logo

bar

खुलेन मटिहानीका दुई हत्याकाण्डको रहस्य

रञ्जन भण्डारी/नयाँ पत्रिका महोत्तरी, २ जेठ | जेठ ०२, २०७५

डेढ महिनाको अन्तरमा मटिहानी नगरपालिकामा भएको दुई हत्याको रहस्य अझै खुल्न सकेको छैन । गत ५ फागुनमा मटिहानी–७ का रमेश ठाकुरको र २१ चैतमा मटिहानी–४ वरदाहाकी पुनमदेवी दासको शव फेला परेको थियो ।

ठाकुरको शव मटिहानी–७ स्थित पानीट्यांकीको गेटमै बीभत्स अवस्थामा भेटिएको थियो । उनको सैलुन थियो । राति करिब ८ बजे पसल बन्द गरेर बुबा गणेश ठाकुरसँगै उनी घर जान निस्किएका थिए । तर, उनी बुबालाई बाटोमै छाडेर रक्सी खान भट्टी पसेका थिए ।

रक्सीले मातेपछि उनी राति गाउँमै विवाहमा गएर जन्तीसँग नाचेका थिए । त्यसपछि उनलाई कसैले देखेन । राति नै आमा प्रमिला र श्रीमती गीता उनलाई खोज्दै मटिहानी बजारसम्म आए पनि नभेटेपछि फर्किएका थिए ।

भोलिपल्ट ५ फागुनमा छिमेकीले उनको शव पानीट्यांकी गेटमा देखेपछि परिवारलाई खबर गरेका थिए । प्रहरीले अझै उनको हत्यारा पत्ता लगाउन सकेको छैन । ठाकुरका चार सन्तान, श्रीमती, बाबु र आमा उनीमा नै आश्रित थिए ।

स्थानीयका अनुसार ठाकुरको टाउको र शरीरभरि रगत लत्पतिएको थियो । टाउको र अनुहारमा दर्जनौँपटक ढुंगा वा बोतलजस्तो कुनै कडा वस्तुले हानेको पाइएको प्रहरीले जनाएको छ । उनको टाउकोबाट गिदीसमेत निस्किएको थियो ।

उता गत २१ चैतमा जुटको बोरामा कोचिएर फालिएको अवस्थामा मटिहानी–४ वरदाहाका शिवशंकर दासकी २५ वर्षीया श्रीमती पुनमदेवी दासको शव फेला परेको थियो । उनका देवर फुलेन्द्र दासले १९ चैतमा प्रहरीमा भाउजू गहना र पैसा लिएर भागेको जाहेरी दिएका थिए । तर, शव भेटिएपछि देवर र श्रीमान् दुवै फरार थिए ।

प्रहरीले २२ वैशाखमा श्रीमान् शिवशंकर दासलाई पक्राउ गरेको थियो । हत्यामा उनको संलग्नता भएको देखिएको प्रहरीको भनाइ छ । तर, प्रहरीले अझै हत्याको कारण खोल्न सकेको छैन ।

श्रीमान् दास १६ चैतमा मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए । १९ चैतमा पुनम हराएको जाहेरी परेपछि प्रहरीले खोजतलास थालेको थियो । दुई दिनपछि घरभन्दा पाँच सय मिटरमा शव भेटिए पनि स्थानीयले शव सनाखत गरेका थिएनन् ।

पुनमका चार र तीन वर्षका दुई छोरी छन् । आमाको मृत्यु र बाबु पक्राउ परेपछि उनीहरू अभिभावकविहीन भएका छन् ।

प्रहरीले दुवै हत्यामा संलग्नलाई चाँडै पक्राउ गर्ने बताउँदै आएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी दुवै घटनाको छानबिन र हत्यारा खोजबिनमा लागेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु