logo

bar

केटीसँग चिया खाँदा बा–आमासम्म कुरा पुग्थ्यो : किशोर थापा

बच्चु विक काठमाडाैँ, २९ वैशाख | बैशाख २९, २०७५

अव्यावहारिक पढाइ

एसएलसीसम्म पढेको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल, पुरानोमध्ये पर्छ । ०१३ सालमै स्थापना भएको यो स्कुलमा अरूभन्दा भिन्न थियो । प्रयोगात्मक पढाइ हुन्थ्यो । तैपनि अहिले यसो गम्दा लाग्छ, त्यतिवेला स्कुलको पढाइ त अव्यावहारिक रहेछ । पञ्चायतका बारेमा पढ्नुपर्ने, भारतीय सन्दर्भसँग जोडेर पढ्नुपर्ने । नेपालसँग सन्दर्भ नै मिल्दैनथे, तैपनि पुस्तकहरू पढ्नैपथ्र्यो ।

त्यतिवेला हाम्रो विद्यालयमा को–एजुकेसन (छात्रछात्रासँगै पढाइ) थियो । ०३२ मा नयाँ शिक्षा पद्धति सुरु गर्ने तयारी स्वरूप परीक्षणका रूपमा हाम्रो स्कुलमा लागू गरिएको थियो, को–एजुकेसन । तर, पनि कस्तो थियो भने केटा र केटीका अलग्गै बेन्च हुन्थे, अघिल्लो बेन्चमा केटी बस्थे । अझ केटाका पनि आ–आफ्ना बेन्च हुन्थे । एकले अर्काको बेन्चमा बस्दैनथे । एक–अर्कासँग बोल्दैनथे ।

म स्कुलमा राम्रै विद्यार्थी थिएँ । पढाइमा पनि मिहिनेती थिएँ । नभन्दै २०३१ मा एसएलसी बोर्ड फस्र्ट नै भएँ ।

अमृत क्याम्पसको पहिलो दिन

एसएलसी उत्तीर्ण भएपछि अमृत साइन्स क्याम्पसमा भर्ना भएँ । स्कुल पढ्दा नै साइन्स पढ्छु भन्ने तय गरिसकेको थिएँ । एसएलसी बोर्ड फस्र्ट भएपछि त झन् आत्मबल पनि बढ्यो, बाहिरी दबाब पनि भयो । पहिलो दिन कलेज जाँदा त अचम्म परँे । १० वर्ष स्कुल ड्रेसमा गएको बानी, त्यहाँ त डे«स नै छैन । खुला भएको महसुस भयो । अरूका पनि ड्रेस थिएनन् । सबै फरक–फरक लुगामा थिए । अर्कै संसारमा आएजस्तो भयो । ती दृश्य अझै पनि आँखामा चक्कर लगाउँछन् ।

अर्को झन् रमाइलो कुरा छ । स्कुलमा त आ–आफ्ना बेन्चमा बस्नुपथ्र्यो । अमृत साइन्स क्याम्पसमा त बेन्चमा बस्न दगुरादगुर गर्नुपर्दोरहेछ । को अगाडिको बेन्चमा बस्ने भनेर प्रतिस्पर्धा नै हुन्थ्यो । पहिलो दिन म त हेरेको हे-यै भएँ । केटाकेटी भने यहाँ पनि सँगसँगै त बस्दैनथे तैपनि स्कुलभन्दा खुला थियो, रमाइलो थियो ।

प्रेमी–प्रेमिकाभन्दा चियोचर्चो बढी

स्कुलमा त केटाकेटी बोलचाल नै हुँदैनथ्योभन्दा हुन्छ । केही काम परेपछि मात्रै आक्कलझुक्कल बोल्थ्यौँ । नत्र हेराहेर मात्रै हुन्थ्यो, त्यो पनि मुस्किलले । हेराहेर गरेको पनि अरू साथीहरूले देखिहाले कि भन्ने डर हुन्थ्यो ।

कलेजमा आएपछि फरक भयो । बोलचाल हुन्थ्यो, सँगसँगै चिया पिउने गरिन्थ्यो । तर, चिया पिएको पनि समाचार हुन्थ्यो । आज त फलानो–फलानोले सँगै चिया खाए, आज त फलालो–फलानो कुरा गर्दै थिए, आज फलानो–फलानो सँगै हिँडेका थिए ! भन्ने चर्चा भइहाल्थ्यो ।

त्यो कुरा शिक्षकसम्म पनि पुग्थ्यो । धेरैजसो विद्यार्थीको काम चियोचर्चा नै हुन्थ्यो । हल्ला मच्चाउँथे । त्यतिवेला ती कुरा त अहिले पत्रिकाको हेडलाइनमा छापिएजस्तै हुन्थे । केटाले केटीसँग बोल्दा वा केटीले केटासँग बोल्दा, चिया पिउँदा कसैले देखिहाल्यो कि भन्ने डर हुन्थ्यो ।

घरसम्म पुग्थ्यो हल्ला

कलेजमा केटी साथीसँग बोलचाल गरेको कुरा घरसम्म पुग्थ्यो भन्ने सुन्दा अहिले त अचम्म लाग्ला । तर, त्यस्तै हुन्थ्यो । केटी साथीसँग कुराकानी ग-यो, सँगै हिँड्यो, चिया पियो भने त्यो कुरा घरमा आमाबुवासम्म पुगिहाल्थ्यो ।

 

कलेजमा केटी साथीसँग बोलचाल गरेको कुरा घरसम्म पुग्थ्यो । आमाबुवाले घुमाउरो पारामा भनिहाल्थे, ‘यताउता नगर्नु, पढाइमा ध्यान दिनु ।’ कति वेला त सीधै पनि भन्थे, ‘केटीसित नजानु है ।’

 

मेरो मात्रै होइन, अरूका पनि घरसम्म पुग्थ्यो । अझ केटी साथीहरूको घरमा के भन्दा हुन् । मेरो भने आमाबुवाले घुमाउरो पारामा भनिहाल्थे, ‘यताउता नगर्नु, पढाइमा ध्यान दिनु ।’ अझ कति वेला त सीधै पनि भन्थे, ‘केटीसित नजानु है ।’ त्यतिवेलाका साथीहरू अहिले भेट्दा त हँसीमजाक गर्छौं । ती दिन सम्झेर आफैँ अचम्ममा पर्छौं ।

सबै हात मिलाउन खोज्थे

एसएलसी बोर्ड फस्र्टको जति खुसी, उत्साह, आत्मबल हुन्छ, त्योभन्दा कैयौँ गुणा बढी दबाब पनि हुन्छ । अमृत साइन्स क्याम्पस गएको पहिलो दिनदेखि नै साथीभाइ आउने, हात मिलाउने, कुरा गर्न खोज्ने गर्न थाले । शिक्षक र त्यहाँका अरू कर्मचारी पनि बोलचाल गर्न खोजिहाल्थे ।

अहिलेजस्तो सेल्फी त थिएन, हात मिलाउने, कुरा गर्ने, सँगै चिया खाने असाध्यै हुन्थ्यो । झिँझो लाग्थ्यो । दिक्क हुन्थेँ ।

कक्षाभित्र पनि सबै मतिर हेर्थे । शिक्षकले पढाउँदा पनि मलाई नै बढी ध्यान दिन्थे । त्यसले झन दबाब हुन्थ्यो । कक्षाकोठाबाहिर निस्किँदा पनि अरू कक्षाका विद्यार्थी मलाई नै देखाएर इशारा गर्थे । ‘बोर्ड फस्र्ट हुने यहि हो’ भन्थे होलान्, तर मलाई भने गाह्रो लाग्थ्यो । अप्ठ्यारो महसुस हुन्थ्यो ।

कलेजबाट घर फर्किदा पनि त्यस्तै हुन्थ्यो । बाटोमा हिँड्न गाह्रो । थोरै मान्छे हुन्थे, उही कलेजका साथीभाइ हुन्थे, अर्कै ग्रहको मान्छे हो कि भन्ने जसरी हेर्थे ।

बोर्ड फर्स्टको दबाब

बोर्ड फर्स्ट हुनुको अर्को दबाब पढाइमा हुन्थ्यो । सबै विषयमा त म पनि कहाँ उत्कृष्ट हुन्थेँ र । सधैँ सबै विषयमा राम्रो त गर्न सकिँदैन नि । फिजिक्स, केमिस्ट्री गाह्रो लाग्थे । अरू विषयमा त ९०–९५ सम्म नम्बर आउथ्यो तर फिजिक्स र केमेस्ट्रीमा कम हुन्थ्यो । यसो ६०, ६५ वा ७० सम्म आउँथ्यो । कम नम्बर आउँदा चर्चाको विषय भइहाल्थ्यो ।

शिक्षकहरू पनि यो विषयमा किन कम नम्बर आयो भनेर छलफल गरिहाल्थे । विद्यार्थीको त कुरै छाडाैँ, त्यो विषयमा किन कम नम्बर आयो भनेर चर्चा गर्थे । त्यसैले, यो बोर्ड फस्र्टको ट्याग सधैँ झुन्डिराख्थ्यो, दबाब बनाइराख्थ्यो ।

रमाइलो कोलकाता

अमृत साइन्स क्याम्पसबाट २०३३ मा आइएस्सी गरेपछि छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न भारतको कोलकाता गएँ । त्यतिवेला नेपालमा इन्जिनियरिङको पढाइ हुँदैनथ्यो, पुल्चोक कलेजमा ओभरसियरको मात्रै पढाइ हुन्थ्यो । बंगाल इन्जिनियरिङ कलेजमा भर्ना भएपछि जीवनको गति नै अर्कै भयो ।

कलेजकै होस्टेल थियो, त्यही बस्थ्यौँ । नेपालभन्दा त्यहाँ खुला थियो । एसएलसी टपर हुनुको दबाब थिएन, साथीभाइले चियोचर्चा गर्लान्, घरमा कुरा पुग्ला भन्ने चिन्ता पनि थिएन । पढाइ त मुख्य भयो नै त्योबाहेक पनि जिन्दगी थियो, कोलकातामा । रमाइलो पनि गथ्र्यौ । घुमघाम गर्न त आनन्द आउँथ्यो ।

पढाइ पनि यहाँको भन्दा राम्रो थियो । उत्तिकै गाह्रो पनि थियो । आर्किटेक्ट इन्जिनियरिङको विद्यार्थी, मिहिनेत त खुब गर्नुपथ्र्यो नै । दिनभरि थ्यौरीका कक्षा लिन्थ्यौँ, रातभरि प्राक्टिकल गथ्र्यौं । कति रात त अनिँदो नैै बिते । जे पनि गर्न सकिने, जस्तो गाह्रोसाह्रो सामना गर्न पछि नपर्ने, असम्भवलाई पनि सम्भव तुल्याउने समय नै त्यही हो ।

चिया पकाउने त प्रख्यात !

इन्जिनियरिङ पढ्दा समूहमै लेखाइपढाइ हुन्थ्यो । राति समूहमै बसेर प्राक्टिकल गथ्र्यौं । सबै उस्तै कहाँ हुन्छन्, कोही अल्छी पनि हुन्छन् । अल्छी गर्नेले चिया पकाउनुपथ्र्यो, खाजाको व्यवस्था गर्नुपथ्र्यो रातभरि ।

निद्रा नलागोस् भनेर गीत सुन्ने गथ्र्यौं । त्यतिवेला अहिलेजस्तो सजिलो थिएन, क्यासेट प्लेयरको जमाना पनि होइन । एलपी रिकर्डस् प्लेयर चलाउँथ्यौँ, त्यसलाई घरी–घरी फर्काउनुपथ्र्यो । त्यो काम पनि अल्छी गर्नेकै हुन्थ्यो ।

एकजना साथी खुब अल्छी थियो । प्राक्टिलक गर्न बस्दा ऊ चिया, एलपी रिकर्डस् प्लेयर ठीकठाक पार्नतिर लाग्थ्यो । एलपी रोकिँदा ऊ आफैँ गीत गाएर निद्रा भगाउँथ्यो, राम्रो गाउँथ्यो । मलाई लाग्थ्यो, हामीहरू त केही गरौँला तर यो के गर्ला ?

कसरी जिन्दगी चलाउला ? पढाइ गर्दैन, कतै हामीले पनि बिगारिरहेका त छैनौँ भन्ने सोच्थेँ । तर, केही वर्षअघि कोलकाता जाँदा भेटेको त प्रख्यात भइसकेछ । ठूलो आर्किटेक्ट कम्पनी चलाएर बसेको रहेछ । अचम्म लाग्यो, खुसी पनि भएँ ।

जहिल्यै फिल्मको पहिलो सो

हाम्रो कलेजको नजिकै फिल्म हल थियो । नयाँ फिल्म रिलिज भयो कि त्यहाँ आइहाल्थ्यो । नेपालमा खासै फिल्म हेर्न नपाएको, पाए पनि पुराना फिल्म मात्रै आउँथे । त्यहाँ त सधैँ फिल्म हेर्न थाल्यौँ । नयाँ फिल्मको त जहिल्यै पहिलो सो छुटाउँदैन्थ्यौँ । कहिले समूहमा त कहिल्यै एक्लै पनि जान्थेँ ।

कोलकाताको अर्को रमाइलो साँझपख हुन्छ । घुम्न आनन्द हुन्छ । खुब घुम्थ्यौँ । केटोकेटी साथी भएर पनि घुम्थ्यौँ । ती दिन त अहिले पनि सम्झिँदा रमाइलो लाग्छ ।

सगरमाथाको सम्पादक

स्कुलदेखि नै साहित्यमा रुचि थियो । स्कुल, कलेज पढ्दा कविता नलेख्ने को होला र ! तर, उमेर र त्यो समयले मात्रै होइन, मेरो रुचि नै थियो । नेपालमा छँदा त कथा, कविता लेख्ने वातावरण र समय मिलेन । कोलकातामा नेपाली संघ थियो । म त्यसको दुई वर्ष सचिव र दुई वर्ष कोषाध्यक्ष रहेँ ।

त्यसले साहित्यिक पत्रिका सगरमाथा प्रकाशन गथ्र्यो । म त्यसको सम्पादक थिएँ । त्यसमा खुब कविता र कथा लेखेँ । त्यो सिर्जनशील समय थियो । अहिले पनि लेख्छु, पढ्छु, तर त्यो समयको जस्तो जोस, जाँगर र लगनशीलता त कहाँ हुनु ।

दिल्लीको एउटै होस्टेल

चार वर्ष कोलकातामा पढेपछि दिल्ली गएँ, मास्टर्स गर्न । नयाँदिल्लीस्थित स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरमा अर्कै वातावरण थियो । केटाकेटीमा कुनै विभेद थिएन । एउटै होस्टेल थियो, सबै त्यहीँ बस्थ्यौँ । केटाकेटी बोलचालै नगर्ने स्कुलबाट गएको मान्छे, त्यहाँ त सुरु सुरुमा त अचम्म लाग्यो ।

भिज्दै गएपछि सामान्य बन्दै गयो । तर, अमृत साइन्स क्याम्पस र बंगाल इन्जिनियरिङ कलेजमा पढ्दाजस्तो समय पनि रहेन । त्यहाँ त रमाइलोभन्दा पनि पढाइमा केन्द्रित भइयो । सबै विद्यार्थी पढाइमा तल्लीन हुन्थे, कारिअरकै चिन्ता हुन्थ्यो । अब के गर्ने ? कहाँ काम गर्ने ? भन्ने सोच्न सुरु भइसकेको थियो ।

राजनीतिबाट टाढा

अहिले जस्तो स्कुलदेखि नै राजनीति सुरु हुँदैनथ्यो । कलेजमा पनि त्यही थियो । अमृत साइन्स क्याम्पस कहिलेकाहीँ बन्द त हुन्थ्यो, तर कसले गरेको हो भन्ने थाहै हुँदैनथ्यो । खुला राजनीति थिएन । त्यसैले, नेपालमा पढुन्जेलसम्म राजनीतितिर लागिएन, पढाइमै केन्द्रित भइयो ।

भारतमा गएपछि पनि राजनीति नजिक भइएन । त्यहाँको वातावरण नै अलग थियो । छात्रवृत्तिमा पढ्न गएका थियौँ, होस्टेलको बसाइ हुन्थ्यो, रात–दिन मिहिनेत गर्नुपथ्र्यो । त्यो, राम्रो पनि हो । स्कुल र कलेजमा राजनीति गर्नु हुँदैन, त्यो त नितान्त लेखपढ, सिक्ने सिकाउने काम मात्रै हुनुपर्ने ठाउँ हो । त्यो सिर्जनशिल जनशक्ति निर्माण हुने ठाउँ हो, राजनीतिबाट टाढै राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया