logo

bar

सातामा करिब ९ अंक बढ्यो नेप्से

नयाँ पत्रिका काठमाडौं, २३ वैशाख | बैशाख २३, २०७५

गत साता नेप्से परिसूचक करिब ९ अंक बढेको छ । सो साता पाँच कारोबार दिनमध्ये ३ कारोबार दिनका लागि मात्र बजार खुला रहेको थियो । मजदुर दिवस र बुद्ध जयन्ती–उँभौली पर्वका कारण सोमबार र मंगलबार बजार बन्द रहेको थियो ।

फलस्वरूप अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से ओरालो लागेको थियो । सो साताको अन्तिम दुई कारोबार दिन भने नेप्से उकालो लागेको थियो ।

गत साता बजारमा भएको उतार–चढाव सामान्य रहेको विश्लेषण गरिएको छ । गत बुधबार १ हजार ३ सय ४० बिन्दुमा टेवा पाएर उकालो लागेको नेप्सेले आगामी दिन कुन गति लिने भन्ने निश्चितताका साथ भन्न नसकिने एक विश्लेषकले बताए । अहिलेको बजार लगानीकर्ताको मनोविज्ञानले चलिरहेको उनको भनाइ छ । यद्यपि, बजारलाई तेस्रो त्रैमासको वित्तीय विवरणले पनि प्रभावित भइरहेको छ ।

दोस्रो त्रैमासको तुलनामा सन्तोषजनक नाफा आर्जन गरेका कम्पनीहरू अहिले लगानीकर्ताको रोजाइमा परेका छन् । केही विश्लेषकहरूले बजार अब सुस्त गतिमा उकालो लाग्ने विश्लेषण गरेका छन् । राम्रा कम्पनीहरूको सेयर खरिद गर्दा नाफा आर्जन गर्न सकिने उनीहरूको भनाइ छ ।

गत साता १८ हजार ४ सय ८३ पटकको कारोबारबाट १ सय ७६ कम्पनीहरूको ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरू खरिद–बिक्री भए ।

जसबाट १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँबराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा ६६ दशमलव ६३ प्रतिशत कम हो ।

अघिल्लो साता १ सय ८२ कम्पनीहरूको ४७ हजार ७१ पटकको कारोबारबाट १ करोड १ लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री भएको थियो । जसबाट ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँबराबरको रकम परिचालित भयो ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५७ दशमलव ८६ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ३ सय ५७ दशमलव २२ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार ३ सय ६६ दशमलव १५ बिन्दुमा बन्द भएको छ ।

परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंक बढेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ३३ अंक बढेर २ सय ८८ दशमलव २९ बिन्दुमा पुगेको छ ।

गत साता कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । नेपाल बैंकको गत साता ८ करोड ५९ लाख २० हजार रुपैयाँबराबरको २ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबार संख्याका आधारमा भने गत साता स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ । यस कम्पनीको गत साता १ हजार ६ सय ३० पटक सेयर कारोबार भएको थियो ।

गत साता कारोबारमा आएको उत्पादनमूलक र व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । सो साता बिमा समूहको परिसूचक सर्वाधिक १ सय २ दशलमव ६३ अंक बढेको छ ।

त्यसैगरी, लघुवित्त समूहको ६२ दशमलव ९१ अंक, जलविद्युत् समूहको ४३ दशमलव ९३ अंक, होटेल समूहको १४ दशमलव ७ अंक, अन्य समूहको १३ दशमलव १२ अंक, विकास बैंक समूहको ११ दशमलव ४९ अंक, वाणिज्य बैंक समूहको ६ दशमलव २६ अंक र वित्त समूहको शून्य दशमलव ९६ अंक बढेको छ । व्यापार समूहको परिसूचक सो साता स्थिर रहेको छ भने उत्पादनमूलक समूहको परिसूचक ९ दशमलव ५१ अंक घटेको छ ।

तपाईको प्रतिक्रिया