logo

bar

५० करोडभन्दा बढीको कारोबार

नयाँ पत्रिका काठमाडाैँ, २६ वैशाख | बैशाख २६, २०७५

मंगलबार नेप्से परिसूचक १५ दशमलव ६५ अंक बढेको छ । बजार बढेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ । सोमबार ४३ करोड बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन भने ५० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएपछि लगानीकर्ताको मनोबल केही बढेको छ । बजार खुलेसँगै उकालो लागको नेप्से केही समयमा नै ओरालो लाग्न थालेको थियो । त्यसपछिको समयमा सामान्य उतारचढावमा रहेको नेप्से अन्तिम समयमा भने तीव्र गतिमा उकालो लागेर बन्द भएको हो । १ हजार ३ सय ४५ बिन्दुबाट सुरु भएको यस दिनको कारोबार अन्तिम समयसम्ममा १ दशमलव १६ प्रतिशत बढेर १ हजार ३ सय ६१ बिन्दुमा पुगेको छ । बजारले यही गतिलाई निरन्तरता दिएमा १ हजार ३ सय ८० बिन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । सो प्रतिरोध तोड्न सके नेप्से १ हजार ४ सय बिन्दुभन्दा माथि पुग्ने एक विश्लेषकले बताए ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ५६ दशमलव १२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । यस दिन १ सय ६५ कम्पनीको ६ हजार ३ सय १ पटकको कारोबारमा रु. ५० करोड ६४ लाख ८९ हजार ३ सय २२ बराबरको १४ लाख ३९ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्री भएको छ । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा रु. १८ अर्ब ३६ करोड बढेर रु. १५ खर्ब ९७ अर्ब पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव शून्य ४ अंक बढेर २ सय ८७ दशमलव शून्य ९ बिन्दुमा पुगेको छ  ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन सिभिल बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन रु. ९ करोड ३१ लाखबराबरको ५ लाख ७७ हजार ८ सय ८६ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन बुटवल पावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ८ सय ४९ पटक कारोबार भएको छ । कारोबारमा आएको १ सय ६५ कम्पनीमध्ये १ सय २६ कम्पनीको सेयरमूल्य बढेको छ भने १६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य भने यस दिन स्थिर रहेको छ ।

यस दिन उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २४ प्रतिशत बढेको छ ।

त्यसैगरी, बिमा समूहको परिसूचक २ दशमलव १८ प्रतिशत, माइक्रोफाइनान्स समूहको २ दशमलव शून्य ७ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव २१ प्रतिशत, विकास बैंक समूहको १ दशमलव १६ प्रतिशत, वाणिज्य बैंक समूहको १ दशमलव शून्य २ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य २ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक भने यस दिन शून्य दशमलव ११ प्रतिशत घटेको छ ।

 सिद्धार्थ इन्स्योरेन्सको बुक क्लोज
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले जेठ १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० बराबर ३ दशमलव ५ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको २०७४ कात्तिक २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट सो हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेपाल लाइफका स्वतन्त्र सञ्चालकको राजीनामा
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका स्वतन्त्र सञ्चालक कमलेशकुमार अग्रवालले सञ्चालक पदबाट राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण जनाई राजीनामा दिएका हुन् । वैशाख १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।

 गुहेश्वरीको सञ्चालकमा कसजू
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले रोशनी कसजूलाई सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीको वैशाख २० गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको पदमा कसजूलाई नियुक्त गरेको हो । कसजूको नियुक्ति आगामी साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले उल्लेख गरेको छ ।

 सूर्या लाइफको १०ः४ हकप्रद
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३१ गतेदेखि १० बराबर ४ अनुपातमा निष्कासन हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द हुने मिति असार ३ गते रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरूले एनआइसी एसिया क्यापिटल, सूर्या लाइफको सम्पूर्ण शाखा कार्यालय र आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् बैंकको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

 सिर्जनाको विशेष साधारणसभा
सिर्जना फाइनान्स लिमिटेडले जेठ १२ गते मोरङ व्यापार संघको सभाकक्ष, विराटनगरमा विशेष साधारणसभा आयोजना गर्ने भएको छ । सभामा बिमा कम्पनीको अभिकर्ता भई काम गर्ने, कार्यक्षेत्र विस्तार गर्ने र ६० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २६ गतेदेखि जेठ १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया