विमान दुर्घटनामा मृत्यु हुने ११० पुगे - Naya Patrika
eNaya Patrika
  • ePaper

विमान दुर्घटनामा मृत्यु हुने ११० पुगे

क्युवामा शुक्रबार भएको विमान दुर्घटनामा जीवितै उद्धार गरिएका तीनजनाको पनि उपचारका क्रममा निधन भएको छ । यससँगै विमान दुर्घटनामा सबै १ सय १० जनाको मृत्यु भएको छ । क्युवाका यातायातमन्त्री अब्देल येजक्विर्दोले दुर्घटनामा गम्भीर घाइते तीन महिलाको पनि निधन भएको जानकारी दिए । उनले भने, ‘हामीले कसैलाई पनि बचाउन सकेनौँ ।’ विमानमा सवार १ सय १० जनामध्ये ९९ जना क्युवाली नागरिक, ६ जना मेक्सिकोका र ११ जना विदेशी थिए । दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ । भेटिएको ब्ल्याक बक्सका आधारमा अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

आइतबार अपराह्नसम्म १५ जनाको मात्र सनाखत भएको छ । मृत्यु भएका व्यक्तिहरूको सम्झनामा सरकारले दुई दिन शोक मनाउने भएको छ । क्युवाले आइतबार र सोमबार मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको क्युवाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वराष्ट्रपति राहुल क्यास्ट्रोले बताए ।

क्युवाको राष्ट्रिय ध्वजाबाहक कम्पनी ‘क्युवना दे एभिएसन’ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एयरसँग भाडामा लिएर चलाउँदै आएको ४० वर्ष पुरानो बोइङ ७३७ विमान विमानस्थलबाट उडेको केही मिनेटमा नै भुइँमा खसेको थियो । हवानास्थित जोस मार्टी विमानस्थलबाट पूर्वी होलगुइका लागि उडेको सो विमान जमिनमा धसिएपछि आगो लागेको थियो । शनिबारको दुर्घटना क्युवामा सन् १९८० को दशकयता पहिलो ठूलो दुर्घटना हो । यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ । दुर्घटनाका कारण क्युवाली परिवारका सदस्य मात्र नभएर सिंगो देश नै शोकमा डुबेको छ ।

 

तपाईको प्रतिक्रिया