कविता राम्रो–नराम्रो होइन मनपर्ने र नपर्ने हुन्छ - Naya Patrika
eNaya Patrika
  • ePaper

कविता राम्रो–नराम्रो होइन मनपर्ने र नपर्ने हुन्छ

सन् २०१३ र २०१५ गरी दुईपटक ‘सार्क साहित्य अवार्ड’बाट पुरस्कृत कवि सुमन पोखरेल विराटनगरलाई कर्मथलो बनाएर कविता लेख्छन् । विभिन्न भाषामा दख्खल राख्ने उनका कविताहरू विश्वका १२–१३ भाषामा अनुवाद भएका छन् । पोखरेलका ‘शून्य मुटुको धड्कनभित्र’, ‘जीवनको छेउबाट’, र ‘हजार आँखा यी आँखामा’ कविता संग्रह प्रकाशित छन् । हालसालै उनले विश्वका चर्चित कविहरूका कविता अनुवाद गरेर ‘मनपरेका केही कविता’ अनुवाद संग्रह बजारमा ल्याएका छन् । उनीसँग नयाँ पत्रिकाकर्मी नवीन प्यासीले गरेको संवाद :

‘मन परेका केही कविता’ अनुवाद संग्रह ल्याउनुभयो । यो संग्रह तयार गर्न तपाईंलाई के कुराले घच्घच्यायो ?

त्यस्तो धेरै ठूलो उद्देश्य केही होइन । पढ्दै जाँदाखेरि राम्रो लागेर साथीभाइलाई पनि देखाऊँ न त भनेर ल्याएको हुँ । यो संग्रह २०११ मै तयार भएको थियो । साझा प्रकाशनले छाप्ने भनेर राखेको थियो । तर, विविध कारणले छापिएन । अनि यसपटक शिखा बुक्समार्फत बजारमा ल्याएँ ।

तपाईंले ‘भेट्रान’ कविहरूका कविता छाप्नुभयो । पाठकलाई परै राखेर तपाईंले आफैँले आफैँमाथि समीक्षा गनुपर्दा कति हदसम्म न्याय गर्न सकेँजस्तो लाग्छ ?

मैले त्यो कुरा किताबमा पनि उल्लेख गरेको छु । कविताको अनुवाद के हो भन्ने कुरा प्रमुख हो । शब्दहरूको अनुवाद गर्दा अनुवाद हुने हो कि, या त्यसको भाव, शैलीलाई ल्याउँदा अनुवाद हुने हो त !
खासगरी दुई–तीनवटा पक्षबाट अनुवाद गर्न सकिने रहेछ ।

एउटा त्यहाँनेर जुन भावमा जे भनेर लेखेको छ, त्यसलाई नै अनुवाद गर्ने । अर्को, पाठकले अहिलेको समयमा कुन तरिकाले भन्दाखेरि बुझ्न सक्छन्, त्यहीअनुसार अनुवाद गर्ने । मैले कवितामा भएका दृश्य र संगीतलाई अनुवाद गर्ने कोसिस गरेको छु ।

तपाईं आफैँ कवि । कविता लेख्न र अनुवाद गर्न केमा बढी आनन्द लिनुहुन्छ ? अनुवाद किन हुनुपर्छ ?
आनन्दको अनभूति त कविता लेख्दैमा हुन्छ । तर, कविता भनेको जहिल्यै लेखिरहन्छु भनेर लेखिने कुरा होइन । कविता लेख्न नसकेका वेला नेपाली भाषामा लेखिएका कविता मैले जानेका अन्य भाषामा र अन्य भाषामा लेखिएका कविता हाम्रो भाषामा अनुवाद गर्ने गर्छु ।

कविताले सामाजिक रूपान्तरणमा कसरी भूमिका खेल्न सक्छजस्तो लाग्छ तपाईंलाई ?

कविताले धेरै ठूलो भूमिका खेल्न सक्छ । पूर्वीय धर्मशास्त्रहरू, चाहे वेद भन्नुस् या मुन्धुम । तिनीहरू कविताकै शैलीमा लेखिएका थिए । तिनीहरूले यसरी प्रभाव पारे कि त्यो कैयौँ वर्ष हुँदा पनि मान्छे त्यसबाट बाहिर निस्किन सकेको छैन । त्यो त कविताले पारेको प्रभाव हो नि !

मानिसलाई कविताले सीधै भनेर असर गर्दैन । अर्को तरिकाले गर्छ भनिनु नै कविता हो । कविताको कला भनेकै त्यही हो । तर, कविताले पाठकको संवेदनामा हिर्काएर कालान्तरमा बिस्तारै परिवर्तन गर्छ । त्यो परिवर्तनले सामाजिक रूपान्तरणमा भूमिका खेल्छ ।

तपाईं आफूले लेखेका कवितामाथि आफैँले समीक्षा गर्नुप-यो भने कसरी गर्नुहुन्छ ? के कुरा कवितामा ल्याउन सकिनँजस्तो लाग्छ ।

कविता लेखिसकेपछि यसलाई यसरी ल्याएको भए हुन्थ्यो या त्यसरी लेखेको भए हुन्थ्यो भन्ने लाग्छ । फेरि यस्तो पनि लाग्छ कि कविताकै रूपमा आउला या अरू रूपमा आउला भनेर नलेखिएको पनि हुन सक्छ । समग्रमा हेर्दा कविताले कहीँ न कहीँ केही न केही कुरामा सम्बोधन गर्ला भन्ने लाग्छ । तर, कवितामा यही कुरा ल्याउन सकिएन भनेर ठ्याक्कै भन्न त नसकिएला ।

पछिल्लो पुस्तामा सम्भावनासँगै के कुरामा समस्या देख्नुहुन्छ ?

पछिल्लो पुस्तामा मात्र होइन, हाम्रो पुस्तामा पनि समस्या थियो । कविता लेख्नु भावनाको कुरा हो । आफैँले लेखेको कवितामा यो हाल्नुपथ्र्यो यो नहाल्नुपथ्र्यो भनेर आफ्नै कवितालाई हेरेर बनाउने तरिकाको विकास हाम्रो पुस्तामा भएन । त्यो हुन जरुरी देख्छु । कविता राम्रो र नराम्रो कहिल्यै हुँदैन । मनपर्ने र नपर्ने हुन्छ ।

कविताको असल समीक्षा कतिवेला हुन्छजस्तो लाग्छ ?

कवितालाई पाठकले जसरी लिन्छन् लिन्छन्, मैले यसरी भनेको हो, यसरी बुझ्न पाइन्न भनेर कविले भन्न पाउँदैन । हरेक पाठकले अलग–अलग समीक्षा ग¥यो भने कविले स्विकार्नुपर्छ । विभिन्न समयमा विभिन्न तरिकाले पाठकले बुझे भने त्यतिवेला असल समीक्षा हुन्छजस्तो लाग्छ ।

आफ्ना कवितासँग के कारणले सन्तुष्ट हुनुहुन्छ ?

एउटा त ग्राह्यताको कुरा हो । पाठकले त्यसलाई ग्रहण गरिदिए भने सन्तुष्टि मिल्छ । अर्को, शब्दको खेल खेलेर नयाँ कुरा ल्याइन्छ । ‘नयाँ कुरा ल्याएँ है’ भन्दा खुसी लाग्छ । बाहिरतिर जाँदा अनुवाद भएर विभिन्न भाषामा कविता पढेका पाठकको प्रतिक्रियाले ठीकै लेखेछुँ भन्ने लाग्छ । कविताकै कारण मलाई चिन्छन्, त्यसमा खुसी लाग्छ ।

आउने पुस्तालाई के सल्लाह दिनुहुन्छ ?

लेखिरहनुपर्छ । तर, अरूले लेखिरहेको भन्दा फरक लेख्न कोसिस गर्नुपर्छ । कविता भनेको आविष्कार हो । कविताको विषयको ट्रेन्ड हुन सक्छ, तर शिल्पको ट्रेन्ड हुन सक्दैन । त्यसकारण सकभर नयाँ आविष्कार हुने गरी लेख्न सल्लाह दिन्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु