logo

bar

जेठको दोस्रो साता ११ औं सिउरुङ महोत्सव हुने

शान्ता कमली लमजुङ | जेठ ०२, २०७५

अन्नपूर्ण पदमार्गमा पर्ने पर्यटकीय गाउँ सिउरुङमा जेठको दोस्रो साता ११ औं सिउरुङ महोत्सव हुने भएको छ ।

बुधबार सदरमुकाम बँेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवको बारे जानकारी गराइएको हो । मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ औं सिउरुङ महोत्सव हुने भएको हो । स्थानीय कला संस्कृतिको संरक्षण र संबद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि ११ जेठदेखि १३ सम्म महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

ग्रामिण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक नन्द घलेले बताए ।

‘घाटु, रोधी, हाम्रो संस्कृति, सिउरुङ महोत्सवमा जाउँ, आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा सहभागी होऔँ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीहरुका साथै हस्तकलाका सामग्रीको प्रदर्शन गरिने छ ।

महोत्सवमा अर्गानिक खानाका परिकार, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, ऊन र धागोवाट निर्मित झोला, पछ्यौरा लगायतका सामग्रीहरुको प्रदर्शन गरिने महोत्सव मुल आयोजक समिति तथा सिउरुङ ग्रामीण पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताए ।

सिउरुङ गाउँलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा प्रचारप्रसार गर्ने, अन्नपूर्ण पदयात्राको नयाँ वैकल्पिक मार्गका रुपमा प्रवद्र्धन गर्ने, गुरुङ संस्कृति र जनजीवनको संरक्षण र प्रवद्र्धनका साथै स्थानीय स्रोतसाधन, सीप तथा कृषि उत्पादनको विकास गरी गरिबी तथा बेरोजगारी हटाउने महोत्सवको प्रमुख लक्ष्य रहेको संयोजक घलेले बताए ।

महोत्सवको पहिलो दिन अर्थात् ११ गते सांस्कृतिक कार्यक्रम, मस्र्याङ्दी गाउँपालिका वडा स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति लगायत कार्यक्रम रहेको छ ।

त्यस्तै, १२ गते दृश्यावलोकन साथै गुम्बा, तमु संग्रालय, विभिन्न मन्दिरको अवलोकन एवं स्थानीय खाना र अन्य गुरुङ लोक सांस्कृतिक कार्यक्रम, हस्तकला तथा जडिबुटी प्रदर्शनी गरिने भएको छ ।

महोत्सवको अन्तिम दिन १३ गते राष्ट्रिय तथा स्थानीय कालकारहरुको प्रस्तुती रहने बताइएको छ ।
सिउरुङ गाउँमा १७ घरमा होमस्टे सञ्चालन गरिएको छ । ०६५ सालबाट सिउरुङमा होमस्टे सुरु गरिएको हो । सिउरुङ गाउँमा १ सय २० घरधुरी रहेका छन् । गाउँकै सामुन्ने ऐना जस्तै गरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुली, लगायतका हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । बेंसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ होमस्टेमा पुग्नलाई २४ किलोमिटर जिपमा पार गर्नपर्छ । मोटरबाटो पुगेपनि गुणस्तरीय सडक नहुँदा सिउरुङबासी र पर्यटकले समस्या झेल्न बाध्य छन् । ०६२ सालदेखि सिउरुङमा सिउरुङ महोत्सवको आयोजना गरिँदै आएको छ ।

समुन्द्री सतहदेखि करिब १ हजार ८ सय ५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङ पुग्न सदरमुकाम वेंसीशहरवाट एकदिन लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिउरुङ गाउँमा गुरुङ जातिको घना वस्ती छ ।

तपाईको प्रतिक्रिया