logo

bar

शुल्क तिर्न नसकेर स्कुल फेर्ने रुद्र, पाँच सय इन्जिनियरका रोजगारदाता

सुजित महत/नवीन अर्याल काठमाडाैँ, २७ वैशाख | बैशाख २७, २०७५

धेरैवटा स्कुलमा पढे, रुद्र पाण्डेले । वार्षिक परीक्षा पास गरेपछि स्कुल फेर्थे, उनी । डिल्लीबजारको नारी ज्ञान मन्दिरबाट सुरु भएको उनको स्कुले शिक्षा टंगाल स्कुल, संस्कृत माध्यमिक विद्यालय, जनप्रभात माध्यमिक विद्यालय हुँदै पद्मोदय स्कुलबाट पूरा भयो । पद्मोदयमा ७ कक्षादेखि एसएलसीसम्म चार वर्ष पढेर आफ्नै रेकर्ड बनाएका थिए, उनले ।

स्कुल फेर्नु उनको सोख होइन, गरिबीले बाध्य पारेको थियो । नौबिसे (धादिङ)को निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका पाण्डे काठमाडौंमा फुपूको घरमा बसेर पढ्थे । वर्षभरिको बक्यौता तिरेपछि मात्र वार्षिक परीक्षाको मार्कसिट हात पथ्र्यो अनि कक्षा उक्लिन पाइन्थ्यो ।

तर, उनीसँग बक्यौता चुक्ता गर्ने पैसा हुन्थेन । अनि पाण्डे भर्ना लिइदिन अनुरोध गर्दै अर्को विद्यालय पुग्थे । ‘पढाइमा तेज थिएँ,’ सम्झिन्छन्, ‘मार्कसिट नभए पनि परीक्षा लिएर भर्ना गरिदिन्थे ।’

दुःखैमा स्कुलको पढाइ पूरा गरेका पाण्डेले ‘डिटु हकाई’ कम्पनी स्थापना गरे । जुन एक सय मिलियन डलरमा बिक्री भएको चर्चा चल्यो, सँगै रुद्र पनि चर्चित भए । हल्ला भएजस्तै एक सय मिलियन डलरमै बिक्री भएको थियो त डिटु हकाई ? रुद्र खुल्न मान्दैनन् ।

‘केही कुरा गोप्य राख्नुपर्ने हुन्छ,’ भन्छन्, ‘किन्नेका लागि पनि मैले एक्ज्याक्ट फिगर सार्वजनिक गर्न मिल्दैन ।’ डिटु हकाईले आफूलाई मनग्गे पैसा दिएको सुनाउँछन्, उनी । उनले त पैसा कमाए नै, कम्पनीका दुई सय स्टाफ, जसमा आधाजति नेपाली नै थिए, तिनको खातामा पनि राम्रै पैसा जम्मा भयो । डिटु हकाईले एकतिहाई सेयर स्टाफलाई वितरण गरेको थियो । ‘पैसाकै पछि लाग्नुपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सन्तुष्टिका लागि काम गर्दै जाँदा थप कमाइएला नि !’

डिटु हकाई बेचेपछि उनले सफ्टवेयर उत्पादन गर्ने अर्को कम्पनी खोले ‘डियरवाक’ । यो कम्पनी पनि बिक्रीमा छ । जुनसुकै वेला डियरवाक बिक्रीको समाचार आउन सक्छ । कतिमा बिक्री होला भन्ने अनुमानित अंक भन्न चाहँदैनन्, उनी ।

डियरवाक बेचेपछि के गर्ने भन्ने अन्योलमा उनी छैनन् । जापान र सिंगापुरमा सर्भिस कम्पनी दर्ता गरेर प्रारम्भिक काम सुरु गरिसकेका छन्, पाण्डेले । ‘अब प्रडक्ट कम्पनी नगर्ने, सर्भिस कम्पनीमा सीप लगाउने हो,’ उनी योजना सुनाउँछन् । प्रडक्ट कम्पनीका आफ्नै सीमितता हुने अनुभव उनले दुई कम्पनी चलाउँदा गरेका छन् ।

 

काम गरिरहेको कम्पनीका एक ग्राहक थिए, क्रिस । उनी रुद्रसँग प्रभावित थिए । उनले साझेदारीमा काम थालौँं भनेर प्रस्ताव राखे । रुद्र तयार भए । नेपालमा प्रडक्ट डेभलप गर्दै अमेरिकामा बेच्दै गर्दा एउटा सफल प्रोजेक्ट बन्यो । डिटु हकाई २००१ मा रुद्र र क्रिस दुईजनाबाट सुरु भएको थियो । २००८ मा बिक्री गर्दा यसमा ५ सय इन्जिनियरले काम गर्थे ।

 

निश्चित संख्याभन्दा बढी प्रडक्ट डेभलप गर्न सकिन्न, डेभलप गरेका प्रडक्ट पनि बिक्री हुने सीमा हुन्छ । तर, सर्भिस कम्पनीले धेरै कम्पनीका लागि प्रडक्ट बनाइदिने भएकाले असीमित काम हुने उनले देखेका छन् । इन्फोसिस, बिप्रो आदि सर्भिस कम्पनी भएकैले तिनको आकार फैलियो, धेरैले रोजगारी पाए । ‘दशौँ हजारलाई रोजगारी दिने सर्भिस कम्पनी बनाउन चाहन्छु,’ उनी सुनाउँछन् ।

दुःखमा बितेको बाल्यकाल

५ वर्षको उमेरमा पाण्डेका बुबा बिते । गाउँमा बाबुविहीन बालबालिकाको हालत के हुन्छ, भनिरहन नपर्ला । तर, उनका हजुरबा दूरदर्शी थिए । गाउँमा संस्कृत पढ्ने ट्रेन्ड थियो, हजुरबाले अंग्रेजी पो पढ्नुपर्छ भनेर रुद्रलाई काठमाडौं पठाइदिए । हजुरबाको त्यही आदेश नै सफलताको पहिलो खुड्किलो ठान्छन्, उनी ।

अहिले सम्झिँदा गाउँमा उनका बालसखामध्ये केही रुद्रभन्दा उम्दा थिए भन्ने लाग्छ, तर उनीहरू गाउँमै गुमनाम छन् । ‘काठमाडौंमा पढ्न नआएको भए म पनि ती साथीझैँ हुन सक्थेँ,’ उनी कल्पना गर्छन् । २०३७ सालमा एसएलसी पास गरेपछि त्रिचन्द्र क्याम्पस भर्ना भएका उनले पाकिस्तानमा इन्जिनियरिङ पढ्ने छात्रवृत्ति पाए, त्यसपछि आर्थिक अभावको अध्याय सकियो ।

इलेक्ट्रोनिक इन्जिनियर बनेर फर्किएपछि उनले राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिर खाए । पन्ध्र दिनमै छाडे । तत्कालीन दूरसञ्चार संस्थानको जागिर एक महिनाको तलब थापेपछि छाडे । रोनास्ट (अहिले नास्ट)मा पनि मुस्किलले ४ महिना बिताए । त्यसपछि कम्प्युटर पढाउन थाले ।

विश्व बैंकको जागिरमा दुई वर्ष बिताए, अन्तर्राष्ट्रिय संस्थाले पनि उनलाई आकर्षित गरिरहन सकेन । वर्षैपिच्छे स्कुल फेर्नु उनको बाध्यता थियो, तर जागिर छाड्नु रहर । जागिरबाट व्यापारतिर लोभिएका रुद्रले कम्प्युटरको व्यापार थाले– सिंगापुरबाट कम्प्युटर आयात ग-यो, बेच्यो ।

पुतलीसडकमा कम्प्युटर पसल थियो । व्यापारमा स्थापित हुँदै थिए । यसैक्रममा उनी २०५० सालतिर अमेरिका हान्निए, कम्प्युटरको डिलरसिप लिन । डिलरसिप पाएको भए उनी तुरुन्त देश फर्किन्थे, यतै व्यापार विस्तारमा सक्रिय हुन्थे होला ।

आस गरेको डिलरसिप पाएनन् । उतै रोकिए । मेधावी रुद्र बोस्टन युनिभर्सिटीमा ‘मास्टर इन कम्प्युटर साइन्स’मा भर्ना भए । त्यो पढाइ पनि बीचमै छाडे । तर, अमेरिकाका दुईवटा असफलता ‘तरक्की’को दोस्रो टर्निङ प्वाइन्ट ठान्छन्, उनी ।

 

रुद्र पाण्डेले विश्व बैंकको जागिरमा दुई वर्ष बिताए, अन्तर्राष्ट्रिय संस्थाले पनि उनलाई आकर्षित गरिरहन सकेन । वर्षैपिच्छे स्कुल फेर्नु उनको बाध्यता थियो, तर जागिर छाड्नु रहर । जागिरबाट व्यापारतिर लोभिएका उनले कम्प्युटरको व्यापार थाले– सिंगापुरबाट कम्प्युटर आयात  ग-यो, बेच्यो ।

 

मास्टर्सको पढाइ बीचमै छाडे पनि अर्थशास्त्रमा पिएचडीको छात्र बने । खर्च जुटाउन पार्किङ लटमा सेक्युरिटी गार्डको काम गरे, जुन विदेशमा सायद सबैभन्दा धेरै नेपालीले गर्ने/पाउने जागिर हो । त्यही क्रममा भेट भएका ‘बैंक अफ अमेरिका’का कन्सल्ट्यान्टले एउटा काम दिएपछि अमेरिकामा पनि उनका दुःखका दिन सकिए । एक हप्ताको जागिर पाएका उनले त्यहाँ सबैभन्दा लामो अवधि जागिर खाए– ४ वर्ष । त्यही अवधिमा उनले ग्रिनकार्ड लिए ।

डिटु हकाईको सुरुवात

काम गरिरहेको कन्सल्टिङ कम्पनीका एक ग्राहक थिए, क्रिस, जो रुद्रसँग प्रभावित थिए । उनले साझेदारीमा काम थालौँ भनेर प्रस्ताव राखे । रुद्र तयार भइहाले । लगानी गर्न पर्याप्त पूँजी थिएन । नेपालमा प्रडक्ट डेभलप गर्ने, अमेरिकामा बेच्ने योजना बन्यो ।

त्यहीअनुसार प्रडक्ट डेभलप गर्दै, बेच्दै गर्दा सफल प्रोजेक्ट बन्यो । डिटु हकाई २००१ मा रुद्र र क्रिस दुईजनाबाट सुरु भएको थियो । २००८ मा बिक्री गर्दा यसमा ५ सय इन्जिनियरले काम गर्थे । डिटु हकाईमा अहिले पनि १ सय इन्जिनियरले रोजगारी पाइरहेका छन् ।

दोस्रो कम्पनी डियरवाक

क्रेतासँगको सम्झौताअनुसार डिटु हकाईका प्रमोटरले २ वर्षसम्म त्यस्तै सफ्टवेयर उत्पादन गर्न पाउँथेनन् । २०११ मा उनले डियरवाक सुरु गरे । पैसा कमाइसकेका उनका साझेदार क्रिसले व्यापारमा रुचि देखाएनन् । ठुल्ठूला कम्पनीको बोर्डमा बसेर रणनीति बनाउन सघाउने, प्रशस्त तलब लिएर आनन्दको जीवन बिताउने बाटो रोजे ।

‘क्रिसले मलाई पनि उनकै बाटोमा हिँड्न सल्लाह दिएका थिए,’ उनी सुनाउँछन्, ‘तर, मलाई अर्को कम्पनी नै खोल्नु थियो ।’ डियरवाकको सिनियर म्यानेज्मेन्टमा उनले डिटु हकाईकै पुराना स्टाफलाई मौका दिए । त्यसका सिइओ र चिफअपरेटिङ अफिसर पुरानै छन् । डियरवाकको उत्पादन डिटु हकाईकै जस्तो हो, मेडिकल तथा हेल्थकेयर प्रोडक्ट ।

बजार अमेरिका हो । नेपालमा उनको सफ्टवेयरको काम छैन । उनको उत्पादन प्रयोग गर्न स्वास्थ्यक्षेत्रमा के भइरहेको छ, कसरी खर्च भइरहेको छ, कुन रोगमा कति खर्च भइरहेको छ ? भन्ने विस्तृत डाटाबेस चाहिन्छ । नेपालमा यस्तो डाटाबेस छैन । फेरि उनका सबैभन्दा साना ग्राहकले नै मासिक १० हजार डलर तिर्छन्, जुन क्षमता यहाँका जनतामा छैन ।

कामदारलाई सेयर अनिवार्य

रुद्र टिमवर्कमा विश्वास गर्छन् । कम्पनी फस्टाउँदै गएपछि उनले कामदारलाई डिटु हकाईको सेयर वितरण गरेका थिए, डियरवाकमा पनि यसको निरन्तरता दिएका छन् । डियरवाकमा पनि एकतिहाई सेयर दुई सय स्टाफको स्वामित्वमा छ ।

 

२०४८ सालपछि अपनाइएको उदार अर्थतन्त्रमा निजी क्षेत्रका लागि सबै क्षेत्र खुला त गरियो, तर नियमन भएन । अमेरिकामा नियमन भएकाले निजी क्षेत्र फस्टायो । यहाँ नियमन नहुँदा अराजकता देखियो ।

 

सो कम्पनी बिक्री गर्दा ती दुईसयको खातामा आकर्षक रकम पुग्नेछ । कामदारलाई सेयर दिँदा उत्पादकत्व बढ्छ भन्ने उनको विश्वास छ । डियरवाकमा एक समय ४ सय इन्जिनियर काम गर्थे, अहिले एक सय घटाइएको छ । नयाँ प्रडक्ट डेभलप गर्ने काम रोकिएपछि स्टाफ कटौती गरी उत्पादकत्व बढाउने रणनीति लिइएको उनले बताए ।

सुरुवातै गलत

देश समृद्ध बन्न कानुनको शासन र शिक्षा प्रमुख मान्ने रुद्र भिजन भए स्वतः विकास हुने बताउँछन् । अमेरिका त्यही मन्त्रमा अहिलेको अवस्थामा पुगेको लाग्छ, उनलाई । ‘देशका तीन प्राथमिकता के हुनुपर्छ भनेर कसैले सोध्यो भने मेरो जवाफ हुनेछ– पहिलो शिक्षा, दोस्रो शिक्षा, तेस्रो पनि शिक्षा । उनले भने, ‘सार्वजनिक शिक्षाको गुणस्तर उकासिए भिजनरी नेता स्वतः पैदा हुन्छन् ।’

नेपालमा सुरुवात नै गलत भएको ठान्छन्, उनी । अमेरिकामा पहिलो स्कुल घरलाई मानिन्छ, ६ वर्ष नपुगी स्कुल पठाइन्न । ‘यहाँ डाइपर फेर्दिनुपर्ने शिशुलाई स्कुल पठाएर सुरुवातै गलत गरिन्छ,’ उनी भन्छन् ।

२०४८ सालपछि अपनाइएको उदार अर्थतन्त्रमा ‘ओभर प्राइभेटाइजेसन’ भयो भन्ने उनको बुझाइ छ । निजी क्षेत्रका लागि सबै क्षेत्र खुला त गरियो, तर नियमन भएन । ‘अमेरिकामा नियमन भएकाले निजी क्षेत्र फस्टायो,’ उनी थप्छन्, ‘यहाँ नियमन नहुँदा अराजकता देखियो ।’

तपाईको प्रतिक्रिया