निजीस्रोतका शिक्षकलाई तलब दिन आलुखेती - Naya Patrika
eNaya Patrika
  • ePaper

निजीस्रोतका शिक्षकलाई तलब दिन आलुखेती

पातारासी गाउँपालिका ७ पटमारा गाउँस्थित महारुद्र आधारभुत विद्यालयमा दरवन्दीका शिक्षक भन्दा निजीस्रोतका शिक्षकहरु दोब्बर बढी भएपछि शिक्षकको तलव भत्ता खर्च जुटाउन विद्यालयले आलुखेती गरेको छ ।

पाँच रोपनीमा आलुखेती गरिएको प्रधानाध्यापक चुडाराज न्यौपाने बताए । यसबाट कम्तीमा पनि दुई लाख रुपैँया आम्दानी लिने योजना विद्यालयले जनाएको छ । ‘सडकको पनि पहुँच पुगेकोले विक्री वितरणका लागि बजार पुर्याउन पनि सहज छ’ उनले भने, ‘शुक्रबार र शनिवार आलुखेतीमा सवै विद्यार्थी शिक्षक मिलेर गोडमेल मलजल गर्ने गरेका छौँ ।

विकास निर्माणका योजनाबाट विद्यालय सञ्चालन
शिक्षक दरवन्दी नभएका जुम्लाका अधिकांश सामुदायिक विद्यालयहरु विकास निर्माणका योजनाबाट संचालन भइरहेका छन् । ‘एक गाउँ एक विद्यालय’को अवधारणा आएसँगै हरेक गाउँमा विद्यालय संचालनका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुमति पत्र लिएर विद्यालय खोलिएको थियो । तर सरकारले दरवन्दी अनुसार शिक्षक व्यवस्था गर्न नसक्दा स्थानीयले नै विद्यालय सञ्चालन गनुपर्ने बाध्यता आएको हो ।

कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा तिन जना शिक्षकमात्र दरवन्दीका छन् । स्थानीय आफैले राखेका शिक्षक ६ जना छन् । उनीहरुको तलव भत्तामा वार्षिक साढे आठ लाख रुपैया खर्च हुने गरेको छ । सबै खर्च यस्तै विकास निर्माणका योजनामा स्थानीयले श्रमदान गर्ने र त्यो रकम विद्यालयका निजिस्रोतका शिक्षकलाई तलव भत्ताका लागि दिने गरेको प्रधानाध्यापक न्यौपाने बताए ।
स्थानीय भिमबहादुर बुढाका अनुसार अहिले गाउँपालिकाबाट विद्यालयमा १३ लाख रुपैंँयामा दुई कोठे पक्की भवन निर्माण हुदै छ । टेण्डर प्रक्रिया अनुसार घटीघटाउमा केही रकम जोगाएर निजि शिक्षकको खर्च जुटाएर गाउँमा सल्लाह भएको बुढाले बताएका छन् । सो गाउँमा एक सय ६२ घरधुरी रहेको छ ।

कक्षा कोठा अभावमा शौचालयमा बस्छन् विद्यार्थी
कक्षा कोठा अभावमा छात्रा शौचालयमा राखर पढाउने गरिएको प्रधानाध्यापक न्यौपानेले बताए । ‘कक्षा ८ सम्म पढाई हुन्छ । विद्यार्थी धेरै छन् । कक्षा कोठा अभाव छ ।’ उनले भने, ‘अहिले तत्कालका लागि छात्रा शौचालयलाई प्रयोगमा नल्याएर कक्षाकोठाका रुपमा प्रयोग गरेका छौँ ।’
समस्या समाधानको उपाय खोज्ने क्रममा अन्तमा कक्षा ४ का १५ जना विद्यार्थी छात्रा शौचालयमा राखेर पढाउने व्यवस्थापन गरिएको उनले बताए । अब गाउँपालिकाको १३ लाख रकममा दुईकोठे भवन निर्माण भएपछि सहज हुने उनले विश्वास लिएको बताए ।

 

तपाईको प्रतिक्रिया