logo

bar

संगीतमा सफल विज्ञानका विद्यार्थी

नयाँ पत्रिका काठमाडौं, ३ जेठ | जेठ ०३, २०७५

असफलतामा परिस्थितिलाई दोष दिनेहरू धेरै भेटिन्छन् । गरिबीका कारण भनेजस्तो पढ्न नपाएको, आर्थिकअभावले सोचेजस्तो लगानी गर्न नपाउँदा मालामाल हुन नसकेको वा देशको सिस्टमका कारण असफलता भोग्नुपरेको गुनासो प्रायः सुन्नमा आउँछन् ।

 निम्न मध्यमवर्गीय परिवारमा हुर्किएर पनि इच्छाशक्ति र मिहिनेत गर्ने हो भने जस्तोसुकै सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन्, शिव सुवेदी । उनको परिचय उदीयमान वैज्ञानिकका रूपमा मात्रै सीमित छैन, त्योभन्दा पहिलो परिचय उनी लोकप्रिय गीतकार हुन् ।

फिजिक्समा मास्टर्स डिग्री गरेका गीतकार सुवेदीले फ्रान्सको पेरिसबाट जियो फिजिक्समा अर्को मास्टर्स गरे भने अहिले उनी स्विट्जरल्यान्डबाट सेस्मोलोजीमा मास्टर्स गर्दै छन् । भन्छन्, ‘मेरो अध्ययनले केही समयपछि भूकम्पविज्ञ बनाउँदै छ ।’

एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गर्नु उनका लागि वरदान थियो कि अभिषाप ? केही समयअघिसम्म यो प्रश्न उनैको मनमा खेलिरहन्थ्यो । विज्ञान विषयका होनाहार विद्यार्थी बनेर अहिले उनी एसएलसीको परिणाम वरदान थियो भन्ने निष्कर्षमा पुगेका छन् ।

पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गर्नेले विज्ञान विषय, दोस्रो श्रेणीमा गर्नेले व्यवस्थापन र त्यसपछि मानविकी वा शिक्षा संकाय अध्ययन गर्नुपर्छ भन्ने साँघुरो मानसिकता अझै पनि कतिपय अभिभावकमा देखिन्छ । यो मानसिकता गीतकार सुवेदीको परिवारमा नहुने कुरै भएन । परिवारकै सल्लाहबमोजिम आइएससी, बिएससी अध्ययन गर्दै जाँदा उनी छिट्टै सेस्मोलोजिस्ट अर्थात् भूकम्पविज्ञका रूपमा आफूलाई उभ्याउँदै छन् ।

नेपालमा तीन वर्षअघि गएको शक्तिशाली भूकम्पपछि उनीभित्र सिस्मोलोजिस्ट बन्ने चाहना पलायो । उनले छात्रवृत्तिमा विदेशमा गएर अध्ययन गर्ने मौका पाए ।

पढाइ जता भए पनि उनको जीवनको मुख्य पाटो गीतसंगीततर्फ अल्झिएको छ । नेपाली लोक तथा दोहोरीमा दर्जनाैँ चर्चित गीत सिर्जना गरेका छन् । ‘कल्पनामा भए नि देख्छु भनेको’, ‘घामजस्तो चम्किलो जून हुँदैन’, ‘भूमरीमा परेँ भने म’,

‘घामले नि पोल्दियो, जुनले नि जाडो भो’लगायत दर्जनभन्दा बढी उनका सिर्जना लोकप्रिय छन् । शब्द मात्र नभएर संगीतमा समेत अब्बल ठहरिँदै गएका गीतकार सुवेदी पछिल्लो समय भने अध्ययनमै व्यस्त छन् । ‘विज्ञान र संगीतको तालमेल हुँदैन, एउटा विधामा मात्रै भएको भए अझ राम्रो गर्न सकिन्थ्यो कि भन्ने लाग्दैन ?’ यो जिज्ञासाले उनी गम्भीर बन्छन् । भन्छन्, ‘मलाई पछुतो छैन । संगीत मेरो व्यक्तिगत सोखको विषय हो ।

यसमा निरन्तर रहिरहनेछु । विज्ञान मेरो अध्ययन र अब प्रोफेसनको क्षेत्र बन्दै छ ।’अरूको सफलतामा उत्सव मनाउनेहरू धेरै भेटिन्छन्, समाजमा । आगो बाल्न दुःख गर्नेभन्दा बलेको आगो ताप्न तम्सिने पनि उत्तिकै भटिन्छन् । कुनै दिन गीत–संगीतमा लाग्दा कुरा काट्ने त्यही समाज अहिले भने गीतकार सुवेदीलाई सम्मान गर्छ । अध्ययन विज्ञानतर्फ, तर रुचि संगीततर्फ भए पनि गीतकार सुवेदीले आफूलाई दुवैतिर बराबर रूपमा उभ्याइरहे । त्यसैले त उनी दुवै क्षेत्रमा सफल बन्दै  गएका छन् ।

‘विज्ञानले यथार्थलाई विश्वास गर्छ । सत्य र यथार्थ जे हो त्यही विज्ञान हो । तर, संगीत भनेको भावना, कल्पना, भविष्यवाणी अर्थात् असम्भव कुराको समेत संयोजन हो ।’

संगीतमा रुचि छ भन्दैमा संगीतक्षेत्रकै अध्ययनमा लाग्नुपर्छ भन्ने पक्षमा छैनन्, सुवेदी । मानिसको पाइला जता मोडिए पनि सिर्जनाशक्ति छ भने कुनै न कुनै माध्यमबाट प्रस्तुत हुने विश्वास छ, उनमा । त्यसैले उनी चाहे पेरिस पुगून् वा स्विट्जरल्यान्ड, अर्थात् पर्वत जहाँ गए पनि फुर्सद हुनेबित्तिकै सिर्जनशील बनिदिन्छन् । त्यसैले त उनको यो भनाइ पत्यारलाग्दो छ कि– ‘जहाँ भए पनि संगीत सिर्जनालाई निरन्तरता दिन्छु ।’

कृष्ण कट्टेल

तपाईको प्रतिक्रिया