logo

bar

मलेसियाका निवर्तमान प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

एजेन्सी क्वालालम्पुर | बैशाख ३०, २०७५

मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लागेको छ । मलेसियाको आप्रवासन विभागले रजाकलाई देश छाड्न प्रतिबन्ध लगाएको हो । हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो । सत्तामा रहँदा आर्थिक अनियमितता र शक्तिको दुरुपयोग गरेको अरोप उनीमाथि लागेको छ । विभागले रजाककी श्रीमती रोस्मा मनसुरलाई पनि देश छोड्न प्रतिबन्ध लगाएको छ ।

विभागले आफूहरूलाई देश छोड्न रोक लगाएको सार्वजनिक भएपछि नाजिबले ट्विट गरेका छन्, ‘म र मेरो परिवारलाई मलेसियाको आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएकोबारेमा मलाई पहिले नै थाहा थियो ।’ आप्रवासन विभागको निर्देशनको सम्मान गर्ने उनले बताएका छन् । ‘म विभागको निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्नेछु ।’

यसै साता भएको ऐतिहासिक निर्वाचनमा नजाबले नेतृत्व गरेको बरिसान राष्ट्रिय गठबन्धन पराजित भएको थियो । सो गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा थियो । निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएपछि गठबन्धनका नेता तथा पूर्वप्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका महाथिरले दशजना नयाँ मन्त्री थपेका छन् । आफूले ठूलोे मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीको भने तत्काल आवश्यकता भएकाले सरकार विस्तार गरिएको माहाथिरले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु