राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा - Naya Patrika
eNaya Patrika
  • ePaper

राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा

पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै आएको राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा आएको छ ।

विमानस्थलको स्तरोन्नति (धावनमार्ग, ट्याक्सी–वे, तथा एप्रोन पार्किङ कालोपत्रे) गरेपछि श्री एयरलाइन्सको ५० सिट यात्रु क्षमताको नाइन ए एएमए कल साइन भएको विमानले औपचारिक उडान शुरु गरेको हो ।

बिहीबार विमानस्थलको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको नियमित रुपमा उडान सञ्चालनको सुनिश्चितता गरिने बताए । पर्यटनमन्त्री अधिकारीको १०० दिने कार्ययोजनामा राजविराज र साँफेबगर विमानस्थल स्तरोन्नति गरी उडान सुरु गरिने उल्लेख छ ।

आफ्नो कार्ययोजना अवधिअघि नै काम सम्पन्न भई उडान सुरु भएकामा खुशी व्यक्त गर्दै मन्त्री अधिकारीले अन्य विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइने बताए ।

‘जनतालाई सुविधा प्रदान गर्नुपर्ने भएकाले जति यात्रु भए पनि चलाउनुस्, कमाउने अन्य धेरै गन्तव्य छन् तर निश्चित समयमा विमान उडाउने थिति बसाल्नुस्, केही समयपछि यात्रुको अभाव हुनेछैन’, उनले भने ।

राजविराजलाई कार्गो हब बनाइने
राजविराज विमानस्थनलाई यात्रुवाहकसँगै कार्गो हबका रुपमा विकास गरिने पर्यटनमन्त्री अधिकारीले बताए । उनले आर्थिक गतिविधि पनि बढ्ने भएकाले राजविराज, रामेछाप र लामिडाँडा विमानस्थनलाई कार्गो हब बनाउन कुनै समस्या नभएको उल्लेख गरे ।

जिल्लाका सांसद तथा बासिन्दाले पनि राजविराजलाई कार्गो हब बनाउन माग गरेका थिए । भारतबाट पशुपतिनाथ आउन चाहने तीर्थयात्रीका लागि पनि विमानस्थल उपयुक्त भएकाले दक्षिणतर्फको सडक निर्माण गरी पर्यटक तान्न सकिने मन्त्री अधिकारीको बुझाइ छ ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी र काठमाडौँको सम्बन्ध जोड्न विमानस्थलले महत्पवूर्ण भूमिका खेल्ने भन्दै छिमेकी देश भारत र चीन जोड्ने दक्षिण उत्तर सडक विस्तार गर्नसके धेरै पर्यटक आकर्षण गर्न सकिने धारणा राखे ।

नेपाली कांग्रेसका नेता तथा सांसद जीतेन्द्रनारायण देवले विमानस्थ सञ्चालनबाट यात्रुको आवतजावत मात्र नभई समग्र सप्तरीको विकास र समृद्धिका लागि ढोका खुलेको उल्लेख गरे । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले विमानस्थल सञ्चालनसँगै सप्तरीवासीको वर्षौदेखिको सपना साकार भएको बताए ।

लामो समयपछि विमानस्थल पुनःसञ्चालन भएकाले स्थानीयवासीमा उत्साह छाएको छ । सयौँको संख्यामा उपस्थित उनीहरुले राजधानीलगायत अन्य गन्तव्यमा पुग्न सहज हुने बताए । अहिलेसम्म विमान नचढेको बताउने स्थानीयवासी नन्दकिरोशर यादवले अब परिवारसहित विमान चढेर काठमाडौँ घुम्न जाने रहर सुनाए ।

स्थानीय सञ्चारकर्मी मनोहर पोखरेलले विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको विकास तथा उद्योग कलकारखाना फस्टाउने आसा व्यक्त गरे । विमानस्थलमा एक हजार ५ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइको पक्की धावन मार्ग, ९० मिटर लम्बाइ र ६० मिटर चौडाइको एप्रोन तथा ११० मिटर लम्बाइ र २० मिटर चौडा ट्याक्सी–वे निर्माण गरिएको छ । विमानस्थलको कूल लागत मूल्यअभिवृद्धि करसहित ३० करोड ३० लाख छ ।

७२ सिट क्षमताको विमानले सबै मौसममा दुईतर्फी उडान र अवतरण गर्न सक्ने नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

असार १ देखि नियमित उडान
श्री एयरलायन्सले क्यानसँगको समझदारीअनुसार आगामी असार १ देखि राजविराज–काठमाडौँ नियमित उडान भर्ने छ । कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तलले असारदेखि दैनिक उडान भर्ने तयारी गरिएको जानकारी दिए ।

पर्यटनमन्त्री अधिकारीले पनि यात्रुको अवस्था हेरेर दैनिक उडान सञ्चालन गर्न निर्देशन दिएको बताए । पर्यटनमन्त्री अधिकारीसहित समाजवादी फोरमका अध्यक्ष यादव, सप्तरीका सांसद, क्यानका उच्च पदाधिकारी, सञ्चारकर्मीसहितको टोली विमानस्थल पुगेको थियो ।

तपाईको प्रतिक्रिया