१० महिनामा सवा ८५ लाख राजश्व संकलन - Naya Patrika
eNaya Patrika
  • ePaper

१० महिनामा सवा ८५ लाख राजश्व संकलन

रुकुम(पश्चिम)को आठबीसकोट नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा सवा ८५ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७३/७४ को श्रावण देखि वैैशाख मसान्तसम्म ८५ लाख २२ हजार तीन सय सात रुपैंया राजश्व संकलन गरेको हो । नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड दुई लाख राजश्व संकलन गर्ने लक्ष्इ राखेको छ ।

नगरपालिकाले १४ वटा वडाबाट मालपोत कर, एकिकृत सम्पति कर लगायतबाट ३६ लाख ४१ हजार पाँच सय ४४ रुपैंया राजश्व संकलन गरेको छ । नगरपालिकाका अनुसार वडाबाट मालपोत कर १७ लाख पाँच हजार ५८, एकीकृत सम्पति कर १० लाख ५६ हजार आठ सय तीन, सेवा शुल्क चार लाख एक हजार चार सय ३६, व्यवसाय दर्ताबाट दुई लाख नौं हजार चार सय, दण्ड जरिवानाबाट ३९ हजार पाँच सय ९१, जडिबुटि, जीवजन्तु कर ८२ हजार एक सय ५८, मिलापत्र दस्तुर एक हजार तीन सय ५० र पञ्जिकरणबाट एक लाख ४५ हजार सात सय ४८ गरी उक्त राजश्व संकलन भएको हो ।

त्यस्तै पाँचवटा कर संकलन केन्द्रबाट सात लाख एक हजार पाँच सय ६३ रुपैंया राजश्व संकलन भएको नगर प्रमुख गोर्खवहादुर केसीले जानकारी दिए । नगरपालिकामा रहेका जम्मा पाँच वटा कर संकलन केन्द्र मध्ये झारमारे केन्द्रबाट ६३ हजार ६ सय ४५, घारीखोला केन्द्रबाट एक लाख २१ हजार ६ सय पाँच, छेपारे केन्द्रबाट दुई लाख ३२ हजार सात सय ९५, त्रिवेणि केन्द्रबाट एक लाख ७९ हजार तीन सय पाँच र सिमबजार केन्द्रबाट एक लाख चार हजार दुई सय १३ राजश्व संकलन भएको केसीले बताए ।

त्यस्तै नगरपालिकाबाट विभिन्न शिर्षकमा ४१ लाख ७९ हजार २ सय राजश्व उठेको छ । परिक्षा शुल्क वापत एक लाख ६१ हजार, विड विक्रिबाट ९५ हजार, प्रशासनिक दण्डबाट २१ हजार पाँच सय, सेवा शुल्क वापत २२ हजार सात सय ८०, व्यसाय दर्ताबाट ३३ हजार पाँच सय, प्राविधिक फाँटबाट ४१ हजार २०, शिक्षा शुल्कबाट १२ लाख चार हजार चार सय र यातायात शाखाबाट २६ लाख गरी उक्त राजश्व उठेको नगर प्रमुख केसीको भनाई छ ।

लक्ष्य पुरा गर्छौ
नगरपालिकाले राजश्वको लक्ष्य पुरा हुने दाबी गरेको छ । १० महिनामा लक्ष्य लिएको कुल राजश्वको ८३ दशमलव ५५ प्रतिशत राजश्व संकलन भएको र अव आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी रहेकाले लक्ष्य पुरा हुने नगर प्रमुख केसीले दाबी गरे । त्यस्तै हाल सम्म संकलन भएको जम्मा करमा पाँच वटा कर संकलन केन्द्रको चैत्र मसान्त सम्मको मात्र कर जोडिएकाले त्यहाँबाट उठेको एक महिनाको राजश्व जोड्न बाँकी रहेको बताईएको छ ।

करलाई अनिवार्य रुपमा अगाडि बढाईएको र लक्ष्य पुरा हुनेमा ढुक्क रहेको नगर प्रमुख केसी बताउँछन् । कुनै नागरिकले कर नतिरेमा उसलाई समाजमा हुने विभिन्न विकास निर्माण तथा सरकारी स्तरबाट हुने कार्यक्रमहरुमा सहभागी हुन रोक लगाईएको समेत उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया