‘दमकल कमान्डर’ भन्छन्ः खटाइ बढी, तलब कम - Naya Patrika
eNaya Patrika
  • ePaper

‘दमकल कमान्डर’ भन्छन्ः खटाइ बढी, तलब कम

दमकलका कमान्डर भनेर चिनिएका ६८ वर्षका चन्द्रबहादुर पौडेलले हालसम्म हजारौँ आगलागीका घटनामा बहादुरीका साथ काम गरे । आगलागी भएको स्थलबाट धेरैको उद्दार गरे । कैयौँको ज्यान बचाए, धेरैको धनसम्पत्ति खरानी हुनबाट जोगाए ।

२३ वर्षको उमेरबाट सेनाको जागिरमा प्रवेश गरेका चन्द्रबहादुरले दमकलको जागिर खाएकै ५० वर्ष बित्यो । ०२४ सालमा विराटनगरबाट सुरु भएको चन्द्रबहादुरको दमकल यात्रा धरान हुँदै भद्रपुरसम्म आयो । ०३१ सालबाट भद्रपुर नगरपालिकामा सेवा सुरु गरेका उनले ६९ सालमा अवकास लिए । भद्रपुरका स्थायी बासिन्दा उनी ०७२ सालदेखि बिर्तामोड नगरपालिकास्थित दमकलको ड्युटी इञ्चार्ज छन् । भद्रपुर नगरपालिकामै उनले ३८ वर्ष सेवा गरे ।

आर्मीमा भर्ना भएको १० महिनापछि उनलाई दमकलतिरको जिम्मेवारी दिइएको थियो । दमकलको सम्पूर्ण तालिम उनले आर्मीमा हुँदै लिए । लामो समय काम गरेर उमेरहदका कारण भद्रपुर नगरपालिकाबाट रिटायर्ड भएका उनले फेरि दमकलबाटै सेवा गर्ने मौका पाएका हुन् । बिर्तामोड नगरपालिकाले हाल उनलाई करारमा नियुक्त गरेको हो ।

‘सरकारले वास्ता गर्दैन’
दमकलको काम जोखिमपूर्ण हुन्छ । ठूल्ठूला आगलागीका घटनामा आफू बाँचेर अरुलाई पनि बचाउनुपर्छ । आगलागी भएको सूचना पाउनासाथ समयमै पुग्न सक्नुपर्छ । ‘तर, सरकारले नै यो क्षेत्रलाई त्यति चासो दिँदैन,’ दमकलमा काम गरेरै कपाल फुलिसकेका चन्द्रबहादुर भन्छन्, ‘प्रहरी, सेनालाईजस्तो आफ्नो ठान्दैन हामीलाई सरकारले ।’

०१ सालतिर दमकलबारे सुनेका चन्द्रबहादुरले ०२४ सालदेखि दमकलमा काम गर्न थालेका हुन् । उपत्यकाभित्रका दमकलका पोष्टहरु गृहअन्तर्गतका भए पनि उपत्यकाभन्दा बाहिरका दमकलका कर्मचारीलाई भने स्थानीय तहले आफ्नो आयस्रोतअनुसारको सेवासुविधा दिने गरेको उनले बताए । दमकलका कर्मचारीले दर्जाअनुसारको सुविधा नपाएको उनको भनाइ छ ।

खटाइ बढी, तलब कम
बिर्तामोड नगरपालिकामा दमकल आउँदा जनप्रतिनिधि चुनिएकै थिएनन् । जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष हुँदैछ । अवकास भएर चन्द्रबहादुर घरमै बसेको थाहा पाउनासाथ बिर्तामोड नगरपालिकाले उनलाई जनप्रतिनिधि आउनुभन्दा पहिलेदेखि करारमा राख्यो । उनी दमकलका क्षेत्रमा निकै पुराना र अनुभवी कर्मचारी हुन् ।

दमकलमा काम सुरु गरेयता उनले झापा, इलाम, विराटनगर लगायत थुप्रै स्थानका ठूल्ठूला आगलागी निभाए । ‘हामीलाई हेर्ने नजर त्यति राम्रो छैन तर, हाम्रो खटाइ बढी हुन्छ, तलब कम,’ उनले भने, ‘२४ घण्टे ड्युटी हुन्छ, दशैँ, तिहार, शनिबार कुनै सुविधा छैन, समयमा घटनास्थल पुग्नैपर्छ ।’

आफैँ दिन्छन् तालिम
बिर्तामोड नगरपालिकामा करारमा काम सुरु गरेयता नै उनले २ सय ८ वटा आगलागी निभाए । ‘यसमा अनुभव पनि चाहिन्छ, अस्ति नै विरगञ्जमा २ जना मान्छे मरेका अनुभव नभएरै हो,’ उनी भन्छन्, ‘हामी सक्षम हुनुपर्छ, त्यसैले यहाँका नयाँ काँचा केटाहरुलाई म आफैँले तालिम पनि दिएँ ।’
आगलागी भएका सबै स्थानमा पानीको सुविधा हुँदैन ।

२६ सालमा विराटनगरमा आगलागी हुँदा इटाभट्टाको धमिलो पानी पनि खाएको उनको स्मरणमा अझै ताजै छ । ‘एउटा घर सल्किएपछि अरु घरका मान्छे भाग्न पनि पाउँदैनथिए, सयौँ घर डढ्थे, अहिले पो टिनका, सिमेन्टका घर छन्,’ उनी स्मरण गर्छन्, ‘दमकल गएर पानी हाल्दा पनि उपाय नलागेपछि फर्किनुपथ्र्यो, कहीँ त दमकल पुग्ने बाटो पनि हुँदैनथियो, पानी पाइँदैनथियो, झापाको तल्लो केही भेगमा अझै पनि पानीको त समस्या नै छ, काम गर्दा भोक, थकाई केही भन्न पाइँदैन ।’

दमकल नै एम्बुलेन्स
४५ सालतिरको कुरा हो, भद्रपुरमा कसैले भित्रबाट कोठा थुनेर आगो लगाएको सूचना आयो । भद्रपुर नगरपालिकाबाट चन्द्रबहादुरको नेतृत्वमा गएको दमकलको टोलीले मान्छेको ज्यान बचायो । दमकलमै हालेर अस्पताल पु¥यायो उनको टोलीले । आफूहरु कोठा फोडेर भित्र पसेको उनले सुनाए । ‘कति ठाउँमा त हामी पुग्दा मान्छे बितिसक्थे, भुटानी शरणार्थी क्याम्पमा खुब आगलागी हुन्थे, त्यहाँ पनि केही मान्छे बिते,’ उनले भने ।

छैन सुरक्षा सामाग्री
दमकलमा काम गर्नेहरुका लागि सुरक्षा पनि चाहिन्छ । तर, उनीहरुसँग सुरक्षाका पर्याप्त सामान छैनन् । सामान्य टिसर्ट, हाफपाइण्ट लगाएर खाली खट्टै आगो निभाइरहेको पनि भेटिन्छ कतै । ‘सामानहरु महँगो पर्छ, बाहिरबाट मगाउनुपर्छ, आगोले नजल्ने पोशाक चाहिन्छ हामीलाई, जुत्ता पनि त्यस्तै खालको हुन्छ,’ चन्द्रबहादुर भन्छन्, ‘हेलमेट पनि लाइट भएको र बलियो हुनुपर्छ, माथिबाट इटा, काठका बिम झर्दा पनि चोट नलाग्ने हेल्मेट चाहिन्छ, नडढ्ने लुगा लगाएर एकपटक आगलागी भएको घरको भित्रैसम्म पसेर निस्कन सक्नुपर्छ, हामीसँग त्यो छैन ।’

भगवानको कृपाले अहिलेसम्म आफूलाई कुनै चोट नलागेको उनले सुनाए । बिर्तामोड नगरपालिकामा करारमा काम थालेपछि पनि सबैको माया पाएको बताउने चन्द्रबहादुरका अन्य साथीहरु नयाँ र युवा छन् । ‘मेरो त करारको जागिर हो, उमेरहदले करारमा छु,’ उनी भन्छन्, ‘यी केटाहरुको चाहिँ जीवन सुरक्षित भइदिए हुन्थ्यो, उनीहरुको पनि घरपरिवार छ ।’ बिर्तामोड नगरपालिकाको दमकलमा हाल ७ जना कर्मचारी छन् ।

आगो निभाउँदा आवश्यक पर्ने पोशाक र अन्य सामाग्री आफूहरुले पटक–पटक माग गरेको उनले सुनाए । ‘काठमाडौँमा त्यस्ता सामान त आउँछन्, नगरपालिकाले पहल गर्ने हो भने पक्कै आउँथ्यो, कमसेकम हेलमेट, बुट र आगोले नडढ्ने लुगा भइदिए सजिलो हुन्छ,’ उनले भने । चन्द्रबहादुरको यति लामो अनुभवले भन्छ, ‘आगलागीमा ग्यास र बिजुली सबैभन्दा खतरा हो ।’ ग्यास पड्किने सम्भावना बढी हुन्छ, उनीहरुले बलिरहेको ग्यासलाई बोकेर बाहिर पनि लानुपर्छ ।

बिर्तामोड, विराटनगर जुटमिल र प्लाइ फ्याक्ट्रीका डरलाग्दा आगलागी उनी कहिल्यै बिर्सन सक्दैनन् । आगलागीका घटनामा उनी र उनको टिम कहिल्यै आत्तिएन । लामो अनुभव बोकेका चन्द्रबहादुर आफैँ दमकल ड्राइभ पनि गर्छन् । ‘तर, अहिले त केटाहरुले गाडी नचलाउनु भन्छन्,’ उनले सुनाए, ‘म उनीहरुको अभिभावक बनेको छु, निकै माया गर्छन् ।’

तपाईको प्रतिक्रिया