logo

bar

इन्डोनेसियाका चर्चमा आइएसको शृंखलाबद्ध हमला, १३ को मृत्यु, दर्जनौँ घाइते

एजेन्सी बाली, ३१ वैशाख | बैशाख ३१, २०७५

इन्डोनेसियाका चर्चहरूमा भएका शृंखलाबद्ध हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायमा भएका आत्मघाती हमलामा उनीहरूको मृत्यु भएको हो ।

आत्मघाती हमलामा कम्तीमा ४० जना घाइते भएका छन् । पाँच मिनेटको अन्तरमा ती विस्फोट गराइएका थिए । हमलाको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आइएस)ले लिएको छ ।

चर्चका मानिसलाई लक्षित हमला

स्थानीय समयअनुसार आइतबार बिहान साढे ७ बजे विस्फोट गराइएको थियो । चर्चमा प्रार्थना गरिरहेका मानिसलाई लक्षित गरी सो हमला भएको जनाइएको छ । विस्फोटपछि सर्वसाधारणको भागदौड मच्चिएको थियो ।

चर्चको प्रवेशद्वारमा मानिसका शव यत्रतत्र छरिएको भिडियो फुटेज स्थानीय टेलिभिजनहरूले देखाएका छन् । आक्रमण भएको केही मिनेटभित्र घटनास्थलमा प्रहरी पुगेको थियो । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

१३ वर्षपछिकै ठूलो हमला

१३ वर्षपछिको ठूलो आइतबारको हमला सन् २००५ पछिकै डरलाग्दो हमला भएको बताइएको छ । बालीको एक टापुको एउटा रिसोर्टमा १३ वर्षअघि भएको हमलामा २० जनाको मृत्यु भएको थियो ।

इन्डोनेसियामा ९० प्रतिशतभन्दा बढी मुसलमान छन् । तर, क्रिस्चियन, हिन्दू र बौद्ध धर्मावलम्बीको पनि उल्लेख्य जनसंख्या छ ।

शान्तिका लागि प्रार्थना

आक्रमणपछि क्रिस्चियन पादरीहरूले शान्तिका लागि प्रार्थना गरिरहेका छन् । ‘आतंकवादी हमलाबाट हामी त्रसित हुनुपर्दैन । सरकारले अतिवादीलाई पूर्ण रूपमा परास्त गर्ने हाम्रो विश्वास छ,’ इन्डोनेसियाको चर्चका प्रमुखको भनाइ उद्धृत गर्दै जाकार्ता पोस्टले जनाएको छ ।

इन्डोनेसियाका विदेशमन्त्री रेन्टो मार्सुदीले आक्रमणको निन्दा गरेकी छिन् । उनले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

लडाकु आक्रमणको इतिहास

सन् २००२ मा इन्डोनेसियाको बालीमा २ सय २ जनाको ज्यान जाने गरी भएको हमलापछि इन्डोनेसियाले अतिवादी समूहविरुद्ध विशेष कारबाही सुरु गरेको थियो । सेनाको कारबाहीपछि अतिवादीले बारम्बार नरसंहार मच्चाएका छन् ।

पछिल्लो समयमा भएका विभिन्न हमलाका जिम्मा आइएसले लिँदै आएको छ । सन् २०१६ मा मध्यजाकार्तामा भएका शृंखलाबद्ध विस्फोट र गोली हानाहानमा चार सर्वसाधारण र चार आक्रमणकारी मारिएका थिए र सो हमलाको जिम्मा पनि आइएसले लिएको थियो ।

यसै वर्षको फेब्रुअरीमा योगार्काटामा भएको तरबार हमलामा एक दर्जनभन्दा बढी घाइते भएका थिए । आक्रमणकारी सिरियामा आइएसमा आबद्ध लडाकुको संलग्नता रहेको प्रहरीले जनाएको थियो ।

शृंखलाबद्ध हमला

सुराबायका तीनवटा चर्चमा एकपछि अर्को हमला भएको थियो । पहिलो आक्रमण भएको एक÷दुई मिनेटको अन्तरमा अन्य दुई हमला भएका थिए । ठूलो नरसंहार मच्चाउने अतिवादीको योजना विफल बनाइदिएको सुरक्षा अधिकारीहरूले दाबी गरेका छन् ।

चर्चहरूमा एकपछि अर्को हमला भएपछि उच्च सुरक्षा सतर्कता कायम गरिएको थियो । इन्डोनेसियाको गुप्तचर निकायका प्रमुख वावान पुरवान्टोले हमलामा अतिवादी मुस्लिम समूह जेमाह अनस्रुत डउलाह (जेएडी) संलग्न रहेको बताए पनि आइएसले आक्रमणको जिम्मा लिएको छ ।

आइतबारको हमला एक महिनाअघिको अतिवादी हमलासँग जोडिएको छ । एक महिनाअघि राजधानी जाकार्ताबाहिर रहेको उच्च सुरक्षा घेराभित्र रहेको कारागारभित्र आइएस लडाकुहरूसँग भएको ३६ घन्टा लामो झडपमा पाँच सुरक्षाकर्मी मारिएका थिए ।

सो आक्रमणको भोलिपल्ट प्रहरी कारबाहीमा पश्चिम जाभामा जेएडीका चार शंकास्पद व्यक्ति मारिएका थिए ।

आक्रमणमा एउटै परिवारको संलग्नता

आइतबारको हमलामा एकै परिवारका सदस्यहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । एक महिलाले आफ्ना दुई बालबालिकालाई लिएर एउटा चर्चमा आत्मघाती हमला गरेकी थिइन् ।

उनका पति र दुई छोराहरूले अन्य दुई चर्चलाई निसाना बनाएको सुराबायका प्रहरी प्रमुखले बताए । महिलाले आफ्ना ९ र १२ वर्षका छोरीहरूको शरीरमा बम फिट गराएर दिपोनेगोरो इन्डोनेसियाली क्रिस्चियन चर्चलाई निसाना बनाएकी थिइन् ।

महिलाका पतिले बम भरिएको कार सुराबाय सेन्टर चर्चको पर्खालमा धसेका थिए । उनीहरूको १६ र १८ वर्षका छोरा मोटरसाइकलमा चढेर सान्ता म्यारिया क्याथोलिक चर्चमा पुगेर तेस्रो विस्फोट गराएका थिए । प्रहरीका अनुसार पहिलो आक्रमण भएको पाँच मिनेटको अन्तरमा दोस्रो र तेस्रो हमला भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु