नगुमोस् सजिलै गौरवपूर्ण बिरासत - Naya Patrika
eNaya Patrika
  • ePaper

नगुमोस् सजिलै गौरवपूर्ण बिरासत

मंगलबार युवासंघ नेपाल स्थापनाको २८ वर्ष पूरा भएको छ । यस दिनलाई युवा तथा विद्यार्थी दिवसका रूपमा देशभर मनाइएको छ । विद्यार्थी आन्दोलनले एकतन्त्रीय राणाशासन र त्यसपछि निरंकुश पञ्चायती व्यवस्थाका शासकलाई विभिन्न कालखण्डमा घुँडा टेकाई आफ्ना हक–अधिकार स्थापित गराएर विजय हासिल गरेको विशेष दिनका रूपमा यस दिवसलाई स्मरण गरिएको छ ।

गर्विलो इतिहास
एकतन्त्रीय राणाशासनले जनताप्रति गरेको अन्याय, अत्याचार, शोषण, दमनका विरुद्धमा, न्याय, समानता, राष्ट्रियता, प्रजातन्त्र, जनजीविकाको पक्षमा आवाज उठाएकै कारण थुप्रै विद्यार्थीले यस धर्तीमा रगत बगाउनुपरेको र जीवन कुर्बानी गर्नुपरेको थियो । एकतन्त्रीय शासन व्यवस्थाको विरोध गर्नासाथ मृत्युदण्डको सजाय भोग्नुपर्ने, या त जीवनभर जेलमा सडेर बस्नुपर्ने परिस्थिति थियो । त्यस्तो बिकराल परिस्थितिबीच १९९५ मंसिर १३ मा नागरिक अधिकार बहालीलगायत मागहरू राखी राणाशासनको क्रूर र अमानवीय कार्यको विरोधमा काठमाडौंको इन्द्रचोकमा विद्यार्थी नेता गंगालाल श्रेष्ठले सम्बोधन गर्नुभयो । जसका कारण उहाँलाई राज्य विप्लवको आरोप लगाई गिरफ्तार गरी हत्या गरियो । आज पनि उहाँ नेपाली विद्यार्थी आन्दोलनको प्रथम सहिदका रूपमा अमर हुनुहुन्छ ।

२००६ सालमा कम्युनिस्ट पार्टीको स्थापनापश्चात् नेकपाको पहिलो घोषणा पत्र जारी भयो । जसले विद्यार्थीलाई संगठन स्थापना गरेर राष्ट्र र जनताको पक्षमा, विद्यार्थी हकहित र अधिकारको पक्षमा संगठित बनाई आन्दोलित बन्न उत्साह र प्रेरणा प्रदान ग¥यो । ‘नेपालको पहिलो राष्ट्रिय संघर्षमा तपार्इंहरूले गौरवशाली भूमिका खेल्नुभएको छ र प्रशस्त रगत बगाउनुभएको छ, युवा गंगालालको प्राणोत्सर्गले तपार्इंहरू धेरै जनालाई नयाँ संग्राम र नयाँ बलिदानको निम्ति अभिप्रेरित गरेको छ, दैनिक परिपक्व संग्रामद्वारा उक्त परम्परालाई अझ उचाइमा उठाउने समय आएको छ’ भनी क. पुष्पलालले विद्यार्थीलाई आन्दोलनप्रति प्रेरित गर्नुभएको थियो । उहाँले आन्दोलनलाई उचाइमा पु¥याउने दृढता र इच्छाशक्ति र प्रतिबद्धता अघि सारेपछि २००७ असार १३ मा विद्यार्थीहरूले नेपालको पहिलो विद्यार्थी संगठन ‘अखिल नेपाल विद्यार्थी फेडरेसन’ स्थापना गरे । स्थापनापश्चात् आन्दोलनका हरेक मोर्चामा यस संगठनले खेलेको भूमिका इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

२०१७ पुस १ मा राजा महेन्द्रले जनताको अधिकार खोसी निरंकुश पञ्चायती व्यवस्था लादेपछि विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने कोसिस गरिएको थियो । तर, पञ्चायतको उदयपछि जारी भएका निर्देशन र ऐनको धज्जी उडाउँदै पुनः सशक्त र प्रभावकारी ढंगबाट संगठित हुँदै विद्यार्थी आन्दोलन अघि बढ्यो । स्वतन्त्र विद्यार्थी युनियन गठन गर्न पाउनुपर्ने मागसहित प्रत्यक्ष जनसरोकारका एजेन्डा अघि सारेर २०२० सालमा उपत्यकाका हजारौँ विद्यार्थीले आन्दोलन सुरु गरे । २०२१ वैशाख २५ देखि ३१ सम्म उपत्यकाव्यापी अन्तर क्याम्पस विद्यार्थी सम्मेलन भयो । उपत्यकाभित्र विभिन्न ठाउँ बदलेर सम्मेलन भइरहेका वेला सम्मेलनस्थलभित्र राति १२ बजे प्रहरी प्रवेश गरी विद्यार्थीलाई कुटपिट गर्ने र गिरफ्तार गर्ने कार्य भयो । सरकारी नांगो हस्तक्षेप र दमनको विरोध गर्दै सोही वर्षको जेठ १ देखि आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने घोषणा विद्यार्थीले गरे । आन्दोलनलाई दबाउन प्रशासनले जेठ १ अगावै घर–घरमा गई सयौँ विद्यार्थीलाई गिरफ्तार गर्ने, कुटपिट गर्ने, धरपकड गर्नेजस्ता कार्य ग¥यो । जहाँ दमन, त्यहाँ विस्फोट भनेझैँ प्रहरी ज्यादतिविरुद्ध विद्यार्थीले जमेर प्रतिकार गरे । टोल–टोल र गल्ली–गल्लीमा विद्यार्थी उत्रिए । शैक्षिक संस्थामा आमहडताल भयो । अन्ततः तत्कालीन सरकार विद्यार्थी आन्दोलनसामु झुक्न पुग्यो । वार्ताका लागि आह्वान गरियो । थुनामा रहेका सबै विद्यार्थी रिहा भए । विद्यार्थी आन्दोलनको उपलब्धिस्वरूप स्ववियु खोल्न पाउने अधिकार प्राप्त भयो । तसर्थ, जेठ १ मा तत्कालीन सरकार झुकेको र विद्यार्थीले विजय हासिल गरी आफ्नो माग पूरा गराएको दिन भएकाले यस दिनलाई अनेरास्ववियुले विजयको प्रतीक दिनको रूपमा मनाउँदै आएको छ ।

चुनौतीपूर्ण वर्तमान
इतिहास वर्तमानलाई शिक्षा र प्रेरणा दिने जीवन्त ऐना हो । हरेक समाज र पुस्ताले इतिहासको सकारात्मक पक्षको अनुशरण गर्दै नयाँ युग र समय–सापेक्ष ढंगबाट अगाडि बढ्न जरुरी छ । राजनीतिक नेतृत्वले दृढ संकल्पका साथ विद्यार्थीलाई स्वदेशमै अवसरहरूको सिर्जना गराउने, शिक्षा, स्वास्थ्य र रोजगारजस्ता संविधानले निर्दिष्ट गरेको महत्वपूर्ण विषयवस्तुलाई व्यवहारमा उतार्ने, शैक्षिक क्षेत्रभित्र देखिएका वर्गविभेद, असमानता र व्यापारीकरणको अन्त्य गरी वैज्ञानिक, रोजगारमूलक र व्यावसायिक शिक्षा उपलब्ध गराउनुपर्ने टड्कारो आवश्यकता यति वेला छ । यस्तो परिस्थिति बने मात्रै युवा–विद्यार्थी डिग्रीको सर्टिफिकेट च्यापेर खाडी मुलुक जाने र यहाँ गाउँघरमा जग्गा, जमिन बाँझो हुने क्रमको अन्त्य हुन सक्छ । शिक्षित युवा–विद्यार्थीलाई आफ्नै देशमा रोजगार सिर्जना गर्न नसक्ने, युवा–विद्यार्थीको ऊर्जा र सपनालाई सदुपयोग गर्न नसक्ने, विश्व बजारमा युवा–विद्यार्थीको श्रम बेची भित्र्याएको रेमिट्यान्सले मात्र आर्थिक समृद्धिको सपना साकार हुन सक्दैन ।

समृद्धिको सपना साकार गर्न नेतृत्वमा समेत युवा विद्यार्थीलाई पु-याउन जरुरी छ । हरेक पार्टीका नेताले युवा र विद्यार्थीको बहुआयामिक अस्तित्वलाई स्विकार्नुपर्छ । उनीहरूले विद्यार्थीलाई हेर्ने आफ्नो संकीर्ण दृष्टिकोण र थोत्रो अहंलाई त्याग्नुपर्छ । पूर्वाग्रहपूर्ण चिन्तनले समृद्धिको उज्यालो देख्न सकिँदैन । यो नेताहरूले मनन गर्न जरुरी छ । किनभने, यो उत्साह र समृद्धिको सगरमाथा चढ्ने समय हो । युवा–विद्यार्थीले पनि अग्रजले निर्माण गरिदिएको गौरवपूर्ण इतिहासबाट पाठ सिक्दै अघि बढ्न जरुरी छ ।

युवा–विद्यार्थीको पहिचान संघर्षशील जीवनगाथाले भरिएको पहिचान हो । त्यही गौरवशाली पहिचानलाई मध्यनजर राख्दै मदन भण्डारीले भनेझैँ ‘आजका युवा–विद्यार्थीका संघर्ष नाटक सुरु हुनुअघिका उद्घोषकको भूमिकाजस्तो बनून् । घाम झुल्किनुअघिको क्षितिजको लालिमा जस्तो बनून्, आँधी आउनुअघिको हुन्हुनाहटजस्तो बनून्, जन्ती आउनुअघिको भातखरुजस्तो बनून् ।’ आजका युवा–विद्यार्थीमा संघर्ष, त्याग, समर्पण र बलिदानको भावना विकास गर्न आवश्यक छ । विभिन्न क्षेत्रभित्र देखिएका विकृति र विसंगतिविरुद्ध लड्ने बाहक शक्तिको रूपमा उनीहरूले आफूलाई उभ्याउन सके मात्रै गौरवपूर्ण बिरासतलाई आत्मसात् गर्दै थप उचाइमा पुग्न सकिन्छ । नेता बन्नका लागि, अवसर लिनका लागि कालोलाई सेतो र सेतोलाई कालो भन्दै युवाहरू नेतृत्वको अन्धभक्त हुने हो भने विजयोत्सव मनाउनुको कुनै अर्थ रहँदैन ।

(लेखक, नेकपा एमाले राष्ट्रिय हित
प्रवद्र्धन तथा सुरक्षा विभागका सचिव हुन् ।)

तपाईको प्रतिक्रिया