logo

bar

एक रुपैँया किलोमा पनि बिकेन गोलभेँडा

रासस कञ्चनपुर, ३ जेठ | जेठ ०३, २०७५

ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।
ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा प्रतिकिलो रु एकका दरले पनि बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । ५० हजार रुपैंयामा ऋण गरेर गोलभेँडा खेती गरेर १० हजारमा मात्रै बिक्री भएको भरतबहादुर चौधरीले बताए ।

‘एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन’ उनले भने, ‘खेतमा गोलभेँडा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको छ ।’
गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न समस्या भएको र अन्य स्थानबाट व्यवस्था गर्नुपर्ने उनी बताउँछन् ।
गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी पनि मारमा परेकीछन् । गतवर्ष गोलभेँडा खेतीबाट तीन लाख रुपैंयाभन्दा बढी आम्दानी गरेकी चौधरी यसवर्ष मुस्किलले ३० हजार मात्रै कमाएको बताउँछिन् । उनको दुई लाखभन्दा बढी मूल्यको गोलभेँडा खेतमै कुहिएको छ ।

किसानले लगाएको गोलभेँडा बिक्री नहँुदा पाँच लाखभन्दा बढीको घाटा भएको छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानलाई बजारको समस्या भएको बताए । ‘तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन’, उनले भने, ‘भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ ।’

तपाईको प्रतिक्रिया