logo

bar

एकता भाँड्न खोज्दा ओली र मलाई मदन भण्डारीले झन्डै पार्टीबाट निकाले : वामदेव गौतम

शुरोजंग पाण्डे काठमाडाैँ, २९ वैशाख | बैशाख २९, २०७५

०३६ साल जेठमा रुपन्देहीमा आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकमा मदन भण्डारीलाई मैले पहिलोपटक भेटेको थिएँ । हामीले पुष्पलाल समूहबाट सँगसँगै विद्रोह गरेका थियौँ । विद्रोहमा म रुपन्देहीबाट, उहाँ मोरङबाट नेपाल क्रान्तिकारी बुद्धिजीवी संगठनको सदस्यका रूपमा एउटा समूहको नेतृत्व गर्दै सामेल हुनुभयो ।

मदनसँगै बुद्धिजीवी संगठनका तत्कालीन अध्यक्ष युद्धप्रसाद मिश्र, महासचिव मोदनाथ प्रश्रित र सदस्य जीवराज आश्रितलगायतका साथीहरू पनि विद्रोहमा सामेल हुनुभएको थियो । तर, त्यहीबीचमा म पक्राउ परेकाले मदनसँग भेट हुन पाएन ।

जेलबाट छुटेपछि रुपन्देहीमा आयोजित तत्कालीन मालेको केन्द्रीय कमिटी बैठकमा मदनसहित सबै केन्द्रीय सदस्य साथीहरूसँग सामूहिक भेट भयो । त्यतिवेला भूमिगत नामबाट सामान्य परिचयबाहेक उहाँसँग अरू केही कुरा हुन पाएन । बैठक सकिएपछि उहाँ आफ्नो कार्यक्षेत्र फर्किनुभो, म नयाँ जिम्मेवारीका साथ गण्डकी र धौलागिरीमा पार्टी काममा खटिएँ ।

राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरेपछि…

०३६ सालकै फागुनमा सिरहामा आयोजित पार्टी सम्मेलनमा उहाँसँग दोस्रोपटक भेट भयो । म त्यही बैठकबाट केन्द्रीय सदस्यमा मनोनीत भइसकेपछि चाहिँ भेटघाट बाक्लिन थाल्योे । उहाँसँग राजनीतिक सम्पर्कबाहेक अरू विषयमा भने खासै कुरा हुन्नथ्यो । त्यतिवेला मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल, म, अमृत बोहोरालगायत एउटै कमिटीमा थियौँ ।

०३६ मा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरेपछि उग्रवामपन्थी विचार परित्याग गरेर सही र क्रान्तिकारी विचार ग्रहण गर्ने कुरामा पार्टीभित्र बहस र छलफल हुँदै गयो । लामो बहसपछि माओत्सेतुङ विचारधारा छाडेर हामीले माक्र्सवाद, लेनिनवाद विचार अँगाल्यौँ । सशस्त्र संघर्षको सट्टा जनआन्दोलन नै संघर्षको प्रमुख रूप हो भन्ने निष्कर्षमा पुग्यौँ ।

यसरी बने झलनाथ खनाल महासचिव

त्यतिवेला दुई विषयमा हामीबीच गम्भीर बहस भयो । एउटा, नेपालको प्रधान अन्तरविरोध र अर्को अब क्रान्तिको कार्यक्रम के हुनुपर्छ ? भन्नेमा । विषयको बहसमा मदन भण्डारीको बौद्धिकता प्रकट भयो । कहिले भारतीय विस्तारवाद, कहिले साम्राज्यवाद त कहिले भारत र साम्राज्यवादसँग संयुक्त अन्तरविरोध छ भन्ने कुरामा रुमल्लिएकै लामो बहसपछि हामी प्रधान अन्तरविरोध सामन्तवादसँग हो भन्ने निष्कर्षमा पुग्यौँ ।

तर, त्यो बहसमा महासचिव सिपी मैनालीले सही ढंगले पार्टीलाई नेतृत्व गर्न सक्नुभएन । बरु मदन भण्डारी पार्टीभित्र स्विकार्य नेताका रूपमा स्थापित हुँदै जानुभयो । सिपी मैनाली एक्लै एकातिर र बाँकी सबै केन्द्रीय सदस्य अर्कातिरको अवस्था पनि सिर्जना भयो । पहिले सिपीप्रति धेरै सम्मान भए पनि बहसका क्रममा धेरै आलोचना हुँदै गए ।

उहाँ प्राधिकार सम्पन्न नेता हुनुहुन्थ्यो । त्यसैले बहसका क्रममा आएका आलोचना उहाँले सहन सक्नुभएन । जतिजति आलोचना हुन्छ, त्यति नै मर्यादामा आँच पुगेको उहाँले ठान्न थाल्नुभयो र एक्लो पर्दै जानुभयो । त्यहीवेला महासचिव सिपीले गोप्य तरिकाले पार्टीको प्रतिवेदन जेलभित्र पठाउनुभयो । जेलमा आरके मैनाली, मोदनाथ प्रश्रितलगायतका नेताहरू हुनुहुन्थ्यो ।

तर, बाहिरै कुनै कमरेडले पत्र खोल्नुभएछ । ०३९ सालको कात्तिकमा महोत्तरीमा केन्द्रीय कमिटी बैठक बस्यो । पार्टी महासचिवले पार्टीभित्रको गोप्य कुरा सबै खोलेर जेलभित्र पठाउन खोजेको विषयमा छलफल भयो ।

पत्र केही गरी दुस्मनको हातमा परेको भए सबै गोपनीयता भंग हुन्थ्यो भन्ने निष्कर्ष निकाल्यौँ । र, आधारमा गल्तीप्रति आलोचना भयो । उहाँलाई पार्टी महासचिवबाट हटाउनुपर्ने माग उठ्यो । कारबाही निश्चित देखिएपछि अन्ततः उहाँले स्वेच्छामा पदबाट राजीनामा दिनुभयो, बैठकले उहाँको राजनीमा स्वीकृत ग-यो ।

हामीले त्यो बैठकमै मदनलाई महासचिवमा प्रस्ताव ग-यौँ तर उहाँले अस्वीकार गर्नुभयो । झापा संघर्षबाट उठेको नेतृत्व नै पार्टीको प्रमुख पदमा रहनुपर्छ भन्ने मान्यता बैठकमा प्रस्तुत गर्नुभयो । केन्द्रीय कमिटीमा बहुमत छ भन्दैमा सिपीलाई हटाएर झापा संघर्षभन्दा बाहिरबाट विकसित नेतृत्व छनोट गर्दा पार्टीमा विभाजन आउन सक्छ भन्ने मत मदनले राख्नुभयो ।

उहाँको त्यस्तो मान्यता सुनेपछि बैठकमा मुकुन्द न्यौपानेले झलनाथ खनाललाई प्रस्ताव गर्नुभयो, उहाँले पनि स्वीकार गर्नुभयो । अन्ततः बैठकबाट झलनाथ सर्वसम्मत महासचिव चुनिनुभयो । यसरी बौद्धिक क्षमता विकास गर्दै मदन भण्डारी त्यतिवेलै नेताका रूपमा स्थापित भइसके पनि उहाँ महासचिव बन्नुभएन । जेएनलाई मदनसहित हामी सबैले साथ दियौँ ।

सर्वसम्मत मदन भण्डारी महासचिव

महासचिव चुनिएको केही समयपछि पार्टी झलनाथ खनाल सम्पर्कविहीन हुनुभयो । प्रहरीले पछ्याएपछि पार्टीको गोपनीयता खुल्न सक्छ भन्ने डरले महासचिव झलनाथ सम्पर्कविहीन हुनुभएको रहेछ । त्यस सन्दर्भमा काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा पनि छलफल भयो । आफैँले परिकल्पना गरेर सम्पर्कविहीन हुने, परिस्थितिको सही आकलन नगर्ने महासचिव हट्नुपर्छ भन्ने आवाज बैठकमा उठ्यो ।

केही समयभित्रै महाधिवेशन हुन लागेकाले तत्कालका लागि नहटाउने र मदन भण्डारीलाई अबको नेतृत्व दिनुपर्छ भन्ने बैठकले निष्कर्ष निकाल्यो । ४/५ महिनाकै बीचमा महाधिवेशन गर्ने बैठकको निर्णय थियो । तर, साइकलमा चढेर हिँड्दै गर्दा प्रदीप नेपालले केही गोप्य कागज रहेको झोला बाटोमै खसाल्नुभएछ ।

गोपनीयता खुलेका कारण महाधिवेशनको मिति र स्थान परिवर्तन ग-यौँ । सिरहाको पहाडी क्षेत्रमा पार्टीको चौथो महाधिवेशन आयोजना ग-यौँ । त्यो महाधिवेशनमा संगठनात्मक प्रतिवेदन मदन भण्डारीले, विधान माधव नेपालले र राजनीतिक प्रतिवेदन झलनाथ खनालले प्रस्तुत गर्नुभयो । महाधिवेशनबाट मदन भण्डारी सर्वसम्मत महासचिवमा चुनिनुभयो ।

रातारात लेखिएको ‘जनताको बहुदलीय जनवाद’

चौथो महाधिवेशनले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, मौलिक अधिकार पुनस्र्थापित गर्नुपर्ने कुराहरू अघि सा-यो । जनवादी क्रान्ति सम्पन्न भइसकेपछि पनि बहुदलीय प्रतिस्पर्धालाई अवलम्बन गर्ने कुरा राजनीतिक प्रतिवेदनमै उल्लेख थियो । ०४७ पुस २२ गते माले–माक्र्सवादीबीचको एकता भएपछि हामीले घोषणापत्र जारी ग-यौँ ।

घोषणापत्रको प्रस्तावनामा जनवाद या समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धासहितको राजनीतिक प्रणाली अवलम्बन गर्ने उल्लेख थियो । विधिको शासन, संवैधानिक सर्वोच्चता, लोककल्याणकारी राज्यलगायतका सबै विषय प्रतिवेदनमा समेटिएको थियो । पार्टी एकता सम्पन्न भएपछि राष्ट्रव्यापी रूपमा एकताको सन्देश दिने कार्यक्रम आयोजना गरियो ।

कांग्रेस र चौथो महाधिवेशन पक्षधर साथीहरूले बहुदलीय प्रतिस्पर्धा अवलम्बन गरिसकेपछि नेकपा माले अब कम्युनिस्ट पार्टी रहेन भाइ कांग्रेसमा परिणत भयो भन्ने भ्रमपूर्ण प्रचार सुरु भयो । महासचिव मदन त्यो भ्रम चिर्ने सिलसिलामा पूर्वको कार्यक्रमबाट पश्चिमतिर जाने क्रममा काठमाडौं आउनुभयो । त्यतिवेला भ्रम चिर्नका लागि उहाँले एकै रातमा बहुदलीय जनवाद भन्ने पुस्तिका तयार पार्नुभयो । कमरेड मदनले त्यसवेलै जनताको बहुदलीय जनवादको सिद्धान्त तयार पार्नुभएको हो ।

दस्ताबेजलाई नेकपा माक्र्सवादीबाट आएका सबै साथीले मदनले किन त्यस्तो दस्ताबेज लेखेको भन्दै विरोध जनाउनुभयो । हाम्रै पार्टीभित्रबाट पनि सिपी मैनालीले विरोध गर्नुभयो । यस्तो विरोधबीच कालिमाटीस्थित जीवन मानन्धरको घरमा केन्द्रीय कमिटीको बैठक सम्पन्न भयो । बैठकमा त्यही कुरा उठेपछि हामीले पुस्तिकाको पक्षमा मत राख्यौँ, माक्र्सवादी साथीहरू विपक्षमा उभिनुभयो ।

अन्तिममा पुस्तिका मदन भण्डारीको व्यक्तिगत हो र पुस्तिका एमालेको आधिकारिक दस्ताबेज हो भन्ने पक्ष/विपक्षमा मतदान भयो । ३४ सदस्यीय केन्द्रीय कमिटीको बहुमतले पार्टीको आधिकारिक दस्ताबेज पारित ग-यो । मदन भण्डारीको व्यक्तिगत दस्ताबेज मान्ने पक्षमा १६ मत खसेको थियो ।

एकजनाचाहिँ बैठकमा अनुपस्थित हुनुुहुन्थ्यो । ०४९ सालको माघमा पाचौँ महाधिवेशनमा पार्टीका तर्फबाट मदन भण्डारीको जनताको बहुदलीय जनवादबाहेक अरू दस्ताबेज पनि प्रस्तुत भएको थियो । अन्तिममा जनताको बहुदलीय जनवाद र नयाँ जनावदबीच मुख्य प्रतिस्पर्धा भयो ।

९ सयभन्दा बढी प्रतिनिधि सहभागीमध्ये डेढ सयभन्दा केही बढी मतबाहेक बाँकी सबै जनताको बहुदलीय जनवादको पक्षमा मत खस्यो र दुईतिहाइभन्दा बढी मतबाट जबज कार्यक्रमका रूपमा पारित भयो ।

केपी ओली र म पार्टी एकता भाँड्न लाग्यौँ

मदनसँगका केही रोचक प्रसंगहरू पनि छन् । उहाँसँग राजनीतिबाहेक खासै व्यक्तिगत सम्बन्ध थिएन । केन्द्रीय कमिटीको बैठक, पार्टी कार्यालय र यदाकदा उहाँकै डेरामा भेटघाट हुन्थ्यो । सम्बन्ध घनिष्ट त थियो, तर व्यक्तिगतभन्दा उहाँसँग बढी राजनीतिक सम्बन्धमै सीमित रह्यो ।

माले र माक्र्सवादीबीच पार्टी एकता भएपछि एक पटक माक्र्सवादीका साथीहरूले हामीलाई गलत ढंगले ‘डोमिनेट’ गर्न थाल्नुभयो । एकतापछि उहाँहरूले प्रश्न गर्नुभयो– मालेले यसपटकको निर्वाचनमा कति जित्ने अनुमान गरेको थियो ? हामीले जवाफ दियौँ, ‘४५ सिट अनुमान गरेका छौँ’ । उहाँहरूले चाहिँ ४० सिट जित्ने अनुमान गर्नुभएको रहेछ ।

उहाँहरूले यो कुरा उठाएर निर्वाचनमा माक्र्सवादीका साथीहरूलाई नै बढी टिकट दिनुपर्ने जिकिर गर्न थाल्नुभयो । यस्तो हेप्ने तर्क आउन थालेपछि हामी (माले)का साथीहरू इरिटेड हुँदै गएका थियौँ । दुई/तीन बैठकपछि पाटनमा सिद्धिलाल सिंहको व्यवस्थापनमा राष्ट्रिय परिषद् बैठक बस्यो । तर, त्यो बैठकमा पनि माक्र्सवादीका साथीहरूले त्यही कुरा दोहो-याउनुभयो ।

पाटननजिकै ग्वार्कोमा केपी ओलीको डेरा थियो । उहाँले म, अमृत बोहोरा र गुरु बराललाई छलफलका लागि डेरामा बोलाउनुभयो । हामीसँग एकता नगरौँ, भाँडौँ भन्ने प्रस्ताव राख्नुभयो । माक्र्सवादीका साथीको व्यवहारबाट म पनि धेरै रुष्ट भएको थिएँ । मैले पनि सहमति जनाएँ । अमृत बोहोरा यस्तो कुरा सुन्दिनँ भन्दै फर्किनुभयो, गुरु बरालले सुनेजस्तो गरेर बाहिरिनुभयो ।

अन्तिममा हामी दुई (केपी र म) जना मात्र भयौँ । हामीले सबैतिर भड्काउने सल्लाह ग-यौँ । केपीको डेरामा ल्यान्डलाइन टेलिफोन थियो । उहाँले पूर्वतिर, मैले पश्चिमतिर कुरा गर्ने जिम्मा लियौँ । कहिले पार्टी कार्यालयको त कहिले अन्तै गएर दुवै मिलेर पार्टी एकता भड्काउन थाल्यौँ । हामी एमाले विघटन गरेर माले पार्टी नै चलाउनुपर्ने निष्कर्षमा पुगिसकेका थियौँ ।

हामीले एकता भड्काइरहेको जानकारी पाएपछि महासचिव मदनलाई कसैले रिपोर्ट गरेछ । एकदिन पार्टी कार्यालयमा केपी र म पुगेका थियौँ । मदनले आफ्नो कार्यकक्षमा बोलाउनुभयो । ‘ए कमरेडहरू तपाइहरूले पार्टी एकता भाँड्न लाग्नुभएको छ रे । ठाउँठाउँमा फोन गरिराख्नुभएको रहेछ, यस्तो काम बन्द गर्नुस्,’ भन्नुभयो । हामीले कहाँ भाँड्ने ? भन्दै ढाँट्यौँ ।

तर, महासचिवको निर्देशनपछि पनि हामी भाँड्ने काममा सक्रिय भयौँ । किनभने महासचिव अन्तिममा कन्भिन्स हुनुहुन्छ भन्नेमै विश्वस्त थियौँ । दुई दिनपछि फेरि महासचिव मदनले हामीलाई कार्यालयमा बोलाएर भन्नुभो– तपाईंहरूलाई म सिरियस्ली भन्दै छु, तपाईंहरूले अस्ति भनेपछि पनि बन्द गर्नुभएन, अझै जारी राख्नुभएको छ । त्यसैले यदि भोलिसम्म पनि काम बन्द गर्नुभएन भने पर्सी वक्तव्य निकालेर तपाईंहरू दुवैलाई पार्टीबाट निष्कासन गर्छु । त्यसपछि निष्कासनमा पर्ने डरले भाँड्ने काम बन्द गरियो ।

मदनले मलाई भगवतीबाहलमा डेरामा बोलाउनुभयो । बाहिर छतमा बसेर कुरा ग-यौँ । त्यतिवेला भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेर फर्किएपछि हामीले सडकमा आन्दोलन चर्काइरहेका थियौँ । सन्धिलाई संसद्को दुईतिहाइ बहुमतले पारित गर्ने कि, सामान्य जानकारी मात्र दिने भन्ने विषय विवादका रूपमा चर्किरहेको थियो ।

गणेमान सिंहले सन्धिलाई संसदको दुईतिहाइले समर्थन गर्नुपर्छ भन्ने कुरामा अडान लिइराख्नुभएको थियो । त्यही कुरा मदन भण्डारी र गणेशमान सिंहबीचको आपसी सल्लामै भइरहेको रहेछ । उहाँले मलाई बोलाएर भन्नुभयो– अहिले नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किंदै गएको छ । हामीलाई यस्तो वेला अवसर प्राप्त भयो भने सरकारमा भाग लिनुहुन्छ कि हुन्न ? मैले हुन्छ भनेँ ।

खासमा मदन भण्डारीकै योजनाअनुसार कांग्रेसको एउटा समूह फुट्ने सम्भावना रहेछ । ब्रेक भयो भने कांग्रेसको एउटा समूह र एमाले मिलेर सरकार बनाउने र त्यो सरकारको प्रधानमन्त्री मदन भण्डारी बन्ने रहेछ । ठ्याक्कै मदनले यही त भन्नुभएको थिएन, तर मैले त्यस्तै संकेत पाएको थिएँ । सोधेको थिएँ, त्यो सरकारमा हाम्रोतर्फबाट के गर्ने ? तर, उहाँले मलाई नै सोध्नुभयो, तपाईंको विचारमा के गर्दा उपयुक्त हुन्छ ?

मैले तपाईं जानुपर्छ भन्ने जवाफ फर्काएँ । उहाँले भन्नुभयो– सबै हुन्छ, पश्चिमबाट फर्किएर आएपछि सबै कुरा गरौँला, तर राजनीतिक स्थिति यसरी गइरहेको छ कि एमालेकै नेतृत्वमा सरकार बन्ने सम्भावना बढेर गएको छ । तर, उहाँ फर्किएर आउनै पाउनुभएन । मसँग कुरा भएकै भोलिपल्ट उहाँ पोखराको कार्यक्रममा जानुभएको थियो । पोखराको कार्यक्रम सकेर फर्किंदै गर्दा उहाँको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा निधन भयो ।

संसद् अधिवेशन चलिरहेको थियो, म केन्द्रीय कार्यालय बागबजारमा थिएँ । अमर लामाले फोनमार्फत मदन कमरेड र जीवराज आश्रित नदीमा बग्नुभयो, म बल्लबल्ल निस्किएर आएँ भन्दै खबर दिएपछि हल्ला भयो । म एकजना साथीको गाडीमा चढेर तत्काल दासढुंगा पुगेँ । राति मान्छे जम्मा भएका थिए । भोलिपल्ट अपराह्न नारायघाटभन्दा धेरै तल भँगालोको किनारामा उहाँको शव फेला प-यो । हामी शव लिएर काठमाडौं फर्कियौँ ।

तपाईको प्रतिक्रिया