमा आइपुगेको छ ।

मेगा बैंकको कारोबार बढी
यस साता कारोबार रकमको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड २७ लाख ८० हजार बराबरको सेयर कारोबार भएको छ । यस्तै सेयर संख्याका आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको चार लाख सात हजार कित्ता सेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता नेपाल सेवा लघुवित्त संस्था लिमिटेडको ६० लाख कित्ता साधारण सेयर स्टकमा सूचीकृत भएको छ ।

तपाईको प्रतिक्रिया