logo

bar

एकता टुंग्याउन ओली–प्रचण्डको कसरत, दुवै पार्टीका बैठक बस्दै

सन्तोष भट्टराई काठमाडौं | जेठ ०२, २०७५

पार्टी एकतालाई मुर्तरुप दिन एमाले र माओवादी केन्द्र सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको दुई पार्टीका अध्यक्षको एकान्त वार्तामा तत्काल दुवै पार्टीका बैठक बोलाएर एकतालाई निश्कर्षमा पुर्‍याउने सहमति भएको छ ।

बैठकको सहमति अनुसार एमालेले बुधवार अपराह्न ४ बजे स्थायी समितिको बैठक बोलाएको छ भने त्यही समय माओवादी केन्द्रको पनि हेडक्वार्टर बैठक बस्दैछ । एकतालाई अनुमोदन गर्न एमालेले बिहिवार केन्द्रीय समितिको आकस्मिक बैठक समेत बोलाएको छ ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले बुधवार अपराह्न स्थायी समिति र बिहिवार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको पुष्टि गरे । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले माओवादी केन्द्रले बुधबार अपराह्न ४ बजे हेडक्वार्टर बैठक बोलाएको जानकारी दिए ।
ओली–प्रचण्डले पार्टी एकताका सांगठनिक र वैचारिक विषय हल गर्न बनेका दुई कार्यदलको प्रतिवेदन मिहिन ढंगले अध्ययन गरेको र आजको एकान्त वार्ताबाट प्रतिवेदनमा टुंगिन बाँकी विवादित विषयमा सहमति कायम गरेको श्रोतले बताएको छ ।

दुई अध्यक्षको एकान्तवार्ता बसेको करिब एक घण्टापछि दुवै पार्टीबाट एकएक जना दोश्रो तहका नेतालाई राखेरसमेत छलफल भएको थियो । छलफलमा एमालेबाट विष्णु पौडेल र माओवादी केन्द्रबाट जनार्दन शर्मा उपस्थित रहेका थिए ।

एक महिनाअघि एमाले नेता माधव नेपाल नेतृत्वको वैचारिक–राजनीतिक कार्यदल र माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको सांगठनिक कार्यदलले बुझाएको प्रतिवेदनमा देखिएका विवादित विषय टुंग्याउने जिम्मा संयोजन समितिले दुई अध्यक्षलाई दिएको थियो ।

ओली–प्रचण्डबीच को एकान्तवार्तामा दुवै पार्टीको बैठकबाट एकताका लागि ६ जेठको प्रस्ताव अनुमोदन गराउने सहमति भएको थियो । सोहि मितिलाई बिहीबार विहान १० बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गर्नेछ ।

ओलीको प्रेस सल्लाहकार चेतन अधिकारीका अनुसार एमालेको स्थायी समितिको बैठक डाकिएको छ भने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार पार्टी केन्द्रिय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु