logo

bar

०.७६ प्रतिशत घट्यो नेप्से

नयाँ पत्रिका काठमाडाैँ, १ जेठ | जेठ ०१, २०७५

साताको दोस्रो दिन नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशत ओरालो लागेको छ । गत साताको अन्तिम दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से कारोबार अवधिभर बढ्न सकेन ।

तेस्रो त्रैमासमा कम्पनीहरूले लगानीकर्ताको अपेक्षाअनुसार नाफा आर्जन गर्न नसक्दा लगानीकर्ताको मनोबल घटेको हो । दीर्घकालीन लगानीकर्ताहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । बजारले निश्चित दिशा लिन नसकेका कारण लगानीकर्ताहरूले यस्तो रणनीति अपनाएको एक ब्रोकरले बताए ।

यही कारण बजारमा सुस्तता आएको उनको भनाइ छ । बजारमा सुधारका कार्यक्रम नआएसम्म बजारले सकारात्मक दिशा नलिने उनको बुझाइ छ । नेप्सेले अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गररिहेको छ । सो प्रणाली आएपछि बजारले नयाँ उचाइ कायम गर्ने केही लगानीकर्ताहरू बताउँछन् ।

१ हजार ३ सय ४८ बिन्दुबाट सुरु भएको नेप्से यस दिन १० दशमलव २८ अंक ओरालो लागेर १ हजार ३ सय ३८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशलमव ४१ अंक घटेर २ सय २ दशमलव १ बिन्दुमा पुगेको छ ।

नेप्सेको १४ दिने आरएसआई ५० दशमलव ३२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । यस दिन १ सय ६३ कम्पनीको ६ हजार ५ सय ८८ पटकको कारोबारमा रु. ४२ करोड ५१ लाख ९४ हजार २ सय ९९ बराबरको १० लाख ७ हजार ७ सय ६४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिनको कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा १८ दशमलव ४९ प्रतिशत बढी हो । अघिल्लो कारोबार दिनको तुलनामा कुल बजार पुँजीकरण रु. १२ अर्ब ६ करोड घटेर रु. १५ खर्ब ७० अर्बमा सीमित भएको छ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन सिद्धार्थ बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन रु. ६ करोड ४७ लाखबराबरको १ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबार संख्याका आधारमा भने यस दिन नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड अगाडि रहेको छ । सो बिमा कम्पनीको यस दिन ३ सय ७९ पटक सेयर किनबेच भएको छ । हिमालयन डिस्टिलरीको सेयरमूल्य यस दिन करिब १० प्रतिशत बढेको छ ।

किसान माइक्रोफाइनान्स र भार्गव विकास बैंकको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएको १ सय ६३ कम्पनीमध्ये २३ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय २५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयरमूल्य भने यस दिन स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएको उत्पादनमूलक, अन्य र होटेल समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक १ दशमलव १२ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४९ प्रतिशत र होटेल समूहको शून्य दशमलव ४४ प्रतिशत बढेको छ ।

विकास बैंक समूहको परिसूचक यस दिन १ दशमलव ७१ प्रतिशत, व्यापार समूहको १ दशमलव ३३ प्रतिशत, माइक्रोफाइनान्स समूहको १ दशमलव ३ प्रतिशत, वित्त समूहको १ दशमलव १३ प्रतिशत, बिमा समूहको १ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ९३ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव ८७ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया