logo

bar

अग्नि सापकोटा ४२ वर्षअघि पढाएको गाउँ पुग्दा…

नयाँ पत्रिका काठमाडाैँ, २९ वैशाख | बैशाख २९, २०७५

पानी पर्ला–पर्ला जस्तो भइरहेको थियो । हामी लिस्तीबाट झर्दै थियाेँ । मेरो मन उमंगित भइरहेको थियो । त्यहीवेला मेरा पूर्वविद्यार्थीका छोरा आङछिरिङको फोन आयो । मैले फोन उठाएँ ।

उनले भने, ‘मोटरबाटो निकै अप्ठेरो छ, पैदल जाने कि मोटरबाट ?’ मैले भनेँ, पैदल जाँदा ठीक लाग्छ भने पैदलै जाऔँ । मोटरबाट जाँदा ठीक लाग्छ भने मोटरबाटै जाऔँ ।

तातोपानीभन्दा केही तल हाम्रो भेट भयो । ‘स्मल हेभेन’मा बसेर कुराकानी ग-यौँ ।आखिर मोटरमै जाने टुंगो भयो ।

२०३२ साल माघ २ गते म प्राथमिक शिक्षकमा नियुक्त भएर ४२ वर्षअगाडि भूमिराज प्राथमिक विद्यालयमा पुगेको थिएँ । बोलेरो गाडी उकालो लाग्दै गर्दा मेरो स्मृतिपटलमा ४२ वर्षअगाडिका दृश्य सिनेमाका रिलझैँ घुमिरहेका थिए ।

तत्कालीन वडाध्यक्ष फौद सिंह स्मृतिमा आए । किनकि, म कैयौँ दिनसम्म उनको घरमा बसेको थिएँ । अरू घरबेटीलाई पनि सम्झिरहेको थिएँ जसले मलाई स्नेह दिएका थिए त्यसवेला । विभिन्न घुम्ती र मोडहरूमा गाडी घुमिरहेको थियो र मेरो यो ठाउँको बसाइका चार दशकअघिका अनेक घुम्ती दिमागमा आइरहेका थिए ।

घिसिङ डाँडामा पुगेपछि केही साथी पछिल्लो गाडीलाई कुर्ने कि भनिरहनुभएकोथियो । तर, बोक्चेन गाउँमा चाँडो पुग्ने अधीरताले मलाई गाँजिसकेको थियो । हामी ओरालो लायौँ । १५ मिनेटमा आइपुग्यो बोक्चेन गाउँ ।

०००

सबैभन्दा पहिले आपूmले पढाएको गुम्बाको आँगनमा पुगेँ । एक त ४२ वर्षअघिको समय, दोस्रो भूकम्पले तहसनहस भएको बस्ती, तेस्रो मोटरबाटो बनाउन डोजरले जोतेको जमिन । मलाई गाउँ नौलो नौलो लागिरहेको थियो । पहिलेका कुराहरूको यकिन भेउ भइरहेको थिएन ।

त्यसपछि, हामी गुम्बाका मूल लामा लोक्साङ लामाको घरमा पुग्याैँ । लामा दम्पतीले हामीलाई बडो खुसी हुँदै आदरभावका साथ स्वागत गर्नुभयो । त्यहाँबाट बाटोमा पर्ने घरघर पस्दै आङछिरिङको घरमा पुग्याैँ ।

त्यतिबेर साँझको सात बजिसकेको थियो । गाउँका सबैजसो दाजुभाइ–दिदीबहिनी जम्मा हुनु भयो । धेरै प्रेमपूर्वक कुराकानी भयो । आफ्नो गाउँमा चार दशकअघि आएको शिक्षक राष्ट्रिय पार्टीको केन्द्रीय नेता र निर्वाचित सांसद्का रूपमा आफ्नो आँगनमा उपस्थित हुंँदा गाउँलेहरू रोमाञ्चित भइरहनुभएको थियो ।

‘आफ्नै गाउँघरमा यति ठूलो नेतालाई भेट्न पाउनु हाम्रो ठूलो भाग्य हो,’ सबैजसो गाउँलेले एक स्वरमा भन्नुभयो । शेर्पा जातिको बाहुल्यता रहेको गाउँमा नेवार, दलित र मगरहरूको बसोवास छ । आफैँले पढाएका केही विद्यार्थी मभन्दा पाकाजस्ता भइसक्दा मलाई भने आफू अझै युवा भएको महसुस भइरहेको थियो ।

म महिनाको कम्तीमा सात/आठ दिन आफ्नो निर्वाचन क्षेत्र वा जिल्लाका गाउँमा पुग्छु । त्यहाँ पुग्दा अधिकांश समय गुनासा र मागले भरिन्छन् ।

तर, यहाँ आज अलि फरक भइरहेको थियो । कसैले कुनै गुनासो पनि गर्नुभएन । कुनै माग पनि राख्नुभएन । सपनामा पनि नचिताएको मोटरबाटो बनेकोमा उहाँहरू दंग हुनुहुन्थ्यो । आफ्नै घरदैलोमा नेतासँग, आफ्नो क्षेत्रको सांसदसँग भलाकुसारी गर्न पाउँदा नै प्रफुल्ल हुनुहुन्थ्यो ।

उहाँहरूको स्वच्छ र निश्चल मायाले मलाई अह्लादित बनाइरह्यो । कतिकति वेला उहाँहरूको अगाध श्रद्घा र विश्वास प्रकट हुँदा द्रवीभूत नै भएँ । कुराकानीका क्रममा एकजना दिदीले भन्नुभयो, ‘हामीलाई यति खुसी लागेको छ । आज त हामी रातभर जागै बस्न पनि सक्छौँ ।’ दिदीको कुरामा सबैले समर्थन जनाए ।

राति निकै अबेरसम्म हामीले विगतका कुरा गरेर बितायौँ । तर, भोलिपल्टको कार्यक्रमलाई ध्यान दिएर मध्यरात कटेपछि सुत्ने निर्णय गरियो ।

०००

भोलिपल्ट बिहान गाउँमा बन्दै गरेको विद्यालय भवनको निरीक्षण गर्न गएँ । अहिले स्कुल मैले पढाएको वेला रहेको स्थानभन्दा अलि तल सारिएको रहेछ । विद्यालयमा जम्मा भएका गाउँलेहरूसँग त्यहाँको पढाइका बारेमा अनौपचारिक अन्तक्र्रिया भयो । त्यति गर्दा बिहानको ८ बजिसकेको थियो ।

वास बसेको घरमै फर्कें । घरको आँगनमा मैले पढाएका विद्यार्थी १५ जनाभन्दा बढी पूर्वविद्यार्थीसहित गाउँका प्रायः सबै भेला हुनुभएको थियो । गाउँमा अभाव छ, विकासका किरण पुग्न बाँकी छन् तथापि सबैजसो हासीखुसी नै छन् । म अचम्ममा पर्छु, विकास छ भनिएको सहरमा मानिसहरू हाँस्न बिर्सेका जस्ता छन्, तर गाउँका मानिस अभावका बीच पनि खुसी नै छन् ।

कुराकानीमा सबै दिल खोलेर आफ्ना कुरा राख्छन् । उनीहरूले आफ्नै अभिभावकजस्तै ठानेर पूरै खुलेर आफ्ना भावना खन्याए । महिला होउन् कि पुरुष, किशोरकिशोरीदेखि वृद्घवृद्धासम्मले आफ्ना मनका भाव राख्नुभयो ।

अन्तक्र्रियाको अन्ततिर मलाई गहिरो अनुभूति भयो । ‘हामी नेतृत्वमा रहेकाहरूलाई जनताको मायाभन्दा अर्को कुनै ठूलो सम्पत्ति छैन ।’ हृदयको भित्रि तहदेखि नै भावना उर्लेर आयो । जीवनको अन्तिम घडीसम्म जनताको सेवामा समर्पित हुने प्रण गर्दा आफैँलाई आत्मगौरव भयो ।

आजको छलफलमा केहीले केही माग राख्नुभयो, तर निकै शालीन तरिकाले । ‘बाटो, विद्यालय, स्वास्थ्य उपचार, बिजुलीदेखि खानेपानीसम्मको अवस्था तपाईंले आफ्नै आँखाले देखिहाल्नुभयो । विवेक राखिदिनुहोला ।’

भोटेकोसी गाँउपालिकाका अन्य गाउँवासीहरूको जस्तै वोक्चेनवासीहरूको पनि तातोपानी नाका चाँडो खुलोस् भन्ने माग विशेष थियो । नाका बन्द हुँदा रोजगारीका अवसर झन् संकुचित भएको यस विकट बस्तीका मानिसलाई जीवन जिउन झन्झन् गाह्रो भइरहेको पीडा वेलावेला प्रकट हुन्थ्यो ।

०००

त्यसै दिन अरू धेरै कार्यक्रम भ्याउनु थियो । बिहानको १० बजेतिर खाना खाएर तातोपानीतिर पैदलै झ-याैँ । डोजरले बाटो खन्ने क्रममा बाटो झन् बिग्रिएको थियो । कतिपय ठाउँमा त पैदल हिँड्न पनि अत्यधिक जोखिमपूर्ण । तर, जोखिममा पनि छुट्टै आनन्द थियो ।

११ बजेतिर तातोपानी नाकाको मितेरी पुल पुग्याैँ । मितेरी पुलपारि चिनियाँ भू–भागमा रहेको एउटा भवनमा चिनियाँ जनमुक्ति सेनाका क्याप्टेन फेइसँग कुराकानी भयो । उनले चिनियाँ क्षेत्रतर्फ भइरहेको सडक सुधार र अन्य तयारीबारे जानकारी गराए । छलफल अत्यन्त आत्मीय र सकारात्मक भयो । उनले हाम्रो सन्देश माथिल्लो तहमा पु-याउने आश्वासन दिए ।

लगत्तै अध्यागमन कार्यालयअगाडि बृहत् अन्तक्र्रिया कार्यक्रम भयो । त्यसपछि भूकम्प र भोटेकोशीले तहसनहस पारेको अत्यन्त जोखिमपूर्ण ठाउँहरूको निरीक्षण गरियो । पुनर्निर्माण भएको तातोपानी धारामा नुहाएर लार्चापुलको निरीक्षण र चिनियाँ सहयोगमा बनिरहेको सुख्खा बन्दरगाह निर्माणबारे जानकारी लिएँ । सबै कार्यक्रम सम्पन्न हुँदा साँझको ६ बजिसकेको थियो । साथीहरूसँग बिदा भएर म काठमाडौं लागेँ ।

तपाईको प्रतिक्रिया