साइबर क्राइम बिमा जारी गर्न हिचकिचाउँदै कम्पनी - Naya Patrika
eNaya Patrika
  • ePaper

साइबर क्राइम बिमा जारी गर्न हिचकिचाउँदै कम्पनी

०७४ कात्तिकमा एनआइसी एसिया बैंकको स्विफ्ट सर्भर ह्याक भयो । तत्पश्चात् बैंक तथा वित्तीय संस्थाहरूले साइबर सुरक्षाको विषयमा चासो देखाउन थाले । बिमा समितिले पनि कम्पनीहरूलाई सुरक्षासम्बन्धी सचेत गराउँदै यससम्बन्धी बिमा योजनाको संरचना तयार पार्न निर्देशन दियो । केही कम्पनीले बिमा योजना समितिमा प्रस्ताव पनि गरे ।

तर, ती पोलिसीले प्रदान गर्ने सुरक्षा र भुक्तानीको अवस्थाका विषयमा समिति आश्वस्त नभएपछि समितिले त्यस्ता योजना पारित गरेको छैन । अहिले साइबर सुरक्षासम्बन्धी पोलिसी निर्माण गर्न समिति आफैँले अनुसन्धान गरिरहेको समितिले जानकारी दिएको छ ।

बिमा समितिले साइबर सुरक्षासम्बन्धी बिमा योजनाको खाका ल्याउन आह्वान गरे पनि बिमा कम्पनीहरू त्यति उत्साहित देखिएका छैनन् । नेपालमा साइबर क्राइमसम्बन्धी आवश्यक कानुन तथा प्रविधिको उपलब्धता नभएकाले कम्पनीहरू बिमा यस्तो योजना सञ्चालन गर्न निरुत्साहित देखिएका हुन् ।

 कम्पनीहरू पर्ख र हेरको अवस्थामा छन्
अन्य बिमाको तुलनामा साइबर क्राइम बिमा योजना महँगो हुन्छ । सोही कारण पनि नेपाली परिवेशमा यसलाई कसरी उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा कम्पनीहरू छलफलकै अवस्थामा रहेको आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले बताए । ‘यो योजनाप्रति सबै कम्पनीको उत्तिकै चासो छ । तर, नयाँ भएकाले कस्तो संरचनामा ल्याउने भन्नेमा द्विविधा देखिएको हो । अहिले सबै कम्पनीहरू पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने । नयाँ र जोखिमयुक्त पोलिसी भएकाले सबै कम्पनीहरू योजना जारी गर्न हिचकिचाइरहेका छन् ।

के हो साइबर क्राइम बिमा
इन्टरनेटको माध्यमबाट हुने घटनालाई सुरक्षण गर्ने बिमालाई नै साइबर क्राइम बिमा भनिन्छ । यस बिमाले साइबरबाट हुने कुनै पनि खालका जोखिमलाई सुरक्षित गर्ने काम गर्छ । इन्टरनेट प्रयोग गर्ने व्यक्ति वा संस्थाले सम्भावित जोखिमलाई काम गर्न यो बिमा खरिद गर्न सक्छ । अन्य मुलुकमा यो बिमा सञ्चालन भए पनि नेपालमा भने हालसम्म यस्तो खालको बिमा योजना सञ्चालन भएको छैन ।

एक्सपेरिट्सको आकर्षक सुविधा
भारतीय पुनर्बिमा ब्रोकर कम्पनी एक्सपेरिट्स नेपाली बिमा कम्पनीहरूलाई साइबर क्राइम बिमासम्बन्धी आकर्षक सेवासुविधा दिने भएको छ । कम्पनीले काठमाडाैँमा गरेको एक कार्यक्रममा साइबर क्राइमसम्बन्धी बिमा योजना जारी गर्न आवश्यक सबै खालको सेवा प्रदान गर्ने बताएको छ ।

भारतीय पुनर्बिमा ब्रोकर कम्पनी एक्सपेरिट्सले बिमा कम्पनीहरूलाई प्राविधिक सेवा, बिमा योजना निर्माण, जोखिमको मूल्यांकन, दाबी भुक्तानीलगायतका कार्यमा सहयोग प्रदान गर्ने बताएको छ । एक्सपेरिट्सले बिमा गर्नुपूर्व नै बिमित कम्पनीको साइबर जोखिमको अध्ययन गर्नेछ । अध्ययनपछि आवश्यकताअनुसार अफसाइड र अनसाइड निरीक्षणसमेत गर्नेछ ।

निरीक्षणका क्रममा कुनै समस्या देखिएमा बिमित कम्पनीलाई सूचित गर्नेछ । त्यस्तै, बिमा कम्पनीलाई बिमितको जोखिमका बारेमा जानकारी गराउने, बिमा योजना बनाउने तथा भुक्तानी गर्ने प्रक्रियामा समेत आवश्यक प्राविधिक सहयोगसमेत गर्ने कम्पनीले बताएको छ । यसका अतिरिक्त कम्पनीले दाबी परेको अवस्थामा सर्भेयरलाई समेत सहयोग गर्नेछ ।

प्राविधिक विज्ञको अभाव
साइबर क्राइम बिमा आवश्यक भए पनि कस्तो पोसिली बनाउने भन्नेमा कम्पनीहरूमा अन्योल रहेको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए । ‘साइबर क्राइमभित्र कस्ता–कस्ता खालका जोखिम पर्छन् । यसलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने ज्ञान भएको प्राविधिकको अभाव छ,’ उनले भने, ‘त्यसैले कस्तो खालको योजना बनाउने भन्ने विषयमा कम्पनीहरू अलमलमा छन्,।’

नेपाल तयार रहनुपर्छ
विश्वमा साइबर क्राइमका घटना बढ्दै गएकाले नेपालले पनि सावधानीका उपाय अपनाउनुपर्ने एक्सपेरिट्स पुनर्बिमा ब्रोकर कम्पनीका प्रवद्र्धक सुधीर गुडलले बताए । ‘भारतमा दैनिक यस्ता घटना घट्न थालेका छन् । नेपालमा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ । त्यसैले नेपाल पनि तयार रहनुपर्छ,’ उनले भने ।

 तत्काल आवश्यक छ साइबर बिमा
नेपालीको बजारमा साइबर क्राइम बिमा तत्काल आवश्यक रहेको नेपाल पुनर्बिमा कम्पनीका उपमहाप्रबन्धक दामोदर भण्डारीले बताए । ‘यो बिमाले व्यक्तिगत, संस्थागतदेखि सबै खालका साइबर जोखिमलाई सुरक्षण गर्न सक्छ,’ उनले भने ।

साइबर सुरक्षा बिमामा ब्रोकरको चासो
एनआइसी एसिया बैंकको घटनापछि विदेशी पुनर्बिमा ब्रोकरहरूले नेपालमा साइबर सुरक्षासम्बन्धी सेवा सञ्चालन गर्न चासो देखाएका छन् । तर, नेपालका बिमा कम्पनीहरू भने जोखिम बढी हुने भन्दै पोलिसी सञ्चालन गर्न अनिच्छुक देखिएका छन् ।

तपाईको प्रतिक्रिया