logo

bar

सुनसरीमा वैज्ञानिक वन व्यवस्थापन सुरु

देबेन्द्र कार्की धरान, १ जेठ | जेठ ०२, २०७५

सुनसरीमा वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको छ । जिल्लामा नै पहिलो पटक यसै वर्षदेखि सुरु भएको वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वनहरुमा सरकारले सुरु गरेको हो । जिल्लाको उत्तरी क्षेत्रमा रहेका पाँचकन्या सामुदायिक वन र पानवारी सामुदायिक वनबाट सुरु गरिएको हो । वैज्ञानिक वन व्यवस्थापनको काम अर्काे वर्ष अन्य सामुदायिक वनमा समेत विस्तार हुने सहायक वन अधिकृत सुरज निरौलाले जानकारी दिए ।

यसैवर्ष राष्ट्रिय वनको रुपमा रहेको धरान चक्ला वनमा समेत वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भइसकेको छ । कार्यक्रम अन्तर्गत यसवर्ष भित्र पाँचकन्या सामुदायिक वनमा चार हेक्टर क्षेत्रफलमा रहेको वर्किङ युनिट (निश्चित क्षेत्रफल)मा काम गर्ने पाँचकन्या सामुदायिक वनका अध्यक्ष कर्णबहादुर कार्कीले बताए ।


पाँचकन्या सामुदायिक वनमा कुकाठ तथा काठको प्रयोजनमा नआउने प्रजातीका रुखहरु धेरै रहेकाले वैज्ञानिक वन व्यवस्थापनको कामले वनको उत्पादन क्षमता बढ्ने सेक्टर वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामा बताउँछन् । यसवर्ष काम गर्नेे वर्किङ युनिटमा भएका त्यस्ता रुखहरु हटाएर साल प्रजातिको रुखको विउ छरेर विरुवा बढाउने वन कार्यालयको योजना रहेको लामाले बताए ।

वैज्ञानिक वन व्यवस्थापन गर्दा ८० वर्षको चक्रमा एउटा वनलाई व्यवस्थापन गरिन्छ । पाँचकन्या सामुदायिक वनको सम्पूर्ण क्षेत्रलाई एउटा कन्पार्टमेन्ट मानेर ८ वटा सव– कम्पाटमेन्ट र एउटा सव कम्पाटमेन्टलाई १० वटामा छुट्याएर जम्मा ८० वटा वर्किङ युनिट बनाइएको लामाले बताए । सबै युनिटलाई प्रत्येक वर्ष एक वर्किङ युनिटमा पुनउत्पादन कटान कार्य गरिने योजना रहेको छ । पाँचकन्या वनमा व्यवस्थापनका लागि सरकारले ५ लाख सहयोग गरेको र अन्य खर्च सोही काठ तथा दाउरा विक्री गरी गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया