logo

bar

भारतले गिरिजाबाबुलाई राष्ट्रपति बन्न दिएन : बिजुक्छे

दीपेन्द्र सापकोटा काठमाडाैँ, २९ वैशाख | बैशाख २९, २०७५

०२२ सालको कुरा हो । म कलिलो उमेरमै भक्तपुर नगरपालिकाको निर्वाचित सदस्य थिएँ । कलेज पनि पढिराखेको मान्छे । त्यही वेला डिआइजी काण्ड भयो । सबै विद्यार्थी आन्दोलित भए । म पनि आन्दोलनमा लागेँ । सोहीताका चिनियाँ सांस्कृतिक क्रान्ति र भारतमा कम्युनिस्ट आन्दोलन भएको थियो ।

म पनि त्यहीबाट प्रभावित भएर पञ्चायती व्यवस्थाअन्तर्गत नगरपालिकाको निर्वाचित सदस्य हुनुका बाबजुद कम्युनिस्ट हुन पुगेँ । त्यही भएर विद्यार्थी आन्दोलनलाई समर्थन जनाएँ । मलाई कम्युनिस्ट भयो भनेर नख्खु जेल हालियो । सोही जेलमा गिरिजाबाबु पनि पर्नुभएको रहेछ ।

उहाँसँग मेरो पहिलो भेट त्यहीँ भयो । त्यो वेला म २२ वर्षको लक्का जवान थिएँ भने उहाँ त्यस्तै ४०–४१ वर्षको अधबैंसे हुनुहुन्थ्यो । यसअघि उहाँलाई मैले तस्बिरमा मात्र देखेको थिएँ । उहाँको नाम चर्चामा थियो । मैले देख्नेबित्तिकै चिनिहालेँ । तर, उहाँले मलाई नचिन्ने भएकाले बोलचाल भएन । उहाँ जेलपरिसरभित्र वरपर घुमिरहनुहुन्थ्यो । एक्सरसाइज गरिहनुहुन्थ्यो । कहिलेकाहीँ दौडिनु पनि हुन्थ्यो ।

पहिलेदेखि नै चेन स्मोकर

जेलमा म एउटा सानो कोठामा बस्थेँ । गिरिजाबाबु पनि आफ्ना दौँतरी सिनियर नेताहरूसँग बस्नुहुन्थ्यो । यसैबीच एक दिन उहाँ मेरो कोठामा आउनुभयो । अरूभन्दा सानो उमेरको भएकाले मेरो जिम्मेवारी चिया पकाउने हुन्थ्यो । उहाँ आएपछि मैले चिया पकाएर दिएँ । उहाँले नखाने भन्नुभयो ।

अनि, फेरि कफी पो मनपर्छ कि भनेर कफी पनि पकाएर दिएँ । त्यो पनि खान मान्नुभएन । उहाँ चेन स्मोकर हुनुहुँदो रहेछ । चुरोट भने लगातार खाइरहनुभयो । त्यो वेला पनि गिरिजाबाबुसँग भने प्रेसर कुकर थियो । उहाँ त्यही कुकरमा पकाएको झोल पदार्थ खाइरहनुहुन्थ्यो । अझ, मासुको झोल त उहाँलाई झनै मनपथ्र्यो ।

कांगेस्रीहरू जेलभित्रै पैसा उठाउँथे

त्यो वेला कांग्रेस कार्यकर्ताहरू जेलभित्रै अरूसँग पैसा उठाउँथे । चाँडै प्रजातन्त्र पुनर्वहाली हुने र कांग्रेस सरकार आउने भन्दै विश्वस्त हुन सबैलाई आग्रह गर्दै अर्थ संकलन गर्थे । जेलबाट निस्किएपछि सबै ठीकठाक हुने उनीहरू बताउँथे । तर, मलाई भने उनीहरूको क्रियाकलाप र कुरा दुवै मन परेको थिएन । मैले यसबारे गिरिजाबाबुसँग छलफल गरेँ ।

अनि, सरकारले खुकुलो बनाउनुको साटो झन् सबैलाई जेल हालेको, पत्रपत्रिका छपाइमा खुकुलो नभएको जस्ता दृष्टान्त दिँदै प्रजातन्त्र पुनर्वहाली तत्काल हुन नसक्ने बताएँ । पछि मैले भनेजस्तै भयो । अनि, गिरिजाबाबुले ‘धोका भएको’ बताउनुभयो । यसरी गिरिजाबाबुसँग नख्खु जेलमा मैले करिब पाँच–६ महिना सँगै बिताएँ । पछि मेरो परीक्षा आएको कारण मलाई छोडिदियो ।

गिरिजाबाबुले लाठी खाएको थाहै पाइनँ

आन्दोलनकै क्रममा एक दिन रत्नपार्कमा गिरिजाबाबुले पुलिसको लाठी खानुभयो । म पनि सँगै थिएँ । तर, उहाँलाई लाठी हानेको थाहै पाइनँ । पछि मिडियामार्फत थाहा पाएँ । त्यति वेला धेरै भिड थियो । पुलिस र आन्दोलनकारीबीच तानातान हुन्थ्यो । पुलिसले हानेको एउटा लाठीले पाँच–सातजनालाई लाग्थ्यो ।

सरकारमा बोलाउनुभयो, म गइनँ

पछि ०६३ साल वैशाखमा जनआन्दोलन सफल भयो । गिरिजाबाबुले ‘सबै सरकारमा आउनुभयो, तपाईंहरू पनि आउनुहोस्’ भन्नुभयो । त्यसका लागि दुईजना (सुनील प्रजापति र प्रेम सुवाल) को नाम दिन आग्रह गर्नुभयो । मैले पुँजीवादी सरकारमा जान नसक्ने जवाफ दिएँ ।

म आफूलाई समाजवादी नभनेर कम्युनिस्ट मात्र भन्न रुचाउँछु । हाम्रो नजरमा कांग्रेस, एमाले आदि पुँजीवादी दल हुन् । उनीहरूसँग हामी सामन्तवादी आन्दोलनमा मात्र सँगै थियौँ । त्यो सहकार्य पुँजीवादी सरकारमा जानका लागि थिएन ।

ठाकठुक कहिल्यै परेन

गिरिजाबाबुले मलाई प्रायः ‘बिजुक्छेजी’ भन्नुहुन्थ्यो । कहिलेकाहीँ ‘रोहितजी’ पनि भन्नुहुन्थ्यो । उहाँलाई भने म ‘गिरिजाबाबु’ नै भनेर सम्बोधन गर्थें । हामीबीच चाहिँदो कुरा मात्र हुन्थ्यो । सीमित कुरामा मात्र गफ चल्थ्यो । उहाँसँगको सम्बन्ध बढीजसो आन्दोलनकै वेला विकास भयो ।

हामीबीच कहिल्यै पनि ठाकठुकसम्म पनि भएन । सधैँ राम्रो मात्र सम्बन्ध रह्यो । उहाँले मलाई जहिल्यै पनि एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गर्ने व्यवहार मात्र गर्नुभयो । मतलब, उहाँ एउटा पार्टीको सभापति, म अर्को पार्टीको अध्यक्ष ।

गिरिजाबाबुको स्वीकृति, एमालेले रोक्यो

मैले भक्तपुरको ख्वपःलाई विश्वविद्यालय बनाउने प्रस्ताव गरेँ । उहाँले प्रस्ताव स्विकार्दै वर्षको ६ करोड दिने भन्नुभयो । मैले शिक्षालाई श्रमसँग जोड्ने नयाँ किसिमको विश्वविद्यालय बनाउने सोच बनाएको थिएँ । पछि एमालेले यसलाई रोक्यो । विश्वविद्यालय बनाउँदा एमालेलाई घाटा हुन्छ भन्ने उनीहरूको बुझाइ रहेछ ।

लागेको कुरा सीधै भन्ने स्वभाव

लागेको कुरा सिधै भन्ने गिरिजाबाबुको स्वभाव थियो । त्यही भएर नै उहाँले ०४६ सालको जनआन्दोलनपछि टुँडिखेलमा भाषण गर्दा, ‘यो पञ्चहरूको पनि जित हो’ भन्नुभयो । उहाँमाथि ढुंगा बर्सिए । तर, उहाँ ‘प्रजातन्त्रमा कसैको पनि हार नहुने’ भन्ने अडानमै रहनुभयो । मेरो व्यक्तिगत विचारमा भन्दा त्यो पञ्चहरूको जित नभएर हारै थियो । हाम्रो पार्टीका कोही सदस्यले यसो भनेको भए त्यसको आलोचना हुन्थ्यो होला । कांग्रेसमा त्यो छुट छ ।

ज्ञानेन्द्रले मन पराउँदैनथे

ज्ञानेन्द्रले गिरिजाबाबु मन नपराउनुमा बाहिर–भित्र दुवैतिरको प्रेसर हुन सक्छ । ज्ञानेन्द्रले गिरिजालाई मात्र नभएर कोइराला परिवारलाई नै मन पराउँदैनथे । उनलाई ‘मेरो भाग खाने यही नै हो’ भन्ने लाग्थ्यो होला सायद गिरिजालाई देख्दा ।

गिरिजाबाबु दूतावास गएनन्

हाम्रा देशका ठूला नेता भनिएकाहरू बारम्बार भारतीय दूतावास धाउने गर्छन् । तर, गिरिजाबाबुले त्यो काम गरेको मलाई थाहा छैन । हुन त धेरै नेता प्रधानमन्त्री बने । तर, उनीहरूमा गिरिजाबाबुको जस्तो व्यक्तित्व थिएन । आफ्नो व्यक्तित्व, पारिवारिक पृष्ठभूमि र बलियो संगठक भएको नाताले उनले दूतावास धाउनु नपरेको मेरो बुझाइ छ ।

अन्ततः भारतले राष्ट्रपति हुन दिएन

गिरिजाबाबुलाई राष्ट्रपति हुनबाट रोक्ने भारत थियो भन्ने कुरा छल्र्लंगै छ । यो कुरा मलाई कांग्रेसकै तीन–चार नेताले भन्नुभएको छ । अहिले नाम भन्न चाहन्नँ । भारतले फुक्र्याएकै कारण उहाँ चाँडै गणतन्त्रमा जान राजी हुनुभएको थियो ।

जब उहाँले गणतन्त्रमा जाने निर्णय गर्नुभयो, त्यसपछि भारतले अर्को खेल खेल्यो । भारतले माओवादीमार्फत डिजाइन गरेर गिरिजाबाबुलाई राष्ट्रपति हुन दिएन । एकपटक मलाई गिरिजाबाबुले भन्नुभएको थियो, ‘म भारतसँग पनि डराउँदिनँ, माओवादीसँग पनि डराउँदिनँ ।’

रामराजाप्रसाद सिंह भारतकै डिजाइनको उम्मेदवार भन्ने थाहा पाएपछि हामीले रामवरण यादवलाई सहयोग गरेका हौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु