logo

bar

सुजुकीको नयाँ स्विफ्ट आउँदै

नयाँ पत्रिका काठमाडौं, २ जेठ | जेठ ०२, २०७५

सुजुकी कारको अधिकृत आयातकर्ता सिजी मोटोकर्पले नेपाली बजारमा तेस्रो जेनेरेसनको स्विफ्ट भित्राउने तयारी गरेको छ । कम्पनीले जेठ अन्तिमसम्म स्विफ्ट भित्राउने लक्ष्यका साथ सोमबारबाट प्रि–बुकिङसमेत सुरु गरेको छ ।

भारतीय बजारमा पुस अन्तिम साता सार्वजनिक भएको कारप्रति उपभोक्ताको झुकाव बढेको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार प्रत्येक मिनेटमा एउटा स्विफ्ट बुकिङ भइरहेको छ । तर, उत्पादन संख्या कम भएका कारण बुकिङ गर्ने उपभोक्तालाई ३–४ महिनासम्म कुराएर स्विफ्ट दिने गरिएको छ । नेपालमा चाहिँ उपभोक्तालाई लामो समय नकुराउन पहिले नै बुकिङ थालिएको कम्पनी स्रोतले जानकारी दियो ।

‘कार सार्वजनिक गर्नुअघि जति संख्यामा बुकिङ हुन्छ, ती सबैलाई पहिलो प्राथमिकतामा राखेर हस्तान्तरण गर्नेछौँ,’ कम्पनी स्रोतले भन्यो, ‘यसबाट कार खरिद गर्न चाहने उपभोक्ताको ट्रेन्ड पनि थाहा हुन्छ र आवश्यकताका आधारमा कार अर्डर गरेर बजार मागलाई सम्बोधन गर्नेछौँ ।’ कारको बजार माग कति हुन्छ र कस्तो अवस्थामा रहन्छ भन्ने कुराको मूल्यांकन गर्न प्रि–बुकिङ खुलाएको ती कर्मचारीले जानकारी दिए । प्रि–बुकिङ गर्ने सुरुका एक सय उपभोक्तालाई खरिदमा ‘स्पेस प्याकेज’समेत उपलब्ध गराइएको छ ।

बलियो इन्जिन
नयाँ स्विफ्टमा विभिन्न अवार्ड जितेको के१२ इन्जिन प्रयोग गरिएको छ । यसले बढी माइलेज र बढी पावर दिन सक्ने सामथ्र्य राख्छ । ‘अन्य ब्रान्डका कारले माइलेज र पावरमध्ये एउटा बढी र एउटा घटी भएर पर्फमेन्स दिन्छन्, तर सुजुकीका कारले बढी माइलेज र बढी पावर दिने सामथ्र्य राख्छन्,’ कम्पनी स्रोतले भन्यो । कारले ६१ किलोवाट पावर र २२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा प्रयोग गरेको इन्जिन हलुका छ र उत्कृष्ट पर्फमेन्स दिन सक्ने क्षमता राख्छ ।

स्पोर्टी लुक्स
स्विफ्ट स्पोर्टी लुक्सका कारण उपभोक्ताको रोजाइमा पर्दै आएको छ । यसलाई थप आक्रामक बनाउन पूर्ण रूपले नयाँ डिजाइन दिइएको छ । सुजुकीको सेडान कार डिजायरमा प्रयोग भएको ठूलो ग्रिल र बम्परको डिजाइन नयाँ स्विफ्टमा देख्न सकिन्छ । यसमा हर्टटेक प्रविधिको सुरक्षित र बलियो च्यासिस् प्रयोग गरिएको छ, जसले गाडीलाई नियन्त्रण कायम गरेर दौडाउन मद्दत गर्छ । स्विफ्टलाई ‘¥याली कार बेस डिजाइन’ भन्ने गरिन्छ । अर्थात्, रेसिङ प्रतियोगितामा दौडाउने स्पोर्टी कारको जस्तै लुक्स प्रदान गरिएको छ ।

सन् २००४ देखि नेपालमा
स्विफ्टको पहिलो भर्सन सन् २००४ मा नेपाल भित्रिएको हो । त्यतिवेला प्यासेन्जर ह्याचब्याक सिरिजमा स्पोर्टी लुक्स दिने स्विफ्ट मात्र थियो । जसकारण छोटो समयमा अत्यधिक लोकप्रिय भयो र अहिलेसम्म उपभोक्ताले मन पराइरहेका छन् । यसको दोस्रो संस्करणस्वरूप फेस लिफ्ट भर्सन सन् २०१२ मा भित्रिएको थियो । ६ वर्षसम्म ह्याचब्याक बजारमा निरन्तर लोकप्रिय भएपछि कम्पनीले तेस्रो जेनेरेसन ल्याउन लागेको हो ।

धेरै बिक्री हुने तेस्रो कार
नेपालको ह्याचब्याक बजारमा धेरै बिक्री हुने तेस्रो कारका रूपमा स्विफ्टले आफ्नो स्थान ओगटेको अधिकृत आयातकर्ता सिजी मोटोकर्पको दाबी छ । आफूलाई अलग देखाउने र ह्याचब्याकमा पनि राम्रो कार चढ्न खोज्नेले स्विफ्ट रोज्दै आएको कम्पनीको भनाइ छ । कम्पनीले प्रतिस्पर्धी बजार मूल्य तोकेर नयाँ स्विफ्ट उतार्ने योजना बनाएको छ । स्विफ्टको पेट्रोल भर्सन मात्र उपलब्ध हुनेछ । सिजी मोटोकर्पले भनेको छ, ‘नयाँ स्विफ्ट ह्याचब्याक सेग्मेन्टमा सबैभन्दा स्टाइलिस हुनेछ । यसको पर्फमेन्स क्षमता अन्यसँग तुलना गर्नै नसकिने किसिमको छ । हामी विश्वस्त छौँ कि नयाँ स्विफ्टले अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्क खडा गर्न सक्षम हुनेछ ।’

तपाईको प्रतिक्रिया