logo

bar

इलामका सडक निर्माणमा ठेकेदारको लापरबाही

ख्याम भुजेल/नयाँ पत्रिका इलाम, २ जेठ | जेठ ०२, २०७५

डेनमार्कले दिएको सहयोग फिर्ता जाने निश्चित –

डेनमार्क सरकारको सहयोगमा बनिरहेका आठमध्ये ६ सडक ठेकेदार र उपभोक्ता समितिको लापरबाहीले समयमा नै सम्पन्न नहुने निश्चित भएको छ । १५ असारसम्ममा बनाइसक्नुपर्ने ती सडकको आधा काम पनि नभएपछि बजेट फिर्ता जाने भएको छ ।

डेनमार्क सरकारले उन्नति समावेशी वृद्धि कार्यक्रममार्फत लगानी गरेको हो । नेपाल सरकारले थप लगानी नगर्ने सम्झौता भएकाले पूरा नभएका सडक अलपत्र हुने भएका छन् । ‘अहिलेको प्रगति हेर्दा काम नसकिने निश्चित छ, सडक पूरा नभए सरकारले नयाँ बजेट दिँदैन,’ सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले भने, ‘ठेकेदारहरूको लापरबाहीले बन्दै गरेका सडक अलपत्र हुने भए ।’

आठमध्ये फिक्कल–नयाँबजार, बरबोटे–कट्टेबुङ, नेपालटार–पुवामझुवा, जितपुरबजार–साङरुम्बा, देउराली–काल्भोटे र जितपुर–अम्बोटे सडक तोकिएको समयमा नबन्ने भएका हुन् । ती सडक १५ असारपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्नेछ ।

तर, इलामका स्थानीय तहका प्रमुखहरूले अस्तब्यस्त पारिएका सडक जिम्मा नलिने बताएका छन् । ‘बेलामा काम नगरेर अस्तव्यस्त पारेको सडक हामी जिम्मा लिँदैनौ,’ इलाम नगरपालिकाका मेयर महेश बस्नेतले भने, ‘सडक मात्रै होइन, स्रोत पनि जिम्मा लगाउँनुपर्छ, नत्र हामीले मर्मत गर्न गाह्रो छ ।’

दुई वर्षअघि सम्झौता भएको १९ किलोमिटर लामो फिक्कल–नयाँबजार सडक करिब ३० प्रतिशत मात्र काम भएको छ । यो सडक १४ करोड ४६ लाख ३४ हजार रुपैयाँमा नागार्जुन निर्माण कम्पनीलाई ठेक्का दिएको थियो ।

सडकको कल्भर्ट, नाली, ग्याबिन पर्खाल, सबग्रेड र बेस लगाउने काम पूरा भएको छैन । सडक हिलाम्मे हुँदा स्थानीयलाई हिँडडुलमा समेत समस्या भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राईले बताए ।

पाँच किलोमिटर लामो वरबोटे–कट्टेबुङ सडक झन्डै ३५ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । यो सडक दुई करोड ९२ लाख ४१ हजार रुपैयाँमा ठेक्का दिइएको हो । नाली र कल्भर्टको काम पूरा हुन भएको छैन भने पर्खाल बनाउन र ग्राभेल हाल्न थालिएकै छैन ।

नेपालटार–पुवामझुवा सडक निर्माणको काम आधा पनि बनेको छैन । नागार्जुन विष्णु जेभीलाई निर्माणको जिम्मा दिइएको सडकको ग्याबिन लगाउने र कल्भर्ट बनाउने काम पनि पूरा भएको छैन । यो तीन करोड ७९ लाख २२ हजार रुपैयाँमा ठेक्का दिइएको हो ।

पाँच किमि लामो जितपुरबजार–साङरुम्बा–इन्टेक सडक दुई करोड ८९ लाख २२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो । तर, यो सडकमा २३ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर ओमराज ढुंगानाले बताए । यो सडकको ठेक्का विरुवा भगवती जेभीले लिएको छ ।

उपभोक्ता समितिमार्फत निर्माण थालिएको जितपुर–नवमी–अम्बोटे सडकको काम १० प्रतिशत मात्र प्रगति भएको छ । ९४ लाख ९० हजार रुपैयाँमा निर्माण थालिएको सडकमा माटो मात्र काटिएको छ । नाली, पर्खाल, कल्भर्ट र ग्राबेल बिछ्याउन थालिएकै छैन । सो सडकको दोस्रो खण्ड ९७ लाख ७१ हजार रुपैयाँमा ठेक्का दिइए पनि बल्ल माटो काट्न थालिएको छ ।

देउराली–फलाटे–काल्भोटे सडकको काम १५ प्रतिशत मात्रै भएको छ । ७३ लाख ३१ हजार रुपैयाँमा ठेक्का लगाइएको सकडमा नाली र पर्खाल बनाउने, कल्भर्ट हाल्ने र ग्राभेल बिच्छ्याउने काम भएको छैन । सो सडकको अढाइ किलोमिटरको अर्को खण्डमा भने काम सुरु नै भएको छैन । सो खण्ड ९४ लाख ८२ हजार रुपैयाँमा उपभोक्ता समितिमार्फत बनाउन थालिएको हो ।

गाग्रेभञ्ज्याङ–जितपुर–सिथुम्का–सायाक सडकको प्रगति अन्यको तुलनामा राम्रो छ । १२ करोड १२ लाख २३ हजार लगानीमा करिब १७ किलोमिटर सडक निर्माण भइरहेको छ । सडकको ९५ प्रतिशत काम भइसकेको छ । सोही सडकको दोस्रो प्याकजेको ७० प्रतिशत काम भएको छ ।

पाल्टागे–सिद्धिखोला सडकको ८० प्रतिशत काम भएको छ । सो सडक विराट कुँवर जेभीले तीन करोड २४ हजारमा ठेक्का लिएको हो ।

यी हुन् अधुरा सडक
फिक्कल–नयाँबजार सडक : नागार्जुन निर्माण कम्पनीले १४ करोड ४६ लाख ३४ हजारमा ठेक्का लिएको फिक्कल–नयाँबजार सडकमा बजेटको ३१% मात्र  खर्च भएको छ । १९ किमि लामो यो सडक १५ असारसम्ममा  नसकिने निश्चित छ ।

बरबोटे–कट्टेबुङ सडक : पाँच किमि लामो बरबोटे–माझगाउँ–कट्टेबुङ सडकमा करिब ३५% काम भएको छ । दुई करोड ९२ लाख ४१ हजार लगानीमा बनिरहेको सडकमा पर्खाल लगाउन र ग्राभेल हाल्न थालिएकै छैन ।

नेपालटार–पुवामझुवा सडक
नागार्जुन विष्णु जेभीले तीन करोड ७९ लाख २२ हजारमा ठेक्का लिएको नेपालटार–पुवामझुवा सडक आधा पनि काम नगरी अलपत्र छाडिएको छ । पर्खाल लगाउने, कल्भर्ट बनाउने र ग्राबेल हाल्ने काम थालिएकै छैन ।

जितपुरबजार–साङरुम्बा सडक
पाँच किमि लामो जितपुरबजार–साङरुम्बा–इन्टेक सडक दुई करोड ८९ लाख २२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको हो । विरुवा भगवती जेभीले ठेक्का लिएको यो सडकमा २३ प्रतिशत मात्र काम भएको छ ।

जितपुर–अम्बोटे सडक
उपभोक्ता समितिमार्फत ९४ लाख ९० हजारमा निर्माण थालिएको जितपुर–नवमी–अम्बोटे सडकमा १० प्रतिशत मात्र प्रगति भएको छ । यसकै दोस्रो खण्ड ९७ लाख ७१ हजारमा ठेक्का दिइए पनि बल्ल काम थालिएको छ ।

देउराली–काल्भोटे सडक
उपभोक्ता समितिमार्फत ७३ लाख ३१ हजारमा बनाउन थालिएको देउराली–काल्भोटे सडकमा १५ प्रतिशत मात्रै प्रगति भएको छ । सो सडकको अर्को खण्ड ९४ लाख ८२ हजारमा ठेक्का दिइए पनि काममा प्रगति भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु