logo

bar

गुप्तचरलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कार्यान्वयन भएन

टेकराज थामी/नयाँ पत्रिका काठमाडौं, २ जेठ | जेठ ०२, २०७५

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो कार्यालयमातहत ल्याउन दुई महिनाअघि गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । गृह मन्त्रालय मातहतको अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कानुन अभावमा कार्यान्वयन हुन नसकेको हो ।

ओलीले १६ फागुनमा निर्णय गरे पनि अनुसन्धान विभाग सञ्चालनसम्बन्धी ऐन संशोधन हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव केदार अधिकारीले ऐन संशोधन गर्नुपर्ने भएकाले अनुसन्धान विभाग तत्कालका लागि प्रधानमन्त्री कार्यालय ल्याउन नसकिएको बताए । तर, विभागले कार्य सम्पादन र दैनिक रिपोर्टिङ भने प्रधानमन्त्री कार्यालयमै गर्ने गरेको उनको भनाइ छ ।
अधिकारीले भने, ‘दैनिक सम्पादन हुने काम भइरहेका छन् । विभागले रिपोर्टिङ प्रधानमन्त्री कार्यालयमै गर्दै आएको छ । अहिले कानुन मात्रै नभएको हो । कानुन अभावकै कारण काम रोकिएको छैन ।’

सूचना संकलन गर्न गृहको तयारी
अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत जाने निर्णय भएपछि गृहले सूचना संकलन तथा विश्लेषणका लागि छुट्टै ‘इन्टेलिजेन्स युनिट’ गठन गर्न लागेको छ । इन्टेलिजेन्स युनिटको नाम ‘सूचना संकलन तथा विश्लेषण इकाइ’ राखिएको छ । गृहले साबिक रहेको सुरक्षा समन्वय तथा सुरक्षा अभिलेख व्यवस्थापन शाखा विघटन गरी यो इकाइ गठन गर्न लागेको हो ।

विश्लेषणपछिको निचोडबारे इकाइले गृहमन्त्रीलाई ब्रिफिङ गर्नेछ । गृहमन्त्री नभएको अवस्थामा गृहसचिवलाई ब्रिफिङ गर्नेछ । गृहका अनुसार गठन गर्न लागिएको इकाइको नेतृत्व राष्ट्रिय अनुसन्धान विभागको एसएसपीले गर्नेछन् । इकाइमा नेपाल प्रहरीका तर्फबाट एसपी र सशस्त्र प्रहरी बलको तर्फबाट पनि एसपी नै वरिष्ठ अधिकृतका रूपमा रहनेछन् । त्यसबाहेक गृह मन्त्रालयका उपसचिव वरिष्ठ अधिकृतका रूपमा रहनेछन् । इकाइमा नेपाल प्रहरी, सशस्त्र र गृहका अन्य अधिकृत पनि रहनेछन् ।

यथावस्थामै काम भइरहेको छ : गृह प्रवक्ता
अनुसन्धान विभाग विशेष सेवा ऐनअन्तर्गत सञ्चालित छ । कानुनअनुसार यसले गृहलाई चिन्छ, प्रधानमन्त्री कार्यालयलाई चिन्दैन । गृहप्रवक्ता रामकृष्ण सुवेदीले विभागबाट हुँदै आएको सम्पूर्ण काम यथावस्थामै सञ्चालन हुँदै आएको बताए । ‘अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत रहने गरी निर्णय भयो । यद्यपि, काम भने गृहमातहत नै रहेर भइरहेका छन् । दैनिक रिपोर्टिङ पहिलेजसरी नै हुँदै आएका छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु