१ सय ६८ किलो गाँजा बरामद, २ जना पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

१ सय ६८ किलो गाँजा बरामद, २ जना पक्राउ

मकवानपुर प्रहरीले १ सय ६८ केजी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले बरामद गाँजा र पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको हो ।

पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपलिका–४ बाट स्थानीय सुदीप कोईरालालाई १ सय ५० केजी गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । कोइरालाले लागुऔषध गाँजा बिक्री वितरण गर्दै आएको विशेष सूचनाका आधारमा छापा मार्दा गोठको माथिल्लो तलामा लुकाई राखेको गाँजा बरामद गरेको र कोइरालासँगै अर्का स्थानीय रामकृष्ण ब्लोनलाई १८ केजी ८ सय ग्राम गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक प्रवक्ता मधु थापाले जानकारी दिए ।

ब्लोनको घर खानतलासी गर्दा दुई वटा बोरामा लुकाई राखेको गाँजा फेला परेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । उनीहरु मध्ये ब्लोनलाई नियन्त्रणमा लिने क्रममा हवाइ फायरसमेत गर्नु परेको थापाले बताए । उनले पक्राउ परेकाहरुको बिषयमा थप अनुसंधान जारी रहेको जानकारी
दिए ।

अब मेसिनले गाँजा फाँड्ने
मकवानपुरले प्रहरीले वर्षेनी गाँजा खेती फाँड्दै आएको छ । जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकामा बढी उत्पादन हुने गाँजा फाँड्न वर्षेनी प्रहरीको टोली लठ्ठी बोकेर गाउँ छिर्ने गरेको थियो । अब प्रहरीले मेसिनबाट गाँजा फाँड्ने जनाएको छ । प्रहरीले दुई वटा गाँजा काट्ने मेसिन ल्याएको छ । लागूऔषध नियन्त्रणका लागि प्रहरीले यस्तो मेसिन ल्याएको जनाएको छ ।

‘अब गाँजा फडानीमा पहिलेको जस्तो जनशक्तिको समस्या पर्दैन’, उनले भने, ‘एउटा मेसिनले २० जना बराबरको काम गर्छ ।’

मकवानपुरलाई लागूऔषध मुक्त बनाउने लक्ष्यका साथ गाँजा खेती निर्मुल पार्न उक्त मेसिन ल्याइएको एसपी श्रेष्ठले बताए । ‘अब गाँजा फाड्न प्रहरी कार्यालय नै रित्तो बनाएर जनशक्ति गाउँ पठाउनुपर्दैन’, उनले भने, ‘गाँजा फडानीमा जनशक्ति कम प्रयोग हुने भएपछि अन्य क्षेत्रको सुरक्षा पनि मजबुत हुन्छ ।’

तपाईको प्रतिक्रिया