logo

bar

गौतमबुद्ध विमानस्थल सञ्चालन निजी क्षेत्रबाट

अच्युत पुरी/नयाँ पत्रिका काठमाडौं, २ जेठ | जेठ ०२, २०७५

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उक्त जानकारी दिएका छन् । ‘भैरहवा विमानस्थल व्यवस्थापन तथा सञ्चालनको जिम्मा निजी क्षेत्रले लिन्छ,’ मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग उनले भने, ‘यसमा ढुक्क हुनुहोला ।’

अहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलको व्यवस्थापन–सञ्चालन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ । नेपालमा एक अन्तर्राष्ट्रियसहित ५० वटा आन्तरिक विमानस्थल छन् । त्यसमध्ये झन्डै ३ दर्जन विमानस्थल मात्र सञ्चालनमा छन् । काठमाडौंको विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणले र गौतमबुद्ध विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्दा कसरी राम्रो व्यवस्थापन गर्ने र बढी मुनाफा कमाउने भन्नेमा प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ ।

विमानस्थल सञ्चालन मोडालिटी बन्दै छ
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार राष्ट्रिय योजना आयोगले गौतमबुद्ध विमानस्थल सञ्चालनको मोडालिटीबारे अहिले अध्ययन गरिरहेको छ । विमानस्थलको भौतिक पूर्वाधार बन्दाबन्दै कर्मचारी व्यवस्थापन तथा सञ्चालनको मोडालिटी तय भइसक्ने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार विमानस्थलको भौतिक संरचना तयार भइसक्ने वेला सञ्चार तथा अन्य विमानस्थल सञ्चालनसम्बन्धी आवश्यक उपकरण जडानको कामसमेत अगाडि बढाउने योजना रहेको उनको भनाइ छ । गौतमबुद्ध विमानस्थलको प्रगति करिब ३७ प्रतिशत पुगेको छ । १ वर्षभित्र विमानस्थल निर्माण सम्पन्न गरिसक्ने योजना प्राधिकरणको छ ।

७ जेठबाट त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन
प्राधिकरणले त्रिभुवन विमानस्थल ७ जेठबाट २१ घन्टा सञ्चालन गर्ने तयारी गरेको छ । मंगलबार पर्यटनमन्त्री अधिकारीले विमानस्थलमा कार्यरत कर्मचारीसँग विमानस्थल सञ्चालनमा रहेको चुनौतीबारे छलफल गरेका छन् । छलफलमा कर्मचारी युनियनका प्रतिनिधिले एकातर्फ कर्मचारी अभाव रहेको र अर्कोतर्फ सेवा–सुविधा कम रहेको भन्दै विमानस्थल २१ घन्टा सञ्चालनमा चुनौती रहेको बताएका थिए ।

जवाफमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने गरी डिजाइन गरिएको कर्मचारी दरबन्दीको संख्यालाई लिएर अहिले नै अभाव भयो भन्न नमिल्ने बताए । उनले २१ घन्टा विमानस्थल सञ्चालनका लागि पूर्ण तयारीमा लाग्न कर्मचारीलाई निर्देशन दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नकारात्मक सोच त्यागेर आफ्नो काममा इमानदार हुने कर्मचारीलाई निर्देशन दिए । सरकारको नीति र योजनालाई कार्यान्वयन गर्नु कर्मचारीको दायित्व हुने भन्दै उनले आफूले रोजेर आएको काममा रमाउनुपर्ने बताए ।

काम नगर्ने कर्मचारी हटाउनुस् : पर्यटनमन्त्री अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नागरिक उड्डयन क्षेत्रको जिम्मेवारी लिएका निकायहरूमा हायर एन्ड फायर नीति लागू गर्नुपर्ने बताए । ‘लामो समयसम्म काम नगर्ने कर्मचारीलाई तत्काल हटाउनुस्, म साथ दिन्छु,’ उनले भने, ‘कर्मचारीले लापरबाही गरिरहेको छ भने तत्काल हटाउनुस् ।’ मन्त्री अधिकारी त्रिभुवन विमानस्थल व्यवस्थापनका कतिपय विषयमा भइरहेको लापरबाहीप्रति प्राधिकरण नेतृत्वसँग पनि असन्तुष्ट देखिए । ‘दिनमा ६ घन्टा धान्नै नसक्ने चाप सिर्जना भएको छ,’ उनले प्रश्न गरे, ‘किन एउटै समयमा सबै जहाज आउने परिस्थिति सिर्जना गरेको ?’

मन्त्री अधिकारीले निजी वायुसेवा कम्पनीलाई उपत्यकाबाहिरका विमानस्थलमा आधार तोकिदिन ढिलाइ गरेकोप्रति प्राधिकरणका अधिकारीसँग असन्तुष्टि व्यक्त गरे । ‘किन बोल्न डराउनुहुन्छ ? किन आदेश दिन सक्नुहुन्न ?’ उनले प्रश्न गरे, ‘कि कुनै गल्ती तपाईंहरूले नै गरिरहनुभएको छ ? या निजी कम्पनीको पैसा पो खानुभएको छ कि ?’ गल्ती नगरेको भए निर्भीक भएर निर्णय गर्न उनले प्राधिकरणका कर्मचारीलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया