logo

bar

नेपाली सेनाको उपहार गाउँमै अस्पताल

मनीष खड्का/नयाँ पत्रिका रुकुम पश्चिम | जेठ ०२, २०७५

रुकुम (पश्चिम)को त्रिवेणीका बासिन्दाका लागि नेपाली सेनाले अस्पताल भवन बनाएको छ । सेनाले नवनिर्मित भवनलाई मंगलबार एक कार्यक्रमबीच स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।

सेनाको देवी दल गण, सस्लेले त्रिवेणी गाउँपालिका–३ खारानेटामा अस्पताल भवन बनाएको हो । पाँच शैय्याको अस्पताल भवन निर्माणमा एघार लाख रुपैयाँ लागेको सेनाले जनाएको छ । भवन निर्माणमा स्थानीय बासिन्दा र सेनाले श्रमदान पनि गरेका थिए ।

सामान्य स्वास्थ्य उपचार गर्न पनि टाढा जान नपरोस् भनेर अस्पताल भवन बनाएको देवी दल गणका गणपति पंकज रावलले बताए । नागरिक र नेपाली सेनाबीच सम्बन्ध सुमधुर बनाउनु पनि उद्देश्य हो’ गणपति रावलले भने । नागरिकसँगको सम्बन्ध स्थापित मजबुत बनाउनका लागि सेनाले धारा निर्माण, मुहान संरक्षण, विद्यालय भवन मर्मतलगायतका काम गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीलाई अस्पताल हस्तान्तरण गर्दै उत्तर–पश्चिम पृतना हेडक्वाटरका पृतनापति कर्मेन्द्र बिक्रम लिम्बुले छिट्टै स.चालनमा ल्याउन आग्रह गरे । ‘गाउँपालिकाले छिट्टै संचालनमा ल्याओस, यसको दीगोपनका लागि सहयोग गर्न तत्पर छौं’ उपरथि लिम्बुले भने ।

छिट्टै संचालन हुने
सेनाले निर्माण गरेर हस्तान्तरण गरेको भवनमा छिट्टै अस्पताल संचालन गरिने गाउँपालिका अध्यक्ष घतीले बताए । यसका लागि आवश्यक जनशक्ति र सामग्रीको व्यवस्था गरेर केही दिनमै संचालनमा ल्याइने उनको भनाइ छ ।

‘ल्याबमा काम गर्ने सहितका केहि जनशक्तिको व्यवस्था गरिसकेका छौं, थप जनशक्ति र औषधिको व्यवस्था गरेर संचालन गर्छौ’ अध्यक्ष घर्तीले भने । त्रिवेणी गाउँपालिकाले औषधि र आवश्यक सरसामान खरिद गर्ने निर्णय गरिसकेको छ ।

जग्गादान गर्ने सम्मानित
अस्पताल भवन निर्माणका लागि स्थानीय धनसरी खड्का ओली र रामसिंह सुनारले जग्गादान गरेका थिए । दुवै जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । अस्पतालका लागि जग्गादान गर्न पाएको उनीहरुले खुशी जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु