logo

bar

पाँचथरमा सार्वजनिक अपराधकाे घटना बढ्यो

सरोज शर्मा/नयाँ पत्रिका पाँचथर, ४ जेठ | जेठ ०४, २०७५

सुरक्षाको दृष्टिमा देशका अन्य जिल्ला मध्ये पाँचथर सामान्य जिल्लामा पर्छ । तर पनि बर्षेनि जिल्लामा सार्वजनिक अपराधको संख्यामा भने वृद्धि भइरहेको छ । गएको तीन बर्षको तथ्याङ्कलाई हेर्ने हो भने सार्वजनिक अपराध बढेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय पाँचथरमा सुरक्षित छ । प्रहरीका अनुसार आपराधिक घटनाको तथ्याङकमा सार्वजनिक अपराध धेरै आउने गर्छ ।

प्रहरीका अनुसार ०७२/०७३ मा ४२ वटा घटना दर्ता भएकोमा त्यसको एक बर्ष पछि घटना बढेर ६० पुगेको थियो । गत बर्ष मात्रै त्यो संख्या बढेर ९९ पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।

अन्य आपराधिक घटनाको तुलनामा संख्यामा केही बढी देखिएको हो । प्रमुख गौतमले भने–‘यसलाई सुरक्षाको हिसाबमा कमजोर भन्न मिल्दैन, पाँचथर यसैमा शान्त जिल्ला हो ।’ तीन बर्षको तथ्याङ्क हेर्दा कर्तव्य ज्यान मुद्धामा समेत बृद्धी भएको देखिएको छ । तीन बर्षको तथ्यांक हेर्दा आर्थिक बर्ष ०७२÷०७३ मा ४ घटना दर्ता भएकोमा त्यसको एक बर्ष पछि ११ घटना प्रहरी सामु आए । आर्थिक बर्ष ०७४÷०७५ को यो १० महिनाको अवधिमा ४ घटना दर्ता भइसकेका छन् ।

सार्वजनिक अपराधपछि सबैभन्दा बढी जिल्लामा आत्महत्याको क्रम बढी देखिएको छ । आर्थिक बर्ष ०७२/०७३ मा जिल्लामा दुई दर्जन बढीले आत्महत्या गरे । त्यसमा झुण्डिएर आत्महत्या गर्नेको संख्या मात्रै २० छ । त्यसको एक बर्ष पछि जिल्लामा ४४ जनाले झुण्डिएर आत्महत्या गरे । आर्थिक बर्ष ०७४/०५७ को १० महिनाको अवधिमा २५ जनाको ज्यान गइसकेको छ ।

तीन बर्षे अपराध तथ्याङकमा जबरजस्ती करणीका घटना समेत उल्लेख्य छन् । आर्थिक बर्ष ०७२/०७३ मा ८ घटना भएकामा ०७३÷०७४ मा बढेर ११ पुग्यो । आर्थिक बर्ष ०७४/०७५ को १० महिनाको अवधिमा १२ घटना दर्ता भइसकेका छन् । त्यस बाहेक भबितब्य ज्यानका गएको तीन बर्षमा क्रमस २२, ३३ र २९ घटना दर्ता देखिन्छ ।

सो अवधिमा ज्यान मार्ने उद्योग अन्तरगतका अपरधमा भने कमी आएको प्रहरीको भनाई छ । तीन बर्षको अवधिमा क्रमस ८, ४ र २ घटना भएका छन् । गएको तीन बर्षमा आर्थिक बर्ष ०७२/०७३ मा १ सय ४८ अपराधका घटना भए । त्यसको एक बर्ष सम्ममा २ सय ३१ घटना सार्वजनिक भए । चालु आर्थिक बर्षको यो १० महिनाको अवधिमा २ सय २० घटना सार्वजनिक भइसकेका छन् । यो तथ्याङ्क प्रहरीमा संकलन भएको तथ्याङ्क हो ।

प्रहरीसम्म आइनपुगेका अन्य थुप्रै घटनाहरु सामाजमा रहेको जानकरहरुको भनाइ छ । आपराधिक घटनामा वृद्धि हुनुलाई समाज कता जाँदैछ भन्ने बिषयसंग जोडेर चेतनामुलक क्षेत्रमा लगानी बढाउनु पर्ने नागरिकको माग छ ।

तपाईको प्रतिक्रिया