शिक्षा गुलाबको फूलजस्तै जीवनपयोगी हुनुपर्छः ओली - Naya Patrika
eNaya Patrika
  • ePaper

शिक्षा गुलाबको फूलजस्तै जीवनपयोगी हुनुपर्छः ओली

प्रधानमन्त्री केपी ओलीले शिक्षा लाखौं खर्च गरी सर्टिफिकेट फ्रेममा सजाएर राख्ने खालको हुनु नहुने बताएका छन् । उनले शिक्षा गुलाबको फूलजस्तै लोकप्रिय र जीवनपयोगी हुनुपर्ने बताए ।

काठमाडौँको भृकुटीमण्डपमा कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै ओलीले सरकार आवश्यक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा जुटेको बताए । माध्यमिक तहको शिक्षा ग्रेडिङ प्रणालीमा गएकोमा खुसी व्यक्त गर्दै उनले विद्यार्थीलाई उसको क्षमता र रुची अनुसारको शिक्षा दिनुपर्ने बताए ।

शिक्षा प्रणाली प्रविधिमैत्री र परोपकारी हुनुपर्ने भन्दै उनले भने,‘शिक्षाप्रणाली गरिखाने सोचको हुनुपर्छ, ठगीखाने होइन ।’ शिक्षाले स्वच्छ आचरण भएका नागरिक उत्पादन गर्नुपर्नेमा ओलीले जोड दिए । उनले कुनैपनि देश पछाडि पर्नुको कारण शिक्षा, क्षमता र चेतनाको कमी रहेको भन्दै पैसा भएरमात्र देश धनी नहुने तर्क गरे । ओलीले विकासका लागि तरिका साथै क्षमता चाहिने र त्यो ज्ञान र सिपबाट मात्रै पाइने बताए ।

उनले संगीत, साहित्य, औषधि विज्ञान, ग्रह र नक्षत्रहरुका बारेको अध्ययन नेपालका पुर्खाले सुरुवात गरेको दाबी गरे । ‘सूर्यास्त, सूर्योदय, ग्रह र नक्षत्रका नियम विज्ञानले भन्दा पहिला हाम्रा पूर्खाले पत्ता लगाए’, उनले भने,‘विज्ञानले भर्खरै पत्ता लगाएको हो ९ वटा ग्रह हुन्छ भनेर तर ज्योतिषशास्त्रले सौर्यमण्डलमा ९ वटा ग्रह हुन्छ भनेर त्यो भन्दा पहिल्यै पत्ता लगाएको हो ।’

उनले नेपालीका पूर्खा प्रयोगात्मक ज्ञानमा पनि अब्बल रहेको तर्क गरे । ‘हजारौँ वर्ष पहिले हाम्रा पुर्खाले संगीतमा सप्तमस्वर, साहित्यमा नवरश, खानेकुरामा अचारदेखि रसबरीसम्म पत्ता लगाए । अरूले त्यो मेलो नै पाएका थिएनन्’, उनले भने,‘हाम्रा पुर्खाले नचाखेको वोटविरूवाको पात, बोक्रा, जरा फल, फूल र पात केही बाँकी छैन होला । कति त खाँदा पनि मरे होलान् तर यस्तो प्रयोगात्मक थिए कि यो—यो खाँदा औषधि हुन्छ भनेर अनुसन्धानात्मक काम गरेर आर्युवेदको सृजना गरे ।’

ओलीले उर्वर भूमिको सन्तान भए पनि नेपाली गरिब हुनु दुःखद विषय भएको बताए । ‘यस्तो उर्वर भूमिका मानिस हौँ हामी जहाँ हिमाल छ, हरिया पहाड छन्, समथर तराईको जमिन छ, हिउँ, झरना, खोलानाला छन्’, उनले भने,‘हाम्रा अग्रजले ढुंगो छुँदा द्रव्य होस्, माटो छुँदा अन्न होस् भन्ने गर्थे । राम्ररी माटो छुने हो भने अन्नै अन्न फल्छ, ढुंगा छुन र चलाउन जान्यो भने हिरा भने पनि त्यही हो मणि भने पनि त्यही हो ।’

वेदका ऋचाको प्रसंग झिक्दै उनले नेपालीका पूर्खा ‘भिजनरी’ भएको बताए । ‘वेदको एउटा ऋचामा लेखिएको छ, पानीबाट अग्नि उत्पन्न हुन्छ, चट्याङ परेको देखेर अनुमान गरेको हुनसक्छ, जेसुकै होस् आज हाइड्रोपावर भनेको त्यही हो, हाम्रा पुर्खा यति भिजनरी थिए’, उनले भने ।

राइट दाजुभाइले प्लेन बनाउनु अघि नै नेपालीका पूर्खाले पुष्पक विमानबाट राम र सितालाई लंकाबाट अयोध्या ल्याएको बताउँदै उनले भने,‘हाम्रा पूर्खाले पुस्पक विमानबाट राम र सिताहरूलाई लंकाबाट अयोध्या ल्याए उनीहरु भर्खरै बनाएको पुलबाट फर्किएका थिएनन्, पुस्पक विमानबाट फर्किएका थिए ।

हाम्रा पुर्खाले चरा झै उड्ने कल्पना गरेका होइनन् पुस्पक विमानबाट पल्टनै चढेर आउथे ।’ ओलीले युवालाई क्षमता अनुसारको काममा लगाउनुपर्ने बताए । ‘दुई चार डल्ला के फ्याँक्न पाएका थिए, सन्दीप लामिछाने चम्किए, उनले क्रिक्रेटमा चमत्कार गरेका छन्’, ओलीले भने,‘उनलाई गायन वा चित्रकलामा लगाएको भए त्यत्रो प्रगती हुँदैनथ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु