logo

bar

सलाहले जिते गोल्डेन बुट

एजेन्सी लन्डन | जेठ ०१, २०७५

मोहमद सलाहले इंग्लिस प्रिमियर लिगमा कीर्तिमान राख्दै गोल्डेनबुट जितेका छन् । यसै सिजनमा एस रोमाबाट लिभरपुलमा अनुबन्धित सलाहले सर्वाधिक ३२ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । लिगमा सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट दिने चलन छ ।

रोनाल्डो र सुआरेज पछि परे
इजिप्टका स्ट्राइकर सलाहले टोटनह्यामका ह्यारी केनको वर्चस्व पनि तोडेका छन् । लगातार दुई सिजन सर्वाधिक गोलकर्ता बनी केनले गोल्डेन बुट हात पारेका थिए । सलाहको प्रिमियर लिगमा आगमनसँगै केनको वर्चस्व समाप्त भएको ब्रिटिस मिडियाले जनाएका छन् । यसैगरी, सलाहले क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजको रेकर्ड पनि भंग गरेका छन् । सुआरेज र रोनाल्डोले प्रिमियर लिगमा एकै सिजन सर्वाधिक ३१ गोलको कीर्तिमान राखेका थिए । यसैगरी एलान सेएररले पनि ३१ गोल नै गरेका थिए ।

गज्जबको पहिलो सिजन
सलाहले लिभरपुलमा पहिलो सिजन उत्कृष्ट र गजब रहेको प्रतिक्रिया दिएका छन् । ‘मेरो दिमागमा इंग्लिस क्लबमा प्रतिस्पर्धा गर्नु थियो, जुन यस वर्ष सफल भयो,’ गोल्डेन बुट हातमा लिँदै सलाहले भने, ‘यस सफलतामा लिभरपुलका समर्थकलाई धन्यवाद छ ।’ ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले सलाहबाट धेरै अपेक्षा राखेको छ । सलाहले पनि साबिक दुईपटकको विजेता रियल म्याड्रिडविरुद्धको प्रतिस्पर्धा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया