logo

bar

यसरी बढ्दै छ समाजमा साइबर अपराध

टेकराज थामी/नयाँ पत्रिका काठमाडौं, २९ वैशाख | बैशाख २९, २०७५

यसरी हुन्छ विदेशीबाट फेसबुकमार्फत ‘सेक्सटोर्सन’

घटना १
काभ्रेकी १९ वर्षीया एक युवतीलाई सन्तोष वलिभर नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । सुरुमा उनले इग्नोर गरिन् । तर, रिक्वेस्ट रोकिएन । करिब तीन महिनाको पेन्डिङपछि रिक्वेस्ट एसेप्ट गरिन् । अब दुईबीच कुराकानी हुन थाल्यो ।

सन्तोष बंगलादेशमा रहेछन् । उनले बंगलादेशका रोचक प्रसंग बडो उत्साहका साथ सेयर गर्न थाले । यसबाट युवती प्रभावित बनिन् । अब उनले पनि नेपालको सन्दर्भमा गफ दिन थालिन् । निकै महिना दुईबीच च्याट चल्यो । यही क्रममा सन्तोषले युवतीलाई ‘आई लभ यु’ भने । सन्तोषको प्रस्तावबाट युवती रोमाञ्चित भइन् । उनले पनि जवाफमा ‘आई लब यु टु’ लेखी पठाइन् ।

अब दुईबीच माया पिरतीबाट गफ चल्न थाले । घन्टौँसम्मको गफबाट दुवै रोमाञ्चित हुन्थे । यस क्रममा उनीहरूबीच भ्वाइस च्याट हुनथाल्यो । गतिविधि यतिमा टुंगिएन । दुईबीच भिडियो कन्फरेन्स हुनथाले । यही क्रममा अब सन्तोषले आफ्ना नाङ्गो शरीरका फोटो पठाउन थाले । उनले युवतीलाई सोही गर्न भने । सुरुमा युवती मानिनन् । तर, पछि उनले पनि आफ्ना शरीरका नांगो फोटो पठाउन थालिन् ।

फोटोबाट सुरु भएको सम्बन्ध अब भिडियो ‘लाइभ’मार्फत पनि एकले अर्काको शरीर हेर्ने क्रमसम्म पुग्यो । यही क्रममा संवेदनशील अंगका फोटो तथा भिडियो पनि आदानप्रदान चल्यो । दुवैबीचको खुसामद रोमाञ्चित ढंगले अघि बढ्दै थियो यही क्रममा सन्तोषले एक दिन युवतीसँग १४ हजार अमेरिकी डलर आवश्यक परेको सुनाए । युवती चुपचाप रहिन् । सन्तोषले अब २५ हजार अमेरिकी डलर आवश्यक परेको सुनाए । युवती यसपटक पनि चुपचाप नै रहिन् । केही दिन दुईबीचको सम्वाद रोकियो । युवती आफ्नै धुनमा लागिन् ।

केही दिनपछि युवतीको च्याट बक्समा एउटा एसएमएस आयो । एसएमएस सन्तोषकै फेसबुक आइडीबाट आएको थियो । जहाँ भनिएको थियो, ‘मलाई २५ हजार अमेरिकी डलर देऊ । नत्र तिम्रो भिडियो पोर्न वेभमा भाइरल बनाइदिन्छु ।’ म्यासेजमा पैसा दिन बंगलादेश आउन भनिएको थियो ।

युवती अब भने छाँगाबाट खसेझैँ भइन् । अब के गर्ने कुनै मेसो पाउन सकिनन् । सन्तोषको धम्की रोकिएन । उनले युवतीको फोटो तथा भिडियो रेकर्ड गरेका थिए । उक्त फोटो र भिडियो पुनः युवतीलाई पठाउन थाले । हुँदाहुँदा युवतीको भिडियो पोर्न वेभमा अपलोड गरेको फोटोसमेत ‘स्क्रिन सर्ट’ गरेर युवतीलाई म्यासेज गर्न थाले ।

तनाबमा रहेकी युवतीले समस्या दिदीसँग भनिनन् । यस्तो गतिविधिबाट दिदी छक्क परिन् । अब उनीहरूलाई यसको कानुनी उपचार खोज्ने जुक्ति फु-यो । दुवैजना महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा उजुरी दिन पुगे । प्रहरीले सन्तोष नामको फेसबुक आइडीमाथि अनुसन्धान सुरु ग-यो । उक्त आइडी बंगलादेशस्थित ग्रामीण टेलिकमको आइपी सर्भर प्रयोग गरी खोलिएको रहेछ । जसलाई नेपालको साइबर कानुनले छुँदैन ।

फेसबुक आइडी बन्द गर्न प्रहरीले सिंगापुरस्थित फेसबुकको एसिया प्यासेफिक रिजन आफिमलाई पत्र लेख्यो । तर, उसले आइडी बन्द गर्न नसक्ने व्यहोराको पत्र लेख्यो । अन्ततः प्रहरी बंगलादेश नै पुग्यो । बंगलादेशका प्रहरीलाई उक्त व्यक्ति पक्राउ गर्न नेपाल प्रहरीले अनुरोध ग-यो । तर, बंगलादेश प्रहरीले उक्त व्यक्तिलाई अझैसम्म पक्राउ गरेको छैन ।

घटना २
काठमाडौंका २६ वर्षीय एक युवक र पिलिपिन्सकी एक युवतीबीच फेसबुकमा गफ हुन थाल्यो । फोन नम्बर आदानप्रदान भयो । गफ अब भाइबरमा पनि सुरु भयो । घन्टौँसम्म दुईबीच गफ चल्थे । गफमा उनीहरू रमाइरहेका थिए ।

एक दिन युवकको च्याट बक्समा युवतीको न्युड फोटो आयो । यसले युवकलाई खुब रोमाञ्चित बनायो । युवकले ‘नाइस’ रिप्लाइ दिए । हौसिएकी युवतीले अब न्युड भिडियो नै पठाउन थालिन् । यही क्रममा उनले युवकलाई पनि त्यस्तै गर्न प्रस्ताव गरिन् । युवकले प्रस्ताव स्वीकार गरे । अब उनले पनि न्युड फोटो र भिडियो खिचेर पठाउन थाले । यसै क्रममा अब लाइभ भिडियोसम्म पुग्यो ।

दुवैजना रमाइरहेका थिए । यही क्रममा युवतीले युवकलाई दुई हजार अमेरिकी डलर मागिन् । उक्त रकम पठाउन युवक राजी पनि भए । युवतीसँग बैंक एकाउन्ट मागे । पैसा पठाउन अब युवक बैंक पुगे । तर, बैंकले पैसा पठाउन मानेन । विनाप्रयोजन बाहिरी मुलुकमा पैसा पठाउन नसक्ने बैंकको धारणा थियो । उनले सो कुरा युवतीलाई भने ।

युवतीले अब उक्त भिडियो पोर्न बैंकमा हाल्ने धम्की दिन थालिन् । फेसबुक वालमा भिडियो अपलोड गरी भाइरल बनाइदिने भन्न थालिन् । तनाबमा आएका युवा अब कानुनी उपचारका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा पुगे । प्रहरीले घटना अनुसन्धान ग-यो । युवतीको भेषमा भिडियो पठाउने उक्त व्यक्ति फिलिपिनो प्रहरी भएको खुल्यो । उसलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । किनकि, नेपालको साइबर कानुनको क्षेत्राधिकारभित्र त्यो समेटिँदैन ।

बढ्दै साइबर अपराध
प्रहरीको तथ्यांकअनुसार सामाजिक सञ्जाल प्रयोगबाट हुने साइबर अपराध प्रत्येक दिन बढेको देखिन्छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको तथ्यांकअनुसार यस्ता घटना प्रत्येक वर्ष ३१ प्रतिशतका दरले वृद्धि भएका छन् । तथ्यांकअनुसार आव ०७३-७४ मा साइबर अपराधबाट एक हजार एक सय ९७ पीडित भएका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा तीन सय ६७ ले धेरै हो । आव ०७२-७३ मा आठ सय ३० जना साइबर अपराधबाट पीडित बनेका थिए । त्यसभन्दा अघिल्लो आव ०७१ -७२ मा भने साइबर अपराधबाट पीडित हुनेको संख्या तीन सय पाँचवटा मात्रै थियो ।

महाशाखाका एसपी उप्रेतीले पछिल्ला दिनमा सामाजिक सञ्जालबाट हुने साइबर अपराध बढेको बताए । उनले भने, ‘महाशाखामा उजुरी गर्न आउनेमध्ये अहिले सबैभन्दा धेरै साइबर अपराधका मुद्दा छन् । यो संख्या प्रत्येक दिन बढिरहेको छ । हाम्रो तथ्यांकअनुसार प्रत्येक दिन यस्ता घटनाका कम्तीमा पनि १० वटा उजुरी आउने गर्छन् ।’

संगठित अपराधमा सामाजिक सञ्जाल प्रयोग
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्यामा अपराधीले सूचना संकलन गर्न भाइबर र फेसबुक प्रयोग गरेका थिए । यही कारण अपराधीसम्म पुग्न प्रहरीलाई निकै समय लाग्यो । यो तथ्यलाई नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख डिआइजी पुष्कर कार्कीले पनि स्वीकार गरेका छन् । सार्वजनिक रूपमै उनले भनेका थिए,‘गौचन हत्यामा सूचना संकलन गर्न अपराधीले भाइबर र म्यासेन्जर अधिक प्रयोग भयो । जसका कारण प्रहरीको अनुसन्धान नै प्रभावित बन्न पुग्यो ।’

यति मात्र नभई सामाजिक सञ्जाल प्रयोगकै कारण गौचन हत्याका मुख्य योजनाकार मानिएका समीरमानसिंह बस्नेतविरुद्धको अभियोग प्रमाणित गर्नसमेत प्रहरीलाई मुस्किल परेको थियो ।

नेपालमा सामाजिक सञ्जाल (सोसल मिडिया) को ‘ट्रेसिङ’ प्रणाली नभएको हुँदा यस्तो हुनपुगेको डिआइजी कार्कीले बताए । उनले भने,‘संगठित तथा गम्भीर प्रकृतिका अपराधमा सामाजिक सञ्जाल प्रयोग भएका छन् । तर, यसलाई कन्ट्रोल गर्ने मेकानिजम हामीकहाँ छैन । त्यसो हुँदा सामाजिक सञ्जालमार्फत गरिएका कुराकानी कतै पनि रेकर्ड हुन सक्दैनन् । अपराधीले यसैको फाइदा उठाएका छन् । यसको सीधा असर अनुसन्धानमा परेको छ ।’

दूर सञ्चार प्राधिकरण पनि सामाजिक सञ्जाल सरकारको नियन्त्रणभित्र नहुँदा अपराध अनुसन्धानमा गम्भीर असर परेको बताउँछ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले चन्दा असुली, धम्की, मर्डरलगायतका गम्भीर तथा संगठित अपराधमा सामाजिक सञ्जालको प्रयोग भएको बताए । उनले भने, ‘गम्भीर प्रकृतिको अपराधमा सामाजिक सञ्जाल प्रयोग भएका छन् । अनुसन्धानमा खटिएका प्रहरी सामाजिक सञ्जालमार्फत गरिएका कुराकानीको रेकर्ड लिन हामीकहाँ आउँछन् । हामीले भन्ने नेपाल टेलिकम या एनसेललाई हो । तर, उनीहरू रेकर्ड दिन सक्दैनन् । किनकि, उनीहरूसँग सामाजिक सञ्जालको रेकर्ड गर्ने सिस्टम नै छैन ।’

यसरी पर्छ अपराध अनुसन्धानमा प्रभाव
नेपालका सबै सामाजिक सञ्जाल अमेरिकास्थित सर्भरमार्फत सञ्चालित छन् । सामाजिक सञ्जालमार्फत गरिएका फोन तथा च्याटको सबै रेकर्ड सर्भरमार्पmत अमेरिका नै पुग्छ । त्यसो हुँदा नेपालमा सामाजिक सञ्जालमार्फत गरिएका फोन कल तथा च्याटको रेकर्ड अमेरिकास्थित सम्बन्धित सेवा प्रदायक कम्पनीकै कार्यालयमा हुन्छ । उक्त रेकर्ड उनीहरू जोकोहीलाई उपलब्ध गराउँदैनन् । उपलब्ध गराउनुपर्ने बाध्यता पनि उनीहरूलाई छैन ।

प्रविधिको यस्तो किसिमको संगठित अपराधमा संलग्न अपराधी जानकार छन् । त्यसैले उनीहरू सूचना संकलन गर्न, धम्काउन, चन्दा असुली गर्न, योजना बाँडफाँड गर्न सामाजिक सञ्जालको प्रयोग गर्छन् । अनुसन्धानमा खटिएका प्रहरीले यसको सुइँको पाउँछन् । तर, उनीहरूलाई यसका लागि रेकर्ड चाहिन्छ । रेकर्ड लिन उनीहरू नेपाल टेलिकम या एनसेलमा पुग्छन् । उनीहरू त्यसको रेकर्ड लिन सक्दैनन् । किनकि, उनीहरूसँग सामाजिक सञ्जाल ‘ट्रेस’ गर्ने अधिकार छैन । न त्यस्तो प्रणाली नै उनीहरूले प्रयोगमा ल्याउन सकेका छन् । त्यसो हुँदा प्रहरीले अपराधीविरुद्ध लागेको अभियोग प्रमाणित गर्न सक्दैन ।

विद्युतीय कारोबार ऐनले छुँदैन सामाजिक सञ्जाललाई
सामाजिक सञ्जालमार्फत गरिएको ‘मोबाइल कल’ तथा ‘च्याट’ को ‘डिटेल हिस्ट्री’ सामाजिक सञ्जालको प्रधान कार्यालयबाहेक अन्य ठाउँमा हुँदैन । नेपालमा प्रयोग हुने अधिकांश सामाजिक सञ्जालको प्रधान कार्यालय अमेरिकामा छन् । सामाजिक सञ्जालमार्फत गरिएका ‘मोबाइल कल’ तथा ‘च्याट’को ‘डिटेल हिस्ट्री’ लिनुपर्दा उक्त कार्यालयमा निवेदन दिनुपर्छ । तर, माग बमोजिमको ‘मोबाइल कल’ तथा ‘च्याट’ को ‘डिटेल हिस्ट्री’ उपलब्ध गराउन उक्त कार्यालयलाई कुनै कानुनी बाध्यता छैन । त्यसो हुँदा उसले मागिएको विवरण दिँदैन ।

विद्युतीय करोबार ऐनअन्तरर्गत अभियुक्तविरुद्ध कारबाही अघि बढाउन यसको ‘मोबाइल कल’ तथा ‘च्याट’को ‘डिटेल हिस्ट्री’ आवश्यक पर्छ । विवरण नै नभएपछि अभियुक्तविरुद्धको मुद्दा प्रमाणित गर्ने कुनै आधार हुँदैन । त्यसो हुँदा सामाजिक सञ्जालमार्फत् गरिएका अपराध विद्युतीय करोबार ऐनले छुँदैन । पछिल्ला दिनमा अपराधीले यसैको फाइदा उठउँदै अपराध कार्यमा सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पाइएको छ ।

पुष्कर कार्की, डिआइजी सिआइबी

नेपालमा सामाजिक सञ्जाल (सोसल मिडिया) को ‘ट्रेसिङ’ प्रणाली नभएको हुँदा अनुसन्धानमा असर परेको हो ।

संगठित तथा गम्भीर प्रकृतिका अपराधमा सामाजिक सञ्जाल प्रयोग भएका छन् ।

तर, यसलाई कन्ट्रोल गर्ने मेकानिजम हामीकहाँ छैन । त्यसो हुँदा सामाजिक सञ्जालमार्फत गरिएका कुराकानी कतै पनि रेकर्ड हुन सक्दैनन् ।

अपराधीले यसैको फाइदा उठाएका छन् । यसको सीधा असर अनुसन्धानमा परेको छ ।

सामाजिक सञ्जाल जसको टाडा ‘ट्रेसिङ’ हुँदैन
मुलकभर अहिले फेसबुक, भाइबर, ह्वाट्स अप, म्यासेन्जर, स्काइप, इन्ट्राग्राम, इमोलगायतका सामाजिक सञ्जाल सञ्चालित छन् । यसमध्ये कुनै सेवा प्रदायक सामाजिक सञ्जालको सर्भर मोनिटरिङ तथा ‘ट्रेसिङ’ प्रणाली नेपालमा छैनन् । त्यसो हुँदा यसका डाटा प्रहरीले चाहेका वेला झिक्न सक्दैन । यसका सीधा असर अपराध अनुसन्धानमा परिरहेको छ । यसैको फाइदा उठउँदै अपराधीले अपराध कर्म गरिरहेका छन् ।

नेपालीबाट पनि ‘सेक्सटोर्सन’
नेपाली सर्ट मुभिकी नायिक सरिना शर्मा (परिवर्तित) प्रेमीसँग खुसी थिइन् । उनीहरू काठमाडौंमै लिभिङ टुगेदरमा थिए । त्यसो हुँदा दुईबीच सबै खालका सम्बन्ध भइसकेका थिए । यही क्रममा दुईबीच राजीखुसीसँगै शारीरिक सम्बन्धको भिडियो खिचियो । भिडियो दुवैले सेयर गरे । दुईबीच विवाहको कुरा चल्दै थियो । अचानक दुईबीच खटपट भयो । बोलचाल बन्द भयो । सम्बन्धमा खटपट आयो ।

यही क्रममा दुईबीच शारीरिक सम्बन्ध भएको भिडियो यु ट्युबमा पोस्ट भयो । भिडियो रातारात भाइरल बन्यो । सरिना तनाबमा परिन् । कानुनी उपचारका लागि उनी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा पुगिन् । अनुसन्धानपछि थाहा भयो, उनको भिडियो उनकै फेक आइडी बनाएर अपलोड गरिएको रहेछ । प्रहरीको अनुरोधपछि उनको भिडियो भने हटाइसकिएको छ । तर, घटनालाई प्रहरीले सार्वजनिक गरेको छैन । अनुसन्धानकै क्रममा भएकाले घटना सार्वजनिक नगरिएको महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले बताए । उनले भने,‘अपलोड भएको भिडियो हटाइएको छ । घटना शंकास्पद छ । अनुसन्धान भइरहेको छ । यस सम्बन्धमा थप नभनौँ ।’

पीडित भनिएकी युवतीले उक्त भिडियो ‘ब्ल्याकमेल’ सफल नभएपछि लिक गराएको सार्वजनिक गरेकी छिन् । उनले भनेकी छिन्,‘सानो गल्तीले भिडियो खिचियो । त्यसमा देखिएका पुरुष मेरै प्रेमी हुन् । मेरो फेक आइडी बनाएर भिडियो अपलोड भयो । ब्ल्याकमेल सफल नभएपछि यस्तो गरिएको हो । यसले मलाई अहिले मर्नु न बाँच्नु बनाएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु