टेलिकमले ८ वर्षपछि जिएसएम सेवामा एनसेललाई उछिन्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

टेलिकमले ८ वर्षपछि जिएसएम सेवामा एनसेललाई उछिन्यो

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ८ वर्षपछि जिएसएम सेवामा एनसेललाई पछाडि पारेको छ । टेलिकमले फागुन एक महिनामै जिएसएम सेवामा १ लाख ६० हजार ९ सय ७३ नयाँ ग्राहक बनाएर आफ्नो ग्राहक संख्या १ करोड ६७ लाख ४८ हजार ९ सय ३५ पु-याएको छ ।

माघ २०७४ मा जिएसएम सेवामा एनसेलभन्दा पछाडि रहेको टेलिकमले फागुनमा ३ लाख २४ हजार ७ सय ३३ ग्राहक संख्याले उछिनेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । तर, सोही अवधिमा एनसेलका प्रयोगकर्ता भने २ लाख ८० हजार ५ सय ८६ ले घटेर १ करोड ६४ लाख २४ हजार २ सय २ मा सीमित भएको देखिएको छ । फागुन २०६७ मा एनसेलले (तत्कालीन स्पाइस नेपाल)ले जिएसएम सेवामा पहिलोपटक नेपाल टेलिकमलाई पछाडि पारेको थियो । उक्त समयमा जिएसएम मोबाइलमा नेपाल टेलिकमका ग्राहक ४७ लाख १० हजार ६ सय ७७ हुँदा एनसेलका ग्राहक संख्या ४७ लाख ८५ हजार ७ सय १५ थियो ।

प्राधिकरणका अनुसार टेलिकमका पिएटिएन सेवामा ६ लाख ८५ हजार ६ सय ७४, डब्ल्युएलएलमा १ लाख २१ हजार २ सय ९८, भिस्याटमा ५ सय ८१, जिएसएममा १ करोड ६७ लाख ४८ हजार ९ सय ३५ र सिडिएमएमा १५ लाख ५७ हजार २ सय ८८ गरी १ करोड ९१ लाख १३ हजार ७ सय ७६ टेलिफोनका ग्राहक छन् ।

भ्वाइस सेवामै अब्बल
जिएसएम सेवामा पहिलो भएसँगै टेलिकम नेपालको समग्र टेलिफोन बजारको आधा हिस्सामा आफ्नो स्थान बनाउन सफल देखिएको हो । प्राधिकरणको तथ्यांकअनुसार समग्र टेलिफोनको पहुँच ३ करोड ८१ लाख ६० हजार १ सय ४२ पुगेको छ । जसमा एनसेलका १ करोड ६४ लाख २४ हजार २ सय २, स्मार्ट टेलिकमका १७ लाख ६५ हजार ११, युटिएलका ५ लाख २६ हजार ८ सय ७३, नेपाल स्याटेलाइट टेलिकमका ३ लाख २८ हजार ५ सय ३८ र अन्यका १ हजार ७ सय ४२ छन् ।

१ करोड नाघे टेलिकमका इन्टरनेट प्रयोगकर्ता

नेपाल टेलिकमले प्रकाशित गरेको चैत, २०७४ को प्रतिवेदनअनुसार टेलिकमको डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेको छ  । कम्पनीका अनुसार जिएसएम मोबाइलमा आधारित इन्टरनेटका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् । कम्पनीका अनुसार चैत २०७४ सम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ पुगेका छन् ।

९ महिनामै २० प्रतिशतग्राहक बढे

चालू आर्थिक वर्षको ९ महिनामा मात्रै कम्पनीका इन्टरनेट प्रयोगकर्ता संख्या २० दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । असार मसान्त २०७४ सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक ८४ लाख २५ हजार ८ सय ९४ थिए । १ चैत ०७४ मा १ करोड १ लाख ५४ हजार पुगेका छन् ।

भरेज विस्तार र गुणस्तर सुधारबाटै अगाडि भएका हौँ
 सोभन अधिकारी
सहप्रवक्ता, नेपाल टेलिकम

कम्पनीले पछिल्लो समय दुर्गम तथा ग्रामीण क्षेत्रमा नेटवर्क विस्तारमा तीव्रता र गुणस्तर सुधारमा निकै नै जाड दिएको छ । त्यससँगै, पछिल्लोपटक सिमकार्ड वितरण प्रणालीमा व्यापक सुधार गरेका छौँ ।
क्याम्पेनिङले बढ्ने/घट्ने भइरहन्छ

प्रणयराज आचार्य
कर्पोरेट निर्देशक, एनसेल
सिम बिक्रीका लागि विभिन्न समयमा क्याम्पेन सञ्चालन गरिएको हुन्छ । त्यस्ता क्याम्पेन बन्द हुँदा ग्राहक घटेको देखिनु स्वाभाविकै हो । त्यसबाहेक पछिल्लोपटक हामीले पर्यटकलाई लक्षित गरी सिम वितरण गरेका थियौँ । ती पर्यटकले देश छोडेसँगै ग्राहक संख्या कम देखिएको  हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु